काठमाडौं । धर्मराज युधिष्ठिरले आश्विन कृष्णपक्ष अर्थात पितृपक्षमा पर्ने एकादशीका बारेमा जानकारी प्राप्त गर्ने उद्देश्यले भगवान् श्री कृष्णसित प्रश्न गरे – हे भगवन ! आश्विन कृष्णपक्षको एकादशीको नाम के हो ? यसको व्रतविधि तथा फल के छ ? यस प्रसंगमा मलाई उपदेश गर्नुहवस् ।
युधिष्ठिरका प्रश्न सुनेर भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो युधिष्ठिर ! यतिबेला पर्ने एकादशीको नाम इंदिरा एकादशी हो । यो एकादशी पापलाई नष्ट गर्ने तथा पितृहरुलाई अधोगतिबाट मुक्ति दिलाउने एकादशी हो । हे राजन ! ध्यानपूर्वक यसको कथा सुन । यसलाई सुन्नाले मात्र पनि वाजपेय यज्ञको फल प्राप्त हुन्छ ।
प्राचीनकालमा सत्ययुगको समयमा महिष्मति नामको एउटा नगरीमा इन्द्रसेन नामको एकजना प्रतापी राजा धर्मपूर्वक आफ्ना प्रजालाई पालन गर्दै शासन गर्दथे । ती राजा पुत्र, पौत्र र धन आदिबाट सम्पन्न र भगवान् विष्णुका परम भक्त थिए ।
एक दिन सुखपूर्वक आफ्नो सभाकक्षमा बसेर राजकाजका बारेमा छलफल गरिरहेको समयमा अन्तरिक्षबाट महर्षि नारद उनको सभामा उपस्थित भए । अकस्मात् आफूअगाडि राजाले नारदलाई देख्दा राजा छक्क परे र उनलाई प्रणाम गर्दै उभिए र विधिपूर्वक आसन गर्नको लागि अनुरोध गरे ।
राजाको आतिथ्यलाई स्वीकार गर्दै मुनि नारदले राजासित प्रश्न गरे– हे राजन ! तिम्रा राज्य राज्यप्रशासनका समस्त क्रियाकलाप र अंग राम्ररी नै सुसञ्चालित त छन् ? तिम्रो बुद्धि धर्ममा र तिम्रो मन विष्णु भक्तिमा रत त छ ? देवर्षि नारदका यस्ता कुरा सुनेर राजाले उत्तर दिए– हे महर्षि ! हजुरको कृपाले मेरो राज्यमा सबै ठिकठाक र कुशल छ तथा म कहाँ यज्ञ कर्मादि सुकृतिपूर्वक भइरहेका छन् ।
हजुरले मेरो राजसभामा पाउ कष्ट गरी हामीलाई धन्यधन्य त तुल्याउनु भएको छ, तर उपस्थित हुनासाथ किन यस्ता प्रश्न गर्नुभएको ? हजुरको आगमनको मुख्य अभिप्राय बताउने कृपा गर्नुहुन अनुरोध छ । अनि ऋषि नारदले राजाका जिज्ञासालाई उत्तर दिदै भन्न थाले –हे राजन ! तिमीले मेरा कुरा सुन्नासाथ आश्चर्य मान्नेछौ । मेरा वचनलाई सुन ।
म एक पटक ब्रह्मलोकबाट यमलोक गएँ, त्यहाँ श्रद्धापूर्वक यमराजद्वारा पूजित भएर मैंले धर्मशील र सत्यवान धर्मराजको प्रशंसा गरेँ । यमराजको त्यसै सभामा महान ज्ञानी र धर्मात्मा तिम्रा पितालाई एकादशीको व्रत भंग भएका कारणले पाए । उनले पठाएको संदेश सुन ।
तिम्रा पिताजीले भनेका छन कि पूर्व जन्ममा कुनै विघ्न भएका कारणले म यमराजका छेउमा बस्दैछु , त्यसैले हे पुत्र ! यदि तिमी आश्वीन कृष्णपक्षको इंदिरा एकादशीको व्रत मेरा निम्ति गर्नसक्छौ भने मलाई स्वर्गप्राप्ति हुनेछ । नारदका मुख बाट पिताजीको सन्देश सुनेर राजा भन्न थाले हे महर्षि ! हजुरले यस व्रतको विधि मलाई बताउनुहोस् ।
नारदजीले व्रतविधि आज्ञा गरे–आश्विन महिनाको कृष्ण पक्षको दशमीका दिन प्रातस्कालमा श्रद्धापूर्वक स्नानादिबाट निवृत्त भएर पुनः दिउँसो नदी आदिमा गएर स्नान गर्नु पर्छ । अनि श्रद्धापूर्वक पितृश्राद्ध गर्नु पर्छ र एक छाक मात्र भोजन गर्नु पर्छ ।
प्रातःकाल भएपछि एकादशीका दिन दतिउन आदि गरेर स्नान गर्नु पर्छ, पुनः व्रतका नियमलाई भक्तिपूर्वक ग्रहण गर्दै प्रतिज्ञा गनु पर्छ कि ‘म आज संपूर्ण भोगहरूलाई त्याग गरी निराहार एकादशीको व्रत गर्नेछु , हे अच्युत ! हे पुंडरीकाक्ष ! म हजुरको शरणमा छु , हजुरले मेरो रक्षा गर्नुहोस, यसरी नियमपूर्वक शालिग्रामको प्रतिमा अगाडी विधिपूर्वक श्राद्ध गरेर योग्य व्राह्मणलाई फलाहार भोजन गराउनु पर्छ र दक्षिणा दिनु पर्दछ । श्राद्धमा बाकी रहेका पदार्थलाई सुघेर गाईलाई दिनु पर्दछ र धुप, दीप, गंध, पुष्प, नैवेद्य आदि सम्पूर्ण सामग्रीले ऋषिकेश भगवानको पूजन गर्नु पर्छ । रात्रीकालमा भगवानको प्रतिमाको छेवैमा बसेर जागरण गर्नु पर्छ ।
त्यसपछि द्वादशीका दिन प्रातःकालमा भगवानको पूजाआजा गरेर ब्राह्मणलाई भोजनदी गरा उनु पर्छ । भाइ–बंधु, स्त्री र पुत्र सहित आफुले पनि मौन रहेर भोजन गर्नु पर्छ । नारदजी बताउदै हुनुहुन्छ– हे राजन ! यसप्रकारले यदि तिमीले आलस्य रहित भई यस एकादशीको व्रत गर्यौ भने तिम्रा पिता अवश्य नै स्वर्गलोक पुग्ने छन् ।
यत्तिका कुरा भने पछि नारदजी अंतर्रध्यान हुनुभयो । नारदका कथनानुसार राजाले आफ्ना दाजुभाइ, इष्टमित्र, बन्धुबान्धव, करकुटुम्ब र दासजन सहित विधिपूर्वक व्रत लिए व्रत समापन भएपछि आकाशबाट पुष्पवर्षा भयो र त्यस राजाका पिता गरुड़मा बसेर पृथ्वीतलमा रहेका सन्ततिलाई अशिर्वचन प्रदान गर्दै विष्णुलोकतर्फ गए ।
राजा इंद्रसेन पनि एकादशीको व्रतको प्रभावले निष्कंटक राज्य सुखभोग गरेर अन्त्यमा आफ्ना पुत्रलाई सिंहासनमा राखेर स्वर्गलोकतर्फ प्रस्थान गरे । हे युधिष्ठिर ! आजको यस इन्दिरा एकादशीको कथा एवं माहात्म्य यत्ति नै हो, जुन मैले तिमीलाई सुनाए ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया