सरकारले गर्‍यो १९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा सरकारले रु.१९४ अर्ब ६४ करोड आन्तरिक ऋण परिचालन गरेको छ भने रु. ३४ अर्ब ४० करोड साँवा भुक्तानी गरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले अघिल्लो वर्षको तथ्यांकको आधारमा देशको वर्तमान वित्तीय अवस्था सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

यस अवधिमा नेपाल सरकारले रु. १६० अर्ब २४ करोड खुद आन्तरिक ऋण परिचालन गरेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादनको ४.३ प्रतिशत हुन आउँछ ।

यस अवधिमा सरकारले रु.१६२ अर्ब ५८ करोड वाह्य ऋण परिचालन गरेको छ । २०७७ असार मसान्तमा नेपाल सरकारको कुल तिर्न बाँकी वाह्य ऋण रु. ८०५ अर्ब ८३ करोड र आन्तरिक ऋण रु ६१३ अर्ब २१ करोड गरी कुल तिर्न बाँकी सरकारी ऋण रु. १४ खर्ब १९ अर्ब पुगेको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल सरकारी ऋणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३७.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ३०.३ प्रतिशत रहेको थियो

०७७ असार मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१४१ अर्ब १७ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?