पेरिस, २४ फागुन । फ्रान्समा उमेर नपुगी बालिकामाथि सहमतिमा यौन सम्बन्ध राखेका घटनाहरु बाहिर आएपछि न्यूनतम उमेर तोक्ने तयारी भएको छ ।यो नीति लागु भएपछि १५ वर्षभन्दा मुनिकासँग सहमतिमा नै यौन सम्बन्ध राखेपनि त्यो बलात्कार ठहरिनेछ ।फ्रान्सेली प्रहरीले हाल १५ वर्षभन्दा कम उमेरका व्यक्तिसँग भएको यौन सम्बन्धमा बलात्कारको आरोप प्रमाणित गर्नका लागि जबरजस्ती यौन सम्बन्ध बनाएको पुष्टि गर्नुपर्ने बाध्यता रहेको छ ।हालै एक ११ वर्षीया बालिकासँग यौन सम्बन्ध बनाएको घटनापछि यस्तो कानुनी परिवर्तन गर्न खोजिएको हो । वर्तमान कानुनअनुसार जबरजस्ती यौन सम्बन्ध राखेको कुनै प्रमाण फेला नपरेमा अपराधीलाई नाबालिगसँग यौन सम्बन्ध बनाएको आरोपमा मात्रै दोषी ठहर गरिन्छ । यस्ता व्यक्ति बलात्कारी ठहरिँदैनन् । जुन आरोपमा पाँच वर्षको जेल र ६६ हजार पाउन्ड जरिमाना हुने प्रावधान रहेको छ ।बालिक र नाबालिकसँगको यौन उत्पीडनको मामलामा करिब उस्तै प्रकारको कारबाहीको प्रावधान रहेको छ । तर, बलात्कारको आरोप प्रमाणित भएमा कडा कारबाही हुन्छ । आगामी दिनमा यौन हिंसा र उत्पीडन रोक्नका लागि उठाउने कदमका रूपमा सरकारले यो कानुनलाई स्वीकृति दिने तयारी गरेको छ ।सहमतिमा यौन सम्बन्ध राख्न पाउने उमेर पनि १३ वर्ष वा १५ वर्ष राख्ने भन्नेबारेमा बहस भएको थियो । पछि सरकारले १५ वर्षको उमेर राख्ने निर्णय लिएको हो । बालअधिकारको क्षेत्रमा काम गर्दै आएका समूहले यो माग गर्दै आएका थिए ।फ्रान्सको लैंगिक समानता सुनिश्चित गर्नेसम्बन्धी विभागकी मन्त्री मार्लिन सियपाले भनिन्, ‘मलाई सरकारले धेरै उमेरको विकल्प चयन गरेकोमा खुसी लागेको छ । राष्ट्रपति इम्मानुएल म्याक्रोले पनि यसमा सहमति जनाउनुभएको छ ।’गत वर्षको नोभेम्बरमा ३० वर्षका एक व्यक्तिलाई ११ वर्षकी बालिकासँग यौन सम्बन्ध राखे पनि अदालतले रिहा गरिदिएको थियो ।अदालतले अभियुक्तले ११ वर्षीय बालिकालाई जबरजस्ती यौन सम्बन्ध नराखेको भन्दै रिहा गर्ने आदेश दिएको थियो ।अर्को यस्तै घटनामा पनि २८ वर्षीय एक युवकमाथि बलात्कारको नभई यौन हिंसाको मुद्दा चलाउने फैसला गरेको थियो । यो घटनामा पनि अदालतले यौन सम्बन्धका लागि उनले जबरजस्ती नगरेको दाबी गरेको थियो ।हालै सोही अदालतले आफ्नो फैसला उल्टाउँदै बलात्कारको मुद्दा चलाउने फैसला गरेको छ ।विश्वका विभिन्न देशमा सहमतिमा यौन सम्बन्ध राख्नका लागि न्यूनतम उमेर तय गरिएको छ । भारतमा १८ वर्षलाई न्यूनतम उमेर मानिएको छ भने अस्ट्रिया, जर्मनी, हंगेरी, इटाली र पोर्चुगलमा १४ वर्ष कायम गरिएको छ ।यस्तै ग्रीस, पोल्यान्ड र स्वीडेनमा १५ वर्ष, बेल्जियम, नेदरल्यान्ड, स्पेन र रुसमा १६ वर्ष र साइप्रसमा १७ वर्षसम्म सहमतिमा नै राखेको यौनसम्बन्ध बलात्कार ठहरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया