काठमाडौँ, १ चैत । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ ।कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका अनुसार कूल रु छ अर्ब ६२ करोड आठ लाख बराबरको आवेदन परेको जानकारी दिए । एक लाख ८६ हजार ३२४ जनाले आवेदन गरेको जानकारी प्राप्त भएको प्रमुख कोइरालाले बताए ।उनले भने, “केही बैंक तथा वित्तीय संस्थाले अझै विवरण बुझाउन बाँकी रहेको भन्ने जानकारी आएको छ । केही संख्या अझै बढ्न सक्छ ।”कम्पनीले रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब ३३ करोड ४२ लाख हजार बराबरको एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर छुट्याइएको थियो ।कम्पनीका संस्थापक संस्थाका लागि भने यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिने व्यवस्था मिलाइएको छ । कम्पनीको संस्थापक संस्थामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाउँ विकास समिति र जिल्ला विकास समितिका कर्मचारीलाई रु २३ करोड ९४ लाख ७३ हजार ५०० बराबरको २३ लाख ९४ हजार ७३५ कित्ता शेयर बिक्री गर्नेछ ।रसुवागढीको शेयरमा कोषका करिब आठ लाख ६८ हजार ३९५ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो । जति संख्यामा आवेदन पर्ने अपेक्षा गरिएको थियो त्योअनुसार सञ्चयकर्ताले भने आवेदन नदिएको बताइएको छ । रसुवागढीको सीमित आइपिओमा सञ्चयकर्तालाई न्यूनतम ५० कित्ता र अधिकतम ५०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।आयोजनाका प्रमुख कोइरालाले भने सिआश्वा प्रणाली लागू भएका कारण धेरै सञ्चयकर्ताले आवेदन दिन नपाए पनि उल्लेख्य आवेदन परेको जानकारी दिए । रसुवामा आयोजनास्थल रहेको रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट क्षमताको हो ।यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु चार अर्ब १७ करोड २२ लाख ५३ बराबरको आवेदन परेको छ । कम्पनीका प्रमुख किरण श्रेष्ठका अनुसार एक लाख ८३ हजार २३५ जनाले आवेदन दिएका छन् ।कम्पनीले सञ्चयकर्ताका लागि रु ७१ करोड १७ लाख ५० हजार बराबरको ७१ लाख १७ हजार ५०० कित्ता शेयर छुट्याएको थियो । सञ्चयकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम ३०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।कम्पनीले रसुवामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीको शेयरमा सात लाख २९ हजार ७६१ सञ्चयकर्ताले आवेदन दिन पाउने व्यवस्था थियो ।कम्पनीको संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई रु १२ करोड ७७ लाख ५० हजार बराबरको शेयर छुट्याइएको प्रमुख श्रेष्ठले जानकारी दिए । संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता अधिकतम ३०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।सञ्चय कोषका कर्मचारीले न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म शेयरमा आवेदन दिन सक्ने छन् । उनीहरुका लागि रु ३ करोड ६५ लाख बराबरको शेयर छुट्याइएको छ । संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीले यही चैत ५ देखि १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । दुवै कम्पनी चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी हुन् ।हालसम्म माथिल्लो साञ्जेनको ६८ प्रतिशत र साञ्जेनको ५८ प्रतिशत काम सकिएको छ । माथिल्लो साञ्जेनबाट अप्रिल २०१९ बाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ । यस्तै रसुवागढी जलविद्युत् आयोजना सन् २०१८ को डिसेम्बरमा निर्माण सक्ने लक्ष्य राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया