वासिङटन, २३ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गरेका छन् ।राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा गरेको समाचारमा जनाइएको छ ।पछिल्ला केही दिनमा ह्वाइट हाउसभित्र स्टील र अलुमिनियम आयातमा विद्यमान नीतिमा परिवर्तन गरी केही कडाई गर्नुपर्ने विषयमा मतभेदहरु उत्पन्न भएको बताइएको छ ।यससम्बन्धी विवरणहरु पछिल्लो समयमा बाहिर आइरहेका बेला यता आर्थिक सल्लाहकारले नै राजीनामाको घोषणा गरेका छन् ।यस राजीनामालाई अमेरिकी सञ्चारमाध्यमहरुले राष्ट्रपति ट्रम्पका सहयोगीहरुको राजीनामाको शृंखला भनेर प्रचार गरिरहेका बताइएको छ ।ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोन श्रृंखलाबद्ध रूपमा ह्वाइट हाउसबाट राजीनामा दिई निस्कने राष्ट्रपति ट्रम्पको सहयोगी टोलीका पछिल्लो व्यक्ति हुन ।विशेषगरी उनीसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा ट्रम्प प्रशासनसँग विवाद उत्पन्न भएको बताइएको थियो । सोही मतभेदका कारण उहाँले राजीनामाको घोषणा गरेका छन् ।त्यही कर विवादका कारण पछिल्लो समयमा राष्ट्रपति र कोनबीच राम्रो सम्बन्ध नरहेको बताउने गरिएको थियो ।यसअघि सल्लाहकार कोन राष्ट्रपति ट्रम्पको प्रशासनले जारी राखेका अमेरिकामा कर कटौती सम्बन्धी विविध आयोजनाहरुका मुख्य योजनाकारका रुपमा काम गरेको बताइएको थियो ।राष्ट्रपति ट्रम्पले कोनलाई विशेष धन्यवाद दिएका छन् । उनले आर्थिक क्षेत्रमा विशेष दखल राख्ने व्यक्तिभन्दै अहिलेसम्म सेवा दिएकोमा कोनलाई धन्यवाद ज्ञापन गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ ।उनले कामगर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन् । यसैबीच राष्ट्रपति ट्रम्पले आयातमा करहरु बढाउने नयाँ कार्यक्रमको घोषणा गरेको अर्काे एक समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया