पूर्वी नेपालका किसानले कमाउँछन् घाँसको बीउबाटै वार्षिक १० लाख

तेह्रथुम, ३० फागुन । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् ।उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती सपना पुरा गर्छन् तर धेरैको अधुरै पनि रहन्छ ।त्यस्तै सपना देख्नुभएको थियो लालीगुराँस नगरपालिका–९, सोल्मा सिंजेपुका दिलकुमार लिम्बूले । उनको सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले ३१ वर्षीय लिम्बूले गाउँमा परिवारसँगै बसेर व्यावसायिक गाईपालन गरीरहेका छन् । उनले ‘याङहिङबाङ गाई फर्म’ चलाएर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेका छन् ।विसं २०७२ मा खोलेको उनको गाई फर्ममा अहिले चारवटा उन्नत जातका दुधालु गाई छन् । “लाहुरे बन्ने धोकोले उमेरमा पढ्न सकिएनँ,” उनले भने,“उमेर बितेपछि बुद्धि पलायो, स्वदेशमै बसेर पनि नाम र दाम दुवै कमाउन सकिने रहेछ ।”उन्नति परियोजनाले म्याङलुङमा चलाएको गाईपालनसम्बन्धी तालीममा सहभागी भएपछि आफूलाई व्यावसायिक गाईपालन गर्ने प्रेरणा मिलेको उनले बताए । लिम्बूले शुरुमा इलामबाट पाँचवटा गाई ल्याएर फर्म खोलेका थिए । उनको अलैँची खेती पनि छ ।गाई फर्मका लागि शुरुमा करिब रु १० लाख लगानी गरेको उहाँले बताउनुभयो । “फर्म दर्ता गरेपछि कृषि विकास बैंकले रु पाँच लाख ऋण दियो, बाँकी अलैँची बेचेर लगानी गरेँ,” लिम्बूले भने । अहिले गाईका लागि उन्नत जातको घाँसको खेती पनि उहाँ आफैँले लगाएका छन् । उन्नत जातको घाँसको खेती गाउँमा थोरैको मात्र छ । उनले घाँसको बीउ पनि उत्पादन गर्छन् । उनले भने, “अहिले घाँसको बीउबाट मनग्य आम्दानी हुन थालेको छ ।”गोरखा, तनहँु र चितवनसम्म पुगेर उन्नत जातका घाँसको बीउ संकलन गरेको उनले बताए । लिम्बूले संकलन गरेको घाँसको बीउ अहिले गाउँमा लोकप्रिय छ । सबैले उनकैबाट घाँसको बीउ खरिद गर्छन् । उनको फर्मबाट अहिले दैनिक ४० लिटर दूध बिक्री हुन्छ । दूधबाट मासिक रु ५० हजारभन्दा बढी आम्दानी हुने गरेको लिम्बुले बताए ।लिम्बूले उत्पादन गरेको दूध गाउँमा खुलेको तीनजुरे दुग्ध उत्पादक सहकारी संस्थाले खरिद गर्ने गरेको छ । यस वर्ष घाँसको बीउ बेचेर उनले रु १० लाखभन्दा बढी आम्दानी गरेका छन् । फर्मका लागि आवश्यक सामग्री ओसारपसार र दूध ढुवानीका लागि समस्या भएपछि अहिले उनले गाईफर्मकै आम्दानीबाट किस्तामा रु २२ लाखको गाडीसमेत किनेका छन् ।“गाडीबाट मासिक रु ७० हजारभन्दा बढी आम्दानी भइरहेको छ,” उनले बताए । गाई फर्मदेखि घाँस खेती र दूध ढुवानी गर्न लिम्बू आफैँ खट्ने गर्छन् । गाई फर्म, अलैँची खेती, घाँस र गाडीबाट गरी यस वर्षमात्रै उनले रु २४ लाखभन्दा बढी आम्दानी गरेका छन् । “अहिले त राम्रै कमाइ भइरहेको छ, बैंकको ऋण पनि घट्दो क्रममा छ,” लिम्बूले भने– “त्यही आम्दानीबाट परिवारको सबै खर्च र घरखर्चसमेत चलाउनु पर्छ ।”सबै खर्च कटाएर लिम्बूले मासिक रु एक लाखभन्दा बढी आम्दानी गरिरहेका छन् । “मेहनत गरे स्वदेशमै मनग्य कमाइ गर्न सकिने रहेछ,” लिम्बूले भने । जिल्लामा सफल र नमूना युवा व्यावसायिक कृषकको रुपमा परिचय बनाएका लिम्बू अहिले आफ्नो जातिको लोक संस्कृति संरक्षण र उत्थानमा समेत लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?