बेइजिङ, २८ फागुन – चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकाल पनि राष्ट्रपति पदमा बहाल रहनका लागि बाटो खुला भएको छ । चिनियाँ राष्ट्रिय जनकंग्रेसको बार्षिक बैठकले एक जना व्यक्ति दुई कार्यकालमात्रै चिनियाँ राष्ट्रपति बन्न पाउने प्रावधानलाई हटाएपछि सीलाई पुनः राष्ट्रपति बन्ने बाटो खुला भएको हो ।चिनियाँ राष्ट्रपतिको एक कार्यकाल ५ वर्षको हुने र एक व्यक्तिले दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने प्रावधान रहेको थियो । चीनको आर्थिक विकासका सुत्रधार मानिने नेता देङ सियाओ पिङले राष्ट्रपतिमा एक जना व्यक्ति अधिकतम १० वर्ष रहनसक्ने परिपाटी बसालेका थिए । तर उनीपछि दुई जना राष्ट्रपतिले मात्रै यो व्यवस्थाको अनुशरण गरे ।चीनका दुई पूर्व राष्ट्रपति जियाङ जेमिन र हु जिन्ता ओ दुई कार्यकाल गरी १०/१० वर्ष चीनको राष्ट्रपति बनेका थिए । त्यसपछि राष्ट्रपति बनेका सी जिनपिङले चिनियाँ कम्युनिस्ट पार्टीमा आफ्नो शक्तिमा व्यापक सुधार गरेका छन् । उनको विचार चिनियाँ संविधानमा नै सामेल गरेर तत्कालीन अध्यक्ष माओ त्से तुङपछिकै शक्तिशाली स्थान दिइएको छ ।सन् २०१८ मा भएको पार्टी महाधिवेशनले उनको विचारलाई संविधानमा सामेल गरेको थियो भने भावी नेता नतोकिकन महाधिवेशन सकिएको थियो । महाधिवेशनले पाँच वर्षपछिको सम्भावित नेतृत्व तोक्ने परम्परा तोडेको थियो । गत फेब्रुअरीमा चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय जनकंग्रेसमा राष्ट्रपतिको दुई कार्यकाल मात्रै हुने प्रावधान हटाउन प्रस्ताव गरेको थियो । संविधानमा रहेको सो प्रस्ताव हटाउन चिनियाँ कम्युनिस्ट पार्टीले गरेको प्रस्तावलाई कंग्रेसको बार्षिक बैठकले आइतबार पारित गरेको हो ।चिनियाँ राष्ट्रिय जनकंग्रेसका २ हजार ९ सय ६४ सदस्यमध्ये २ जनाले यो प्रस्तावको विपक्षमा मत हालेका थिए भने तीन जना अनुपस्थित भएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको रबर स्टाम्पको रुपमा रहेको जनकंग्रेसले यो प्रस्ताव पारित गरेसँगै सीले अब सन् २०२३ मा आफ्नो कार्यकाल सकिएपछि तेस्रो पटक पनि राष्ट्रपति बन्ने बाटो खुला भएको हो । यससँगै सन् १९९० देखि कायम रहेको २ कार्यकालको प्रावधान हट्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया