काठमाडौं । धितोपत्र कारोबारमा डिम्याट खाता अनिवार्य भएसँगै यो खाता खोल्नेको संख्या दिनानुदिन बढ्दै गएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का अनुसार हाल डिम्याट खाताको संख्या २० लाख ७३ हजार १ सय ६८ रहेको छ । पछिल्ला एक महीनामा मात्र करीब २ लाख जनाले यो खाता खोलेको सिडिएससीले जानकारी दिएको छ ।
पछिल्लो एक महिनामा नयाँ इन्स्योरेन्स कम्पनीहरुले धमाधम आईपीओ विक्री गरिरहेका छन् । केहि वर्ष यतादेखि प्रत्येक आवेदकलाई सार्वजनिक निष्काशन अनिवार्य १० कित्ता शेयरको व्यवस्था भएबाट पनि डिम्याट खोल्ने क्रम बढेको हो ।
प्राथमिक तथा दोस्रो धितोपत्र बजारनै पूर्ण अनलाईन प्रणालीमा गएको यो अवस्थामा मेरो शेयर लिने पनि १० लाख पुगिसकेको छ ।
पछिल्लो समयमा प्रथामिक बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश उत्साहजनक रहेको पाइएको छ । प्राथमिक बजारमा निष्कासनमा आउने शेयरमा पछिल्लो समय ८ लाखभन्दा बढीको आवेदन पर्न थालेको छ । असोज २५ गते विक्री बन्द भएको सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा ८ लाख ८३ हजारभन्दा बढीले आवेदन दिएबाट नै डिम्याट खोल्ने व्यक्तिहरुको संख्या बढ्दै गएको स्पष्ट हुुन्छ ।
प्रविधिको विकाससँगै पछिल्लो कम्पनीले जारी गरेको आईपीओ बाँडफाँट गरेको केहिदिनभित्रे नेप्सेले आईपीओ सूचीकृत गर्दै आएको छ । गत असोज २६ गतेमात्र जनरल इन्स्योरेन्स कम्पनीले १ करोड कित्ता आईपीओ सूचीकृत गरेको छ । यो आईपीओ कम्पनीले असोज ११ देखि १४ गतेसम्म विक्री गरी असोज २० गते बाँडफाँट गरेको थियो ।
असोज २७ गतेदेखि यो शेयर दोस्रो बजारमा खरीदविक्री गर्न सकिने छ । प्रतिशेयर रू. १०० लगानी गरेका लगानीकर्ताका लागि उक्त कम्पनीको पहिलो कारोबार ३०५ भन्दा माथिबाट खुल्ने गरी नेप्सेले मूल्य तोकिदिएको छ ।
धितोपत्र बजारमा पछिल्लो समय दोस्रो बजारमा राम्रो मूल्य कामय भएका बीमा कम्पनीहरुको आईपीओ आउन थालेपछि नयाँ लगानीकर्ताहरुको पनि प्रवेश बढेको छ । नयाँ इन्स्योरेन्स कम्पनीमध्ये सबैभन्दा पहिला अजोड इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरेको थियो ।
उक्त कम्पनीले निष्कासन गरेको आईपीओमा ५ लाखभन्दा बढीले आवेदन दिएका थिए । कम्पनीले असार २५ गते देखि २९ गते आईपीओ निष्कासन गरेको थियो । यसरी हेर्दा तीन महिनामा करीब ४ लाख जनाले डिम्याट खाता खोलेको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया