सिटीसँग चेल्सी पराजित, शीर्ष चारमा पर्ने सम्भावना कमजोर

काठमाडौं, २१ फागुन । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटी विजयी भएको छ । सिटीले आइतबारराति भएको खेलमा चेल्सीमाथि १–० को जित निकालेको हो ।गएराति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन बर्नार्डो सिल्भाले ४६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १८ अंकको अग्रता बनाउँदै उपाधीको नजिक पुगेको छ । अब लगातार २ खेलमा जित निकालेमा सिटी ६ खेलअघि नै विजेता बन्नेछ ।चेल्सीको भने यो पराजयपछि शीर्ष चारमा पर्ने सम्भावना कमजोर बनेको छ । पछिल्ला ३ खेलबाट १ अंकमात्रै जोडेको चेल्सी अंक तालिकाको पाँचौ स्थानमा रहेको छ । चौथो स्थानको टोटनह्याम चेल्सीभन्दा ५ अंकले नै अघि रहेको छ ।शीर्ष चारमा रहनका लागि अब चेल्सीले बाँकी जित निकालेरमात्रै पुग्दैन । टोटनह्याम, लिभरपुल र म्यान्चेस्टर युनाइटेडले अंक गुमाउनुपर्नेछ ।प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ब्राइटनले आर्सनललाई २–१ ले हराएको छ ।खेलमा ब्राईटनलाई विजयी गराउन लेविस डंक र ग्लेन मर्रेले एक–एक गोल गरे भने आर्सनलका पिएरे एमरिक औबामायङ्गले एक गोल फर्काए ।प्रिमियर लिग फुटबलमा आज राती म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेसबीच प्रतिस्पर्धा हुनेछ । यो खेल जितेमा म्यानचेस्टर युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लनेछ ।शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीको २९ खेलबाट ७८ अंक भएको छ भने समान खेलबाट ६० अंक जोडेको लिभरपुल दोस्रो, २८ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तेस्रो र २९ खेलबाट ५८ अंक जोडेको टोटनह्याम चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?