वैकल्पिक सिकाई प्रभावकारी बनाउन शिक्षा मन्त्री र अनेरास्ववियूको भर्चुअल अन्तर्क्रिया

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कुनै पनि तहको शैक्षिकसत्र खेर जान नदिने प्रतिवद्धता दोहोर्याएका छन् । आज सत्तारूढ नेकपा निकट अनेरास्ववियूसंगको भर्चुअल अन्तर्क्रिया मन्त्री पोखरेलले सो धारणा राखेका हुन् ।

मन्त्री पोखरेलले पाठ्यभार घटाएर भएपनि पुर्व निर्धारित समयावधि भित्रै शैक्षिकसत्र पूरा गरेरै छाड्ने वताएका छन् । पोखरेलले वैकल्पिक सिकाई सहजिकरण निर्देशिका परिमार्जन गर्दै त्यसलाई पनि मुल्यांकन र परिक्षाको अभिन्न अंग वनाउने जनाएका छन् । उनले वैकल्पिक सिकाईका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच पनि अघि सारेका छन् ।

वुधवार अनेरास्ववियूसंगको अन्तर्क्रियामा मन्त्री पोखरेलले भने- “मैले ब्यवस्थित वैकल्पिक शिक्षाका लागि प्रधानमन्त्री ज्युसंग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु ।”

प्रधानमन्त्रीले त्यसलाई सकारात्मक रुपमा लिएको भन्दै पोखरेलले भने-  “त्यस्तो टेलिभिजनले विहान माध्यमिक तहलाई , दिउँसो आधारभुत तहलाई र सांझ विश्वविद्यालय तहलाई सिकाइने ब्यवस्था मिलाइनेछ। ”

कार्यक्रममा अनेरास्ववियूका संयोजक ऐन महरले वैकल्पिक सिकाईलाई सवै विद्यार्थीको पहुंचमा पुर्याउनुपर्ने धारणा राखेका थिए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले कक्षा १२ को परीक्षा वारे अविलम्ब निर्णय गर्न आग्रह गरेका थिए । भर्चुअल अन्तरक्रियामा अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेत , रश्मि आचार्य , तिलकराज भण्डारी , दिपक देवकोटा , पञ्चा सिंह , सुनिता वराल , विजय गौतम, उत्तम अधिकारी लगायत ३१ जना विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

अन्तर्क्रिया कार्यक्रममा विद्यार्थी नेताहरुले वैकल्पिक सिकाईको पुनरावलोकन गरि थप प्रभावकारी वनाइनुपर्ने , शैक्षिकसत्र हरहालतमा जोगाउनु पर्ने , अवरुद्घ परिक्षाहरु वैकल्पिक विधिवाट संचालन गरिनुपर्ने , पहुंच नहुने विद्यार्थी कहाँ पहुँच पुर्याउनु पर्ने , कक्षा ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गरिनुपर्ने लगायतका विषय उठाएको नेता सुरेन्द्र बस्नेतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?