बेलायतको रुसी कुटनीतिज्ञ देश निकाला गरेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक

संयुक्त राष्ट्रसंघ, अमेरिका, ३० फागुन – संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बुधबार बोलाइएको छ ।रुसी कूटनीतिज्ञहरूलाई एकाएक बेलायतले देश निकाला गरेपछि बेलायतकै आग्रहमा आकस्मिक बैठक बोलाइएको हो ।रुसका एक जना पूर्व गुप्तचर र उनकी छोरीलाई विष खुवाएर हत्या गर्ने प्रयासमा संलग्न भएको भन्दै बेलायतले २३ जना कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको छ ।सुरक्षा परिषद्को बैठकमा बेलायतले घटनाका बारेमा व्याख्या गर्दै कूटनीतिज्ञहरूलाई देश निकाला गर्नु पर्नाको कारणका बारेमा स्पष्ट पार्ने जनाएको छ ।पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध बेलायतको संसद चलिरहेका बेला गत मार्च ४ का दिन विष सेवन गराएर हत्या प्रयास भएको बताइएको छ ।उनीहरूको अहिले चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् ।बेलायती प्रधानमन्त्री थेरेसा मेले उनीहरूको हत्या प्रयासमा रुसी केही कूटनीतिज्ञको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको दाबी गर्नुभएको छ ।तर रुसले भने उनीहरूको हत्या प्रयासमा रुसी कूटनीतिज्ञहरूको संलग्नता रहेको भन्ने बेलायती आरोप अस्वीकार गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?