उत्तरबाट फर्किएलगत्तै किन गए दक्षिण कोरियाली विशेषदूत अमेरिका ?

सोल, २४ फागुन । हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका दुइजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेका छन् ।दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ इयु–योङ र दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर निकायका प्रमुख सु हुन बिहीबार अमेरिका प्रस्थान गरेका हुन् ।उनी मङ्गलबारमात्र उत्तर कोरियाबाट स्वदेश फर्किएका हुन् । उनीहरुले अमेरिकाका सुरक्षा र गुप्तचरसम्बन्धी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।त्यसैगरी उनीहरुले उत्तर र दक्षिण कोरियाको वार्ताको विषयमा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनसँग भेटवार्ता गरी हालैको प्योङयाङ भ्रमणका बारेमा जानकारी गराउनेछन् ।उनीहरुले विशेषगरी हालै भएको उत्तर कोरियाको भ्रमणका क्रममा भएको पछिल्लो विकसित परिस्थितिको बारेमा अमेरिकी अधिकारीहरुलाई जानकारी गराउने बताइएको छ ।उत्तर कोरियामा भएको सो भ्रमणका समयमा के कस्तो विषयमा कुराकानी भयो र उत्तर कोरियाले परमाणुअस्त्रको उत्पादन रोक्ने बारेमा के प्रतिक्रिया दिएको छ भन्ने बारेमा सो भेटमा उनीहरुले जानकारी दिनेछन् ।विशेषदूतका रुपमा उनीहरुले उत्तर कोरियाली नेता किम जोङ उनसँग गएको सोमबार साँझ प्योङयाङमा भेटवार्ता गरेका थिए ।सो भेटवार्ताका क्रममा यी दुई देशका उच्च नेताहरुको शिखर बैठक आगामी महिना आयोजना हुने र परमाणु अस्त्र परित्याग गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?