विराटनगर, २६ फागुन । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ ।नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले शुक्रबार आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले हुने वायू प्रदूषणका कारण अनेकौँ रोग निम्तिने र त्यो मानव मृत्युको प्रमुख कारकका रुपमा देखिएको जानकारी दिइएको छ ।प्रदेश नं १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले विश्वव्यापी समस्याका रुपमा देखिएको वायु प्रदूषण समस्यालाई क्षेत्रीय, जातीय, धार्मिक र राजनीतिक बहसभन्दा ज्यादा महत्व दिएर छलफल गरी समाधान गर्नुपर्ने बताए ।नाष्टका उपकुलपति प्रा डा. जीवराज पोखरेलले वायु प्रदूषण नियन्त्रण गर्न प्रत्येक प्रदेशमा क्षेत्रीय मापन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा. घनश्यामलाल दास र विराटनगर महानगर प्रमुख भीम पराजुलीले मानव स्वयंको असावधानीले जोखिम निम्त्याइरहेको धारणा व्यक्त गरे ।कार्यपत्र प्रस्तुत गर्दै नाष्टका प्राज्ञ मदनलाल श्रेष्ठले वायु प्रदूषणका कारण विश्वव्यापी रुपमा फोक्सोको अर्बुद ३६, हृदयाघात ३४ र मुटुको बिरामी २७ प्रतिशत हुने गरेको बताउँदै दुई दशमलव पाँच माइक्रोनका धुलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक रहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया