काठमाडौं । नेपाल राष्ट्र बैंकले भने आर्थिक वर्ष २०७७/७८ को पहिलो २ महिना अर्थात साउन र भदौ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थिति सन्तोषजनक रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
पछिल्लो समय कोरोना महामारीले देशको अर्थव्यवस्थालाई संकटमा धकेलिरहेको आम जनमनासले महसुस गरिरहँदा राष्ट्र बैंकले भने वित्तिय स्थिती राम्रो भएको तथ्यांक सार्वजनिक गरेको हो ।
बाहिरि बजारमा विशेषगरि तरकारीको मूल्य बढेको आम सर्वसाधारणको गुनासो आइरहँदा राष्ट्र बैंकले वार्षिक विन्दुगत आधारमा, उपभोक्ता मूल्य सूचांकमा आधारित मुद्रास्फिती ४.५२ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
साथै आयात २२.१ प्रतिशतले ओरालो लागेको छ भने निर्यात १०.५ प्रतिशतले उकालो लागेको देखाएको छ । यसले व्यापार घाटालाई केहि न केहि टेवा पु¥याएको छ । भदौ मसान्तसम्म विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भएको छ भने शोधनान्तर स्थिती ६७ अर्ब ६३ करोडले बचतमा रहेको छ । राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार भदौ मसान्तसम्म राष्ट्र बैंकसँग कुल विनिमय सञ्चिती १२ अर्ब २० करोड अमेरिकी डलर रहेको छ ।
अर्थिक वर्ष २०७७÷७८ को पहिलो २ महिनाको अन्त्यसम्म आईपुग्दा संघीय सरकारको खर्च ५३ अर्ब ५५ करोड र राजश्व परिचालन १०५ अर्ब ३७ करोड रहेको छ । भदौ अन्तिमसम्म विस्तृत मुद्रा प्रदायक ०.९ प्रतिशतले वृद्धि भएको छ भने वार्षिक बिन्दुगत आधारमा मुद्रा प्रदायक १९.४ प्रतिशतले वृद्धि भएको छ ।
तर तथ्याङकमा नेपालको वित्तिय स्थिति सन्तोषजनक देखिए पनि बैंक तथा वित्तिय संस्थाको निक्षेप संकलन र निजी क्षेत्रतर्फको कर्जा प्रवाह भने विस्तार हुन सकेको छैन् । जस्को अर्थ अझै पनि बैंक तथा वित्तिय संस्थामा अधिक तरलताकै समस्या रहेको प्रस्ट देखाउँछ ।
समिक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजारबाट अमेरिकी डलर ७१ करोड ५१ लाख खुद खरिद गरी ८५ अर्ब २७ करोड तरलता प्रवाह गरेको छ अधिल्लो वर्षको सोहि अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ४६ करोड ७ लाख खूद खरिद गरी ५२ अर्ब ४६ करोड तरलता प्रवाह गरेको थियो ।
वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर १८.७ प्रतिशत र निजि क्षेत्र माथिको दावीको वृद्धिदर १०.३ प्रतिशत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया