काठमाडौं, २५ फागुन । ४ नं. प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् ।आज दिउँसो १ बजे मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यसूची प्रदेशसभा सचिवालयले तयार पारेको छ ।प्रदेशसभा सचिवालयका सचिव शम्भुप्रसाद खड्काले भने, ‘मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने, प्रदेशसभा नियामावली पारित गर्ने र आर्थिक कार्यविधि टेबल गर्नेलगायतका कार्यसूची तयार पारेका छौं ।’संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।माघ २८ गते प्रदेश ४ का एमाले संसदीय दलका नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट नियुक्ति लिएका थिए ।६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश ४ मा मतदानबाट गुरुङको पक्षमा बहुमत अर्थात ३१ मत प्राप्त गरेका थिए । एमालेको २७ र माओवादीको १२ सदस्य रहेकाले गुरुङले सजिलै बहुमत प्राप्त गर्नेछन् । प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संविधानले नै व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया