आज वास्तुविद विश्वकर्मा पूजा, के छ विश्वकर्मा पूजाको आध्यात्मिक महत्व ?

विवाहादिषु यज्ञेषु गृहारामविधायके ।
सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम् ।
जगच्चक्षु विश्वकर्मन्नीश्वराय नमोनमः

समुन्द्रमन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गरी भगवान विश्वकर्मालाई सम्झने दिन हो । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा मानिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।

नयाँ सवारीसाधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको अत्याधिक भीड लाग्छ । यो पूजा सबै कलाकार,शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो पूर्वोत्तर भारत, बङ्गाल र नेपालमा विशेष प्रसिद्ध पर्वका रूपमा मनाउने प्रचलन छ ।

विश्वकर्मा भगवान को हुन् ?

भगवान महादेवले व्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् । भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण श्रृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको छ ।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षक देवताका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मान्ने गरिन्छ ।विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वासका साथ पूजा गरिन्छ ।

एक कथाअनुसार वाराणसीमा धार्मिक व्यवहारबाट चल्नेवाला एउटा रथकार आफ्नो पत्नीको साथ बस्थे । आफ्नो कार्यमा उनी निपुण थिए । तर, विभिन्न स्थानमा घुम्दा अत्यधिक मेहनतपछि खानुबाहेक अन्य सम्पत्ति जोड्न सकेका थिएनन् । पति जस्तै पत्नी पनि पुत्र नभएका कारण चिन्तित थिइन् । पुत्र प्राप्तिका लागि विभिन्न साधु–सन्तकहाँ पनि जान्थे, तैपनि उनको यो इच्छा पूरा भएको थिएन । त्यसैबेला उनको एक छिमेकी व्राह्मणले रथकारको पत्नीलाई सल्लाह दिए, ‘तिमी भगवान विश्वकर्माको शरणमा जाउ, तिम्रो ईच्छा पूरा हुनेछ ।

यसपछि रथकार एवं उनकी पत्नीले अमावस्या तिथिमा भगवान विश्वकर्माको पूजा गरे जसबाट उनीहरुलाई धन–धान्य र पुत्र रत्नको प्राप्ति भयो र उनीहरु सुखी जीवन व्यतीत गर्न लागे, कथामा उल्लेख छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?