प्रदेश नं ५: मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

बुटवल, २१ फागुन – प्रदेश नं ५ को सरकारले पूर्णता पाउन अझै केही समय लाग्ने भएको छ ।मन्त्रिपरिषद् विस्तारपछि कार्यालय तथा निजी आवास व्यवस्थापनको काम पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको सरकारका प्रवक्ता वैजनाथ थारुले आजको मन्त्रिपरिषद्को बैठकपछि जानकारी दिनुभयो । भौतिक योजना तथा निर्माणमन्त्री थारुले मन्त्रालय र निजी निवासको व्यवस्थापन भइरहेकाले अझै १० दिन समय लाग्न सक्ने बताउनुभयो ।उहाँका अनुसार प्रदेश सरकारले यही फागुन २७ गते प्रदेशसभा बैठकमा विश्वासको मत लिइने छ । नेपालको संविधान धारा १६८(४) मा प्रदेश सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभासँग मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।बैठकले प्रदेशमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई स्वीकृत गरेको छ । बैठकले प्रदेश नं ५ को आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक र प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ समेत स्वीकृत गरेको छ ।यस्तै प्रदेशअन्तर्गतका मुख्य नाकामा ५ नं प्रदेशका मुख्य पहिचान झल्कने महत्वपूर्ण क्षेत्रका विज्ञापनपाटी राख्न मन्त्रिपरिषद् सचिवालयलाई निर्देशन दिइएको छ । यस्तै प्रदेशको मुख्य न्यायाधिवक्ताको शपथको ढाँचासमेत मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । यसअघि मुख्यमन्त्री शंकर पोखरेलले सरकारको कानूनी सल्लाहकारमा दाङका ठाकुरप्रसाद डिसीलाई नियुक्तिका लागि सिफारिस गर्नुभएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?