हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु

रसुवा, ३ चैत । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ ।लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ । पर्यटनका लागि पहिलो याम असोजदेखि मंसिर र दोस्रो याम फागुनदेखि वैशाखसम्म मानिन्छ । फाटफुट रुपमा भए पनि बाह्रै महिना पर्यटक आउने गरेका कारण हिमाली जिल्ला रसुवामा चहलपहल देखिन्छ ।पर्यटकको आगमन निरन्तर भएका कारण चालु आवको साउनदेखि अहिलेसम्म करीव रु दुई करोड २० लाख राजश्व प्राप्त भएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । फागुनदेखि वैशाखसम्मको मौसममा भने दैनिक १०० जनाभन्दा बढीले ओहोरदोहोर गर्ने अपेक्षा गरिएको बताइएको छ ।चालु आवको साउनदेखि अहिलेसम्म कूल हजार ५३९ जनाको आगमन भएकामा सार्क राष्ट्रका ११९ र अमेरिका, जापान, जर्मनी, फ्रान्स, इजरायललगायत देशका छ हजार ४२० जना पर्यटकको आगमन भएको राष्ट्रिय निकुञ्ज कार्यालयका नायब सुब्बा तिलकुमारी अधिकारीले बताए । गत आवमा भने ११ हजार ६८ पर्यटकले भ्रमण गरेको बताइएको छ । भूकम्पपछि क्षतिग्रस्त होटल र लज पुनःनिर्माण भइसकेकाले हिमाली पदयात्रीलाई खान, बस्न यथेष्ट सुविधा भएको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले बताए । यहाँका पर्यटकीय क्षेत्रमा लाङटाङ (३,९००मि), यालापिक, लाङटाङ लिरुङ(७,२००), गणेश हिमाल, गोसाइँकुण्ड(४,३००), तामाङ सम्पदा मार्ग, पार्वतीकुण्ड(२,४०० मि) नागथली, लौरीविनायक आदि छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?