पाँच विद्यालय कारवाहीको सूचीमा

काठमाडौँ, २३ फागुन – आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा बढी शुल्क लिएको पाएपछि काठमाडौँ उपत्यकाका पाँच विद्यालयलाई कारवाही गर्ने भएको छ ।ललितपुरका जेम्स विद्यालय धापाखेल, प्रिमियर इन्टरनेशनल विद्यालय सातदोबाटो, युलेन्स एजुकेशन फाउण्डेशन खुमलटार, रातो बंगला पाटन र द चाँदबाग विद्यालय काठमाडौँ बाँसबारीलाई कारवाही प्रक्रिया अघि बढाउन तयारी भइरहेको विभागले जनाएको छ । अनुगमनका क्रममा ती विद्यालयले बढी शुल्क लिएकोे पाइएकाले मुद्दा दर्ताका लागि सरकारी वकिलको कार्यालयमा सूची पठाउन लागिएको विभागका शाखा अधिकृत दीपकराज पोखरेलले जानकारी दिए ।केही वर्षदेखि खाद्य वस्तुको मात्र अनुगमन गर्दैआएको विभागले पछिल्लो समय यातायात, भवन निर्माणका सामग्री र विद्यालयको समेत अनुगमन गर्दै आएको छ । विभागले गत पुस पहिलो सातादेखि शुरु गरेको निजी विद्यालय अनुगमनका क्रममा काठमाडौँ उपत्यकाका १५ विद्यालयको अनुगमन गरिसकेको छ । अनुगमन गरिएका दश विद्यालयको व्यवस्थापन पक्षका बारेमा थप अनुसन्धान भइरहेको छ ।थप अनुसन्धानका क्रममा केही कमजोरी देखापरेमा ती विद्यालयमाथि समेत कारवाही प्रक्रिया अघि बढाइने विभागले जनाएको छ । विभागले अहिले पनि बजार अनुगमनलाई निरन्तरता दिइरहेको छ । लामो समयको अनुगमनपछि ती क्षेत्रमा केही सुधार आएको विभागको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?