राष्ट्र बैंकले आज वित्तीय बजारमा २० अर्ब रुपैयाँ निकास गर्दै

काठमडौं, ३० फागुन । नेपाल राष्ट्र बैंकले बुधबार वित्तीय बजारमा २० अर्ब रुपैयाँ पठाउने भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत नाघेपछि राष्ट्र बैंकले रिपो मार्फत बजारमा २० अर्ब रुपैयाँ पठाउन लागेको हो ।राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा २२ अर्ब रुपैयाँ बराबरको तरलता रहेको छ । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधीमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर पाँच प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ ।राष्ट्र बैंकले दुई साताको लागि उक्त रिपो जारी गर्न लागेको हो । जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ । बुधबार जारी हुने रिपो चैत्र १४ गते परिपक्व हुनेछ ।राष्ट्र बैंकले बजारमा तरलता धेरै भए रिभर्स रिपोमार्फत पैसा खिच्छ भने कम भए रिपोमार्फत पैसा प्रवाह गर्दै आएको छ । यो रकम प्रवाह भएपछि अन्तर बैंक कारोबारको ब्याजदर नियन्त्रणमा आउँने राष्ट्र बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?