नशाको तालमा श्रीमानले श्रीमतीको हत्या गरेर गाडे

पाँचथर, २१ फागुन – अत्यधिक मादक पदार्थ सेवन गरेका पाँचथर फिदिम नगरपालिका–३, सिलौटीका एक व्यक्तिले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर जमिनमुनि गाडेको खुलासा भएको छ ।बयालीस वर्षीया गंगामाया सुनुवारलाई उनकै श्रीमान् ६१ वर्षीय डिकबहादुर सुनुवारले हत्या गरेर जमिनमुनि गाडेको रहस्य खुलेको आज प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।गंगामाया १६ दिनदेखि बेपत्ता थिइन् । छिमेकीले आशंका गरी प्रहरीमा उजुरी दिएपछि उनका श्रीमान् डिकबहादुरलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि उक्त रहस्य खुलेको हो ।उनले प्रहरीसमक्ष गंगामायाको आफैंले हत्या गरी घटना लुकाउन घर नजिकैको आलुबारीमा खाल्डो खनी गाडेको बयान दिएका छन् । प्रहरीका अनुसार टेकबहादुरले गत फागुन ५ गते राति १० बजेतिर सामान्य घरायसी विवादको क्रममा चिर्पट प्रहार गरी गंगामायाको हत्या गरेका थिए ।डिकबहादुरले शव गाडेको ठाउँमा उत्खनन गर्दा टाउकोमा चोट लागेको अवस्थामा गंगामायाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताउनुभयो ।टेकबहादुरलाई अहिले प्रहरीको हिरासतमा राखिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो ।गंगामाया र टेकबहादुरबीच सामान्य झगडा भएको रातदेखि गंगामाया बेपत्ता भएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?