काठमाडौं । नवरात्रको पाँचौ दिन दशैँघर वा पूजाकोठामा नौदुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजाराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौ दिन स्कन्दमाताको विधिपूर्वक पूजाराधना गरिन्छ ।
नवरात्रको पहिलो दिन कात्तिक १ गते दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएका स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणीलाई आह्वान गरी विधिपूर्वक पूजाराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको निष्ठाका साथ पूजाराधना गरियो । चौथो दिन मङ्गलवार कुष्माण्डाको विधिपूर्वक पूजाराधना गरिएको थियो ।
पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएका स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।
पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा कथा वर्णन गरिएको छः कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् ।
पार्वतीले ऋषिलाई ऊँटको योनिमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनि प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु र मलाई यस योनिमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् । ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन्, ‘ऋषिजी, तपार्इँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्व नबुझी मैले दिएको श्रापबाट मलाई ठूलो पश्चात्ताप छ, अब म तपाईलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु ।’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ ।
स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।
दुर्गा पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । यिनै दुर्गाका नौ रुपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजााराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ जहाँ भक्तजन पुग्ने गरेका छन् । कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान तथा खानपिन गरी दशैँतिहारजस्ता चाड पर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया