सरकारको तयारी र योजना नभएको कारण अहिले कोरोना संक्रमण नियन्त्रण बाहिर गयो : डा. बाबुराम मरासिनी

काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर र लक्षण सहित संक्रमित हुनेको संख्या उलेख्य मात्रामा बढीरहेको छ । यसमा नागरिकको लापरबाही र सरकारले काम गर्न नसकेको भन्दै आलोचना समेत हुन थालेको छ । वरिष्ठ भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले सरकारको तयारी र योजना नभएको कारण अहिले संक्रमण नियन्त्रण बाहिर गएको बताउँदै आएका छन् । अवकास हुनुअघि महामारी तथा शुरुवारोग नियन्त्रण महाशाखाको प्रमुखको रुपमा काम गरिसकेका डा. मरासिनीका विचार र विश्लेषणहरु अन्तरवार्तामा समेटने प्रयास गरेका छौं । अन्तरवार्तामा डा. मरासिनीले कोरोना नियन्त्रण बाहिर जाँदा राजनैतिक अस्थिरता समेत निम्तिने खतरा तर्फ सबै सचेत हुनपनि आग्रह गरेका छन् । कारोनासँग लडनको लागि आवश्यक तयारी नै नभएको कारण अहिलेको अवस्था आएको तर्कपनि गरेका छन् । यसै सेरोफेरोमा डा. मरासिनीसँगको अन्तरवार्ता ।

  • नेपालमा कोरोना संक्रमणको अवस्था कुन चरणमा भएको पाउनुभएको छ ? 

हामी तेस्रो चरण पास गरेर चौथो चरणमा प्रवेश गर्‍यौँ जस्तो लाग्छ । काठमाडौंको सन्दर्भमा चौथोमा प्रवेश गरेको जस्तो बुझिन्छ । किनभने यो धेरै ठूलो भइसक्यो । यहाँ कार्यालयभित्र, घरभित्र, समुदायमा सबैतिर पसिसक्यो । त्यो हिसाबले हेर्दा काठमाडौं बाहिरको अझै स्पष्ट छैन काठमाडौं भित्र चौथो चरणमा प्रवेश गरिसकेको हो ।

शुरुका केही समय काठमाडौं बाहिर निकै डरलाग्दो अवस्था थियो । अहिले फेरी काठमाडौंमा त्यो अवस्था देखियो । यो किन भयो ?

स्रोतमै रोक्ने प्रयास गर्नुपथ्र्यो । पहिलो स्रोत त सीमापार हो । हवाईजहाजबाट आउनेलाई त हामीले ठिकठिकै गरेका छौं । हामीले त्यति नरम नियम गरेनौं । तर दक्षिण सीमा तिरबाट आउनेहरुलाई शुुरुमा अव्यवहारीक नियम गर्‍यौँ । नेपाल आउने मान्छे भारत तिरै बस र नेपाल तिरबाट जाने पनि नेपाल तिरै बस भनेर अव्यवहारिक निर्णय गर्‍यौँ । त्यो अव्यवहारिक निर्णय गर्नु हुँदैनथियो । किनभने दशगजामा १४ दिन क्वारेन्टाइन बसेको पनि अन्तर्राष्ट्रिय नियम अनुसार दशगजा क्रस गर्ने वित्तीकै फेरी पारी गएर १४ दिन क्वारेन्टाइन बस्नुपर्छ । त्यो कानुनले मान्दैन । कानून भनेको कानून हो ।

भारतको दिल्लीमा आएर म १४ दिन बसेको थिए नेपालमा म किन बस्नुपर्‍यो भन्ने तर्क काम लाग्दैन । त्यो नगर्नुपथ्र्यो । तर पछि आएर सीमापारबाट आउने सम्बन्धमा कुनै मापदण्ड नीति बनाएन । त्यसपछि खुलेआम आउने जाने भयो । त्यसले तराईका जिल्लाहरुमा संक्रमण आयो । दोस्रो फेजमा काठमाडौंमा आयो । यो त सिधासिधा हो । सरुवा रोगको नियम नै त्यही हो । त्यसरी नै आएको हो अरुपनि ।

डेङ्गो पनि त्यसरी नै आएको हो । धेरै सय वर्ष अगाडि मलेरिया त्यसरी आयो । जापनिज इन्सेफलाइटिस पनि पहिला गोरखपुर हुँदै नेपाल भित्रियो । कालाजार भन्ने रोग सुरुमा पटनामा देखिएको हो विस्तारै नेपालतिर आयो । पाँच-छ वर्षपछि आएको हो । त्यसैले यो रोगको नियम त्यही थियो । त्यसलाई हामीले अलिकति हल्कारुपले लियौं जस्तो लाग्यो । त्यहीनेर रोक्ने प्रयास गरेको भए यस्तो ठूलो नेपालमा प्रकोप (मैले महामारी भन्दीन), कसैकसैले महाव्याधि भन्छन त्यस्तो अवस्था आउँदैन थियो होला ।

  • त्यसो भए महामारीको अवस्था आइसकेको होइन ?

यो होइन । हामीले नेपालीमा उल्था गर्दा महामारी भन्यौं । महा भनेको ठूलो (ग्रेट) मारी भनेको डेथ हो । अहिले चारपाँच वर्ष यता महामारी भनेको इबोलाको मात्रै हो । इबोलाको मृत्युदर ६० प्रतिशत छ । जम्माजम्मी साढे ६ अर्ब मान्छेमा केही लाखको मात्रै मृत्यु भएको छ । त्यो प्रतिशतमा हेर्नेहो भने त हाम्रोमा ०.६, ०.७ प्रतिशत मात्रै छ । डेढसय जनामा एकजनाको जस्तो मृत्यु भइसकेको छ । त्यो हेर्दा अहिलेपनि हामिकोमा टिभि रोग (क्षयरोग) लागेर ५ हजार मान्छेको मृत्यु भइराखेको छ । त्यसलाई हामीले के भन्ने । मलाई भोली प्रश्न आउँछ त्यसैले यो एकप्रकारको महाप्रकोप चाहिं हो । तर यो महामारी चाहिं होइन । महामारी भन्ने शब्दको नेपाली समाजले असाध्यै उल्टा किसिमले सम्झिन्छ । यसको विश्लेषण, यसको बुझाई असाध्यै नकारात्मक छ । त्यसोगर्दा महामारी भन्ने शब्द कसैलेपनि प्रयोग नगरेको राम्रो । किन भने यसको ५० प्रतिशत, ६० प्रतिशत मृत्युदर पनि छैन । त्यसो भएको हुनाले महामारी भन्ने शब्द प्रयोग नगरौं भन्छु ।

  • शुरुका केही समय वीरगंज, उदयपुरको झुल्के हुँदै नेपालगंज सम्मको एरियामा एकदमै कठिन अवस्था थियो । त्यता नियन्त्रणमा अथवा न्यून अवस्थामा रहयो । बिचमा माथिमाथिको क्षेत्रमा फैलिन थाल्यो । सरुवारोगको नियम नै यहि हो अथवा लापरबाही बढी हो ?

पहिला म सँग कतिजनाले अन्तरवार्ता लिदाखेरिनै काठमाडौंमा फैलियो भन्दा नै त्यतिधेरै आश्चार्यजनक मान्नुपर्दैन भने । हामीले जसरी उदयपुरमा राम्रोसँग यसलाई नियन्त्रण गरेका थियौं त्यही मोडेलमा गएर यहाँपनि गरनौं भन्दाखेरी अव यहाँ मान्छेका विभिन्न थरी कुराहरु र विभिन्नथरी विश्लेषणहरु भएको कारणले र मैले वैशाख महिना मै समुदायमा गइसक्यो है भने कसरी गयो भन्दा जुन सिन्धुपाल्चोकबाट आउनुभएको महिलाको मृत्यु भएपछि मैले सुत्केरी हुनलाई ठिक्क परेको महिलाको नजिक सारै धेरै मान्छेहरु जाँदैनन् । उहाँको सम्पर्क निकै कम भइसकेको हुन्छ । सामाजिक सम्पर्क धेरै कम भइसकेको हुन्छ । मान्छे त्यसैपनि परपर बसेर कुरा गर्छन । त्यसैले उहाँलाई यो रोग लाग्नु भनेको समुदायमा गइसक्यो है अब होसियार होऔं र नियन्त्रण गरिहालौं भनेको यसलाई अर्कै किसिमले लिनुभयो । हाम्रो मन्त्रालयको साथिहरुले अलि नकारात्मक किसिमले लिनुभयो । त्यो बेला सकारात्मक किसिमले लिइदिएको भए हुन्थ्यो । तर त्यो बेला अलिकति यसको विश्लेषण बुझाई ठिक तरिकाले हुन नसक्दा समस्या भयो ।

  • तपाई मन्त्रालयमा पोलिसि निर्माणमा बसेर पनि काम गर्नुभयो । यो संक्रमण बढ्दै जाँदा नीतिगत रुपमा सबै अलमल भयो होइन ?

म बस्दा मन्त्रालयले यसरी हेरेन । म मन्त्रालयमा दश वर्ष बसे । मन्त्रालयले रोग नियन्त्रणको काम गरेन । मन्त्रालयले विभागलाई भन्यो । विभागको कान निमोठनु निमोठ्यो, दौडाउनु दौडायो गालिपनि गरेहोलान । हामीलेपनि गालि गर्‍यौँ  । तर मन्त्रालयले आफै रोग नियन्त्रणको ठेक्का लिएन । अहिले स्वास्थ्य सेवा विभाग छ र त्यहाँ रोग नियन्त्रण महाशाखा पनि छ । उनीहरुलाई नै हामी परिचालन गथ्र्यौं र तिनलाई के चाहियो पैसा चाहिएको हो, समन्वय चाहिएको हो जे जे चाहिएको छ भन तर यो नियन्त्रण गर हामीले अरु केही जानेका छैनौं भन्थ्यौं । अब पहिला यो संघियता नहुँदाखेरीको अवस्थामा केन्द्रीकृत व्यवस्था हुँदाखेरी यहाँदेखि एउटा आदेश दिए हेल्थपोष्ट सम्म पालना हुन्थ्यो । त्यो र अहिलेको अलिकति फरक छ । तर मैले अहिले हेर्दा मन्त्रालयले सिधै रोग नियन्त्रणको काम आफ्नो जिम्मामा नलिएको भए राम्रो हुन्थ्यो । विभागलाई नै परिचालन गर्नुपथ्र्यो, स्वास्थ्य सेवा विभागको काम नै त्यहि हो ।

जेल विभाग बनाउने अनि गृह मन्त्रालय आफैले फेरी जेलको काम गर्ने भए त्यो त राम्रो भएन नी । गृहमा पनि जेल विभागलाई नै दौडाउनुप¥यो नी । उसैलाई परिचालन गर्नुपर्छ । त्यो चाहिं अलिकति नमिल्दो देखिन्छ । त्यसले पनि समस्या झन जटिल बनाएको हुनसक्ने सम्भावना म देख्छु ।

  • बाहिरबाट हेर्दाखेरी पहिलो घेरामा स्वास्थ्य मन्त्रालय अथवा स्वास्थ्य सेवा विभाग देखिनुपर्ने हामीकोमा सिसिएमसीको कारणले रक्षा मन्त्रालय अगाडि देखियो । कोभिड नियन्त्रणमा । यो आफैमा कत्तिको मिल्दो नमिल्दो हो ?

मैले त्यसलाई त्यसरी लिइन । मलाई त स्वास्थ्य मन्त्रालयले कुनै हालतमा छुट पाउँछ जस्तो लाग्दैन । तर आफुले यो काम नगरेर स्वास्थ्य सेवा विभागलाई परिचालित गर्नुपथ्र्यो । उनीहरुलाई एकदमै कडा तरिकाले निर्देशनात्मक तरिकाले परिचालन गरेको भए उहाँहरु अलिकति सुरक्षित हुनुहुन्थ्यो । अहिले के भयो भने स्वास्थ्य मन्त्रालय नै असफल हुन थालेको हो की त्यो स्वास्थ्य मन्त्रालय नै असफल भयो भने कसले हेर्नेहो त । सिसिएमसीको नाम नै समन्वय छ । समन्वय वालालाई हामीले धेरै केही भन्न सक्दैनौं । तर उहाँहरुले हवाई यातायात, स्थल यातायात, सीमामा वारपार गर्ने कुराहरुपनि जोडिएको हुनाले त्यो कामको स्वास्थ्य मन्त्रालयसँगको समन्वयका लागि प्रधानमन्त्रीले गठन गर्नुभएको होला । त्यो भन्दैमा सिसिएमसीको मुख हेरेर स्वास्थ्य मन्त्रालय बस्न पाइदैन, बस्नुपनि हुँदैन र त्यो कर्तव्यपनि होइन । दौडिएको दौडियै गर्नुपर्छ । तर त्यो दैडिएन जस्तो लाग्छ मलाई ।

  • विश्वमा धेरै लामो समयसम्म लकडाउन गरेका मूलुकमध्ये हामी पर्‍यौँ  । फेरीपनि हामीकोमा लकडाउनको बहस सुरु भएको छ । अब लकडाउन आवश्यकता हो या होइन ?

होइन । जुन बेलामा चीनको वुहानमा यो फैलियो त्यो बेलामा चिनियाँहरुलाई थाहा थिएन । यसको इन्कोभेसन पिरियड कति हो थाहा थिएन तर एउटा सम्भावित पिरियड त राखेका थिए । तरपनि यो १४ दिन हो कि होइन भन्नेमा उनिहरु निश्चिन्त थिएनन् । यो कुन भाइरस हो भन्नेमा धेरै उनीहरुमा जानकारी थिएन । यसको परीक्षण कसरी गर्ने हो भन्ने कुरामा त्यहाँ अलिकति समस्या थियो । मानिसहरु व्यापक रुपमा विरामी भइराखेका थिए । ठूलो संख्यामा भएका थिए । त्यस्तो अवस्थामा गर्नुपर्ने नै लकडाउन हो । अव त हामीलाई थाहा छ नी यो रोगको रोकथाम कसरी गर्ने हो भन्ने हामीलाई थाहा छ ।

यसको उपचार छैन भन्नेपनि थाहा छ । उपचार एकप्रकारले ज्वरो आएको बेलामा ज्वरोको औषधि लिने र खोकि लागेको बेलामा खोकिको औषधि खाने । लाक्षणिक उपचार मात्रै हो भन्ने थाहा छ । यसको खोप छैन भन्नेपनि थाहा छ । यसका लक्षणहरु के के हुन भन्ने पनि थाहा छ । यसको रोकथाम कसरी गर्ने भन्नेपनि थाहा भइसक्यो । त्यसो भएको हुनाले यो लकडाउनको कारण छैन । यस्तो अवस्थामा स्वास्थ्य संकटले आर्थिक संकट निम्त्याउँछ । आर्थिक संकट निम्तिएपछि सामाजिक र राजनीतिक संकट निस्किन्छ । यो देखिइसकेको छ । इबोलाले सेरालिओन र लाइबेरियामा के भयो त भन्दा सामाजिक र आर्थिक गिरावट भएका ठूलोठूलो लेखहरु प्रकाशित भएका छन् । त्यो पढ्ने हो भने दर्दनाक छ । मन्त्री भागेको छ त्यहाँ ।

बहालवाला मन्त्री डाक्टर र नर्सहरुको अवस्था देखेर आफु समेत बस्न नसक्ने भएर भागे, सचिवहरु भागे, सुरक्षाकर्मीहरु भागे, देश यस्तो अवस्थामा पुग्यो की बेहाल भयो । त्यस्तो संकट आइपर्छ । त्यस्तो आइपरेको हुनाले काठमाडौंमा अथवा कुनै सहरहरुमा संक्रमण सर्नुपछाडिको कारण के हो ? एक सय जना भर्ना भएका मान्छेलाई सोध्ने वित्तीकै थाहा हुन्छ । तपाई विगत १४ दिन भित्र कहाँकहाँ जानु भएको थियो । तपाईसँग कोेको मान्छे भेटन आएका थिए । कुनकुन होटेलमा गएर खानुभयो । यो सबै कुरा सोध्नुस न । एकसय जनालाई सोध्ने वित्तीकै थाहा भइहाल्छ । के बाट सरेको रैछ । कर कार्यालय गएको थिए कर तिर्न गएको थिए, वडा कार्यालयमा गएको थिए, मालमोतमा गएको थिए, यस्तै यस्तै कुरा आयो भने त्यहाँबाट सरेको रैछ भन्ने थाहा पायौं हामीले । त्यसलाई हामीले व्यवस्थित गर्नुपर्‍यो ।

  • कन्टयाक्ट ट्रेसिङ नै हामीकोमा एकदमै कमजोर भयो हो ?

यो हावाबाट सर्ने हो हेर्नुस, यसको कन्टयाक्ट ट्रेसिङ गाह्रो छ । त्यसपछि अहिले एयर बर्न भन्ने आएको छ । स्वासप्रस्वासबाट सर्ने रोगको औषधि अत्यन्त कठिन हो । यसको नियन्त्रण एकदमै मेहनत गर्ने हो भने । असम्भव होइन अलि धेरै मेहनत आवश्यक पर्ने हो । त्यसैलेपनि कन्टयाक्ट ट्रेसिङमा केही कमिकमजोरी त देखियो । अहिले फटाफट गरिराख्नु भएको छैन । अनि आज ५ हजार आयो भोली २ हजार पनि कहिं हुन्छ ? त्यो त सिधै नियन्त्रण तर्फ गयो भन्ने हो नी । ९ दिन १० दिन सम्म नमुनाहरु जम्मा गरेर राखेको छ कहाँकहाँका नमुनाहरु पर्दा ५ हजार आयो, अर्कोदिन २ हजार २२ सय आउँछ । यो त २४ घण्टाको ताजाताजा तथ्याङ्कहरु भयो भने बल्ल तपाईले भन्न सक्नुहुन्छ कि यो बढ्दो क्रममा छ कि घट्दो क्रममा छ के छ यसको स्थिति भनेर भन्न सक्नुहुन्छ । यो भएन ।

  • केही दिन अघि सरकारका प्रवक्ताले नागरिकले सरकारको आदेश अवज्ञा गरे अव सरकार कडा रुपमा प्रस्तुत हुन्छ भनेर कतै लकडाउनको संकेत गर्नुभएको हो कि जस्तो बुझिन्छ । यहाँले कसरी बुझ्नुभएको छ ?

यो अप्ठेरो कुरा हो । कसैलाई पनि यो लाग्न सक्छ । अहिले धेरै कर्मचारीहरु नै संक्रमित भइराखेका छन् । सुरक्षाकर्मिहरु संक्रमित भइराखेका छन् । उनीहरु पनि त नागरिक हुन । उनीहरु कसरी संक्रमित भए । त्यसमा उहाँले आफैले आफैलाई प्रश्न सोध्नुपर्‍यो । नेपाल सरकारको प्रवक्ताले आफैले आफैलाई सोध्न प¥यो । यहाँ नागरिकहरुको कुरा मात्रै आएन । त्यसैले यो मानविय व्यवहारसँग पनि सम्बन्धित विषय हो । मान्छेको व्यवहारले यो रोग सर्ने नसर्नेमा एकदमै ठूलो निर्णय गर्छ । त्यसो भएको कारणले हामीले यसलाई हल्का रुपमा लिनु हुँदैन । मेहनत धेरै गर्नुपर्नेछ । मानविय व्यवहार परिवर्तन भनेको असाध्यै गाह्रो छ ।

मैले पटक पटक भन्ने गरेको छु । चुरोट खाएर फोक्सोको क्यान्सर हुन्छ भन्ने कुरा सारा डाक्टरलाई थाहा छ । विस्तृतमा पढेको छ । साधारण एम्बिबिएस डाक्टरलाई थाहा छ । तर संसार भरिनै १५ प्रतिशत डाक्टरहरुले, चिकित्सकहरुले चुरोट खान्छन् । ज्ञान भएर हुँदैन । उसको धारणा परिवर्तन हुनुपर्छ । धारणा परिवर्तन भएपछि मात्रै व्यवहार परिवर्तनमा मान्छे अगाडि बढ्न सक्छ । त्यसो भएको हुनाले यो भनेको कठिन कुरा हो । कठिन कुरामा मेहनत गनुृपर्छ । यसमा नेपाल सरकारको मेहनत पनि त्यति धेरै परेको जस्तो लाग्दैन । मेहनत अझै बढाएर लाने हो भने आइसियुमा लाग्ने खर्च, भर्ना भएर विरामीलाई संक्रमणको परीक्षण गर्दा लाग्ने खर्च निकै घटेर जान्छ । खर्च गर्नैपर्ने त्यसमा थियो । हामीले गरेनौ त्यसमा ।

  • विज्ञका हिसाबले सरकारलाई के सुझाव दिनुहुन्छ ?

अहिले हेर्दा असफल भएको देखियो । अहिलेको जे जे रणनीतिहरु ल्याएको छ त्यो ठिक देखिदैन । स्वास्थ्य मन्त्रालयले अव नयाँ रणनीति ल्याउनुपर्‍यो । कानून पुगेको छैन भने कानून परिवर्तन गर्नुपर्‍यो । योजना नै रहिन्छ स्वास्थ्य मन्त्रालयको । हेल्थ सेक्टर इमरजेन्सी रेस्पोन्स प्लान मात्रै बनाएको रहेछ । खास चाहिने हामीलाई के थियो भने हेल्थ सेक्टर प्रिपियरनेस प्लान चाहिन्थ्यो । उहाँहरुले भुकम्पको योजना बनाउनुभयो । चाहिनेथियो हामीलाई सरुवारोग नियन्त्रण्को योजना अथवा रोकथामको योजना । यो सबैचिज विग्रको रहेछ । त्यसो भएको हुनाले यो विभागलाई पनि परिचालन गर्नुपर्‍यो । विभागलाई अहिले भन्दा धेरै अधिकार दिएर तपाईहरु अगाडि बढ्नुस हामी तपाईहरुलाई के के चाहिन्छ सहयोग गछौं भन्नुपर्‍यो । अहिलेको रणनीति नबदल्ने हो भने अझ यो भन्दा धेरै भयाभहको स्थिति हुन्छ । अहिलेको रणनीतिहरु बदल्नुप¥यो । योजनाहरु बनाउनु पर्‍यो। अलिकति हाम्रो तयारी पुगेन । यो तयारीलाई बढाउन तिर लाग्नुपर्‍यो ।

काठमाडौंमा त कमसेकम घरभाडामा लिन खालि घर छन् । उत्तरी गोरखा, उत्तरी मनाङ, उत्तरी हुम्ला हो भने के गर्नेहो । हामीले कसरी त्यहाँ व्यवस्थापन गर्ने हो विरामीको । त्यसो भएकोले ठूलो संकटको अवस्था आउन सक्छ । त्यसो भएको हुनाले हामीले अलिकति तयारी रोकथाम, काठमाडौंमा खासगरी परीक्षण गर्न पाइन्छ । अझ के भयो भने पीसीआरको पैसा अझै धेरै भयो । सरकारी अस्पतालहरुले २ हजार रुपैयाँ लिएको अन्याय हो । निजीले लिन्छन होला मैले ख्याल गरेको छैन् । ५ देखि ७ सय रुपैयाँमा परीक्षण हुन्छ भने त्यसलाई २ हजार रुपैयाँ लिने नाजायाज हो ।

सरकारले परल मूल्य मात्रै लिने हो । तपाई साढे सात सय रुपैयाँ गराईदिनुहोस बस चढदा खेरी यहाँ देखि गजुरी जान प¥यो साढे सात सयको पीसीआर टेस्ट देखाउनै पर्ने गरिदिनुस । यहाँबाट हवाईजहाज चढनुपर्‍यो पीसीआरको टेष्ट देखाउनै पर्ने भन्नुस । बिहेको निम्तोमा जादा समेत पीसीआरको टेष्ट गरेर मात्रै जान पाउने व्यवस्था गर्नुपर्छ । त्यहाँ चाहिं प्रहरी खटाएर पीसीआर टेष्ट ७२ घण्टा यताको रिपोर्ट हेर्ने व्यवस्था मिलाउनुप¥यो । एउटा पीसीआर गरेपछि १४-१५ दिन सम्म त्यसको मिति नसकिने बनाउनु प¥यो । यो गर्नेहो भने जुन संक्रमित नभएका लक्षण नभएका मानिसहरुबाट रोग सरिरहने होइन नी अहिले । त्यो नियन्त्रण हुने सम्भावना देखिन्छ ।

  • अब चाडपर्वपनि आउँदैछन् । दशैंमा मानिसहरुको आवागमन बढी हुन्छ । नागरिकले सचेतता अपनाउनुपर्ने कहाँकहाँ हो ?

अब स्वास्थ्य मन्त्रालयका प्रवक्ताले, सरकारका प्रवक्ताले जहाँ छौं त्यहिं बस्न भन्नुभएको छ । यहिं बस्नलाईपनि गाह्रो छ । चाडपर्वको बेलामा विदेशमा भएका बेलामा दशैं आयो भने मन त्यहाँ विदेशमा हुँदै हुँदैन । अब यहाँ बसेको मान्छे धादिङमा नजा, नौबिसे नजा, काभ्रेको पाँचखाल नजा भनेर यहाँ बस्छ र ? सबैभन्दा बेसी मान्छे यहिं नजिकका जिल्लाका काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, धादिङ, मकवानपुर, चिनवन, रसुवा, नुवाकोटका होलान यहिं नजिकै छ मोटरसाइकल लिन्छन एकैछिनमा पुगेर आउँछन् । पुगेर टिका लगाएर फर्किन्छन् ।

उहाँहरुलाई भन्ने के हो भने तपाईहरु घरमा जान चाहिं जानुहोस अलग्गै सुत्नुस । एकप्रकारकै क्वारेन्टाइनकै व्यवस्था गरेर घरमै बस्नुस, मास्क लगाएर खुला ठाउँमा, खुला हावामा बसेर टिका लगाउनुस, धेरै मान्छे एकैपटक जम्मा नहुनुस, थोरै मान्छे जम्मा हुनुस, खानपिन अलि परपर बसेर दुई तीन मिटरको दुरी कायम गरेर मात्रै गर्नुस, घरमा बसिराखेका मान्छेहरुसित तपाईहरु घुलमिल नहुनुस । घुलमिल नहुनुभयो भने उहाँहरुलाई तपाईहरुलाई यो रोग लाग्नबाट बचाउनुहुन्छ भनेर अनुरोध गर्न सकिन्छ होला । यति वहाँहरुले पालना गरिदिनुभयो भने काठमाडौं बाहिर प्रकोप निकै कम हुन्छ । एकप्रकारले क्वारेन्टाइनकै हिसाबले बस्नुस भन्दिएपनि पुग्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?