नेपाल जिम्बावेसँग ११६ रनले पराजित

काठमाडौँ, २० फागुन – आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको छ । जिम्बाब्वेस्थित क्वीन्स स्पोर्टस क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनायो । ३८१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल पूरै ५० ओभर खेल्दा ८ विकेट गुमाएर मात्र २६४ रनमा समेटियो । नेपालको ब्याटिङमा आरिफ शेख र शरद भेषवाकरले अर्थसतक बनाए । शेखले ५० र शरदले ५२ रन बनाएका हुन् । यस्तै पारस खड्काले ४० रनको योगदान दिँदा ज्ञानेन्द्र मल्ल ३२ र आरके पौडेलले ३० रन बनाए । यसअघि जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गर्दै विशाल योगफल बन्न पुग्यो । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए । त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे । नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?