गुटामा मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

डौमा/एजेन्सी– सिरियाको पूर्वी गुटामा २० दिनयता जारी हवाई कारबाहीमा परी एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन् । विद्रोहीले नियन्त्रणमा लिएको भनिएका सहरमध्येको सबैभन्दा ठूलो सहर पूर्वी गुटामा सरकारी सुरक्षाकर्मीले विद्रोही विरुद्ध रक्षात्मक आक्रमण गरेका थिए ।सरकारी सुरक्षा फौजको सहयोगका लागि गठन भएको अर्धसैनिक बलले गत फेब्रुअरी १८ देखि पूर्वी गुटामा सैन्य अभियान चलाएको थियो । सो अभियान सुरुगरेयता आधाभन्दा बढी क्षेत्रलाई सरकारी सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको छ ।सो क्षेत्रका थोरै ठाउँको दरले सबैलाई आफ्नो नियन्त्रणमा लिँदै जाने रणनीतिअनुसार उनीहरुले केही ठाउँ अहिले नियन्त्रणमा लिएका हुन् । सरकारी सैन्य बलले शनिबार गुटाको मुख्य ठाउँ डौमालाई सफलतापूर्वक विद्रोहीबाट मुक्त गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स्ले जनाएको छ ।शनिबार मात्रै डौमामा कम्तीमा २० जना मारिएका छन् । मारिनेमध्ये चारजना बालबालिका पनि रहेका छन् । त्यसैगरी अर्को ठाउँमा अरु १७ जना मारिएको पनि अनुगमनकर्ताले जनाएका छन् । पूर्वीगुटा क्षेत्रमा अहिलेसम्म मारिनेको संख्या एक हजार ३१ पुगेको छ । मारिनेमध्ये २ सय १९ जना बालबालिका छन् ।आक्रमणमा परी चार हजार ३ सय ४० भन्दाबढी मानिस घाइते भएको अनुगमनकर्ताले जनाएका छन् । उता सो क्षेत्रमा राष्ट्रसंघीय सहायताकर्मीले निकै प्रयास गरेको भए पनि सहायता वितरण गर्न अझै सकेका छैनन् ।उनीहरुले शनिबारका लागि गरेको प्रयास पनि आंशिकरुपमा मात्र सफल भएको छ । सहायता सामग्री बोकेका केही ट्रक डौमा क्षेत्रमा पुगेको भएपनि उनीहरुले निर्वाधरुपमा वितरण गर्न भने सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?