सामान्य प्रशासनबाट खटाइएका २३९ कर्मचारी अझै पुगेनन् कार्य क्षेत्र

काठमाडौँ, ३० फागुन । संघीय मामिला तथा सामान्य प्रशासनबाट विभिन्न प्रदेश सरकारमा खटाइएका २३९ कर्मचारी अझै कार्यक्षेत्र पुगेका छैनन् ।सातवटै प्रदेशमा प्रदेश सरकार सञ्चालनका लागि गएका २३९ कर्मचारी अझै नगएको मन्त्रालयका उपसचिव सुभद्रा ढुंगेलले जानकारी दिए । उनका अनुसार प्रदेश सरकार सञ्चालन हुँदाखेरी नै पठाइएका ती कर्मचारी अटेरी गर्दै अझै प्रदेश कार्यालयमा हाजिर भएका छैनन् ।उपसचिव ढुंगेलले सम्बन्धित प्रदेश कार्यालयले हाजिर नहुने कर्मचारीको विवरण पठाए उनीहरूलाई स्पष्टीकरण साधिने बताए । सामान्यले प्रदेश सरकारमा केही समयका लागि आन्तरिक व्यवस्थापन गर्न भन्दै एक हजार ६८ कर्मचारी खटाएको थियो ।प्रत्येक प्रदेश प्रमुखको कार्यालयमा सचिवको नेतृत्वमा र प्रदेश मन्त्रालयमा सहसचिवको नेतृत्वमा कर्मचारी खटाइएको छ ।यसगरी खटाइएका १७ कर्मचारीले भने अझै पत्रसमेत बुझेका छैनन् । प्रदेश कार्यालयका लागि एक हजार ५०५ कर्मचारी आवश्यक भएकाले अपुग कर्मचारी पठाउने तयारी पनि गरिएको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?