कश्मिरमा ५ जनाको मृत्यु, सेनाले हत्या गरेको भन्दै विरोध प्रदर्शन

श्रीनगर, २१ फागुन । भारत प्रशासित कश्मिरको शोपियामा आइतबार राति विद्रोहीहरुले गरेको हमलामा पाँच जनाको मृत्यु भएको छ ।कश्मिरको राजधानी श्रीनगरदेखि करिब ६० किलोमिटर टाढा दक्षिण कश्मिरको शोपियाको पहनु गाउँमा भएको सो आक्रमणमा १ जना आक्रमणकारी र अन्य चार जनाको मृत्यु भएको हो ।सेनाका प्रवक्ता कर्णेल राजेश कालियाले संयुक्त मोबाइल सवारी चेकपोस्टस्थित पहनु गाउँको इलाकामा केही चरमपन्थीले हमला गरेको र आक्रमणकारी गाडीमा आएको जनाएका छन् ।सेनाले आक्रमण भएपनि जवाफी कारबाही गरेको र त्यसमा एक चरमपन्थी मारिएको दाबी समेत गरेको छ । आक्रमणकारीबाट सेनाले हतियार समेत बरामत गरेको जनाएको छ । कश्मिरका पृथकतावादी नेताले भने हमलामा मारिएका तीन जना आम नागरिक भएको बताएका छन् ।हुर्रियत कन्फ्रेन्सका अध्यक्ष मिरवाइज मुलबी उम्र फारुखले आफ्नो ट्विटरमा सेनाले शोपियामा सवारी साधनमा चढेर हिँडिरहेका तीन जना आम सर्वसाधारणको हत्या गरेको बताएका छन् ।उनले कश्मिरी जनताले भारतीय सुरक्षाफौजको यो बर्बरताको निन्दा गर्ने उल्लेख गर्दै कश्मिर बन्द गर्ने घोषणा गरेका छन् ।मारिएका तीन युवामा सुहैल खलील, मोहम्मद शहिद खान र शाहनवाज अहमद रहेको बताइएको छ । पृथकतावादी नेताले यो हत्या विरुद्ध बन्दको आव्हान गरेका छन् ।सो क्षेत्रमा युवाहरुको मृत्युपछि झडप र विरोध प्रदर्शन सुरु भएको छ । झडप र विरोध प्रदर्शनका कारण तनावको अवस्था सिर्जना भएको छ । कश्मिर विश्वविद्यालयका विद्यार्थीहरुले समेत सो घटनाको विरोधमा प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?