आज प्रदेश ५ मा सरकार विस्तार हुँदै, ३ मन्त्री थपिँदै

बुटवल, ५ चैत । ५ नं. प्रदेशमा आज सरकार विस्तार हुँदैछ । प्रदेश ५ को मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी थालिएको हो ।प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले बताए अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ ।नेकपा एमालेले दुई मन्त्रीको टुंगो लगाएको छ । ५ नं. प्रदेशको संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले गिरीलाई सामाजिक विकास तथा सहकारी र पौडेल कृषि मन्त्री बन्ने बताइए पनि मन्त्रिपरिषद् कार्यालयले यसबारे केही जानकारी दिएको छैन ।लिला गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बाँके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद् हुन् ।त्यस्तै, माओवादी केन्द्रले सुदर्शन बराललाई मन्त्री बनाउने तयारी गरेको छ । बराल गुल्मी १ ‘क’ बाट निर्वाचित सांसद हुन् । बरालले कुन मन्त्रालय सम्हाल्नेबारे औपचारिक टुंगो नलागे पनि उनले उद्योग तथा पर्यटक मन्त्तालयको जिम्मेवारी सम्हाल्ने सम्भावना रहेको बताइएको छ ।यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?