काठमाडौं । धर्मराज युधिष्ठिरले भगवान् मुकुन्दसित जिज्ञासा राख्नुभयो–हे भगवन ! आश्विन शुक्लपक्षको एकादशीको नाम के हो ? अब हजुरले कृपा गरी यसको विधि तथा फल के हुन्छ बताउने कष्ट गर्नुहोस् । भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो–हे युधिष्ठिर ! पापसमूहको नाश गर्ने सामर्थ्य भएको यस एकादशीको नाम पापांकुशा एकादशी हो । हे राजन ! यस दिन मनुष्यले विधिपूर्वक भगवान पद्मनाभको पूजा गर्नुपर्छ ।
यो एकादशीले मनुष्यलाई मनोवाञ्छित फल दिएर स्वर्ग प्राप्त गराउँदछ । मनुष्यले लामो समयसम्म कठोर तपस्याबाट जुन फल प्राप्त गर्दछ, त्यो फल भगवान गरुडध्वजलाई नमस्कार गर्नाले प्राप्त हुन्छ । जो मनुष्यले अज्ञानवश अनेक पाप गर्दछ परन्तु भगवान् हरिलाई नमस्कार गर्दछ, त्यसले नरकमा जानु पर्दैन । विष्णुको नामको संकीर्तनबाट संसारका सबै तीर्थका पुण्यफल प्राप्त हुन्छ ।
जो मनुष्यले शार्ङ्ग धनुषधारी भगवान विष्णुको शरण लिएको छ, त्यसले कहिल्यै पनि यमयातना भोग्नु पर्दैन । जो मनुष्य वैष्णव भएर शिवको र शैव भएर विष्णुको निन्दा गर्दछ, ति अवश्य नरकवासी हुन पुग्छन् । हज्जारौँ वाजपेय र अश्वमेध यज्ञबाट जुन फल प्राप्त हुन्छ, त्यो एकादशीको व्रतको सोह्र भागको एक भाग पनि होइन । संसारमा एकादशीको समता हुने कुनै पुण्य छैन ।
यस एकादशी बराबरको पवित्र वस्तु तीनै लोकमा केही पनि छैन । यस एकादशी बराबरको कुनै व्रत छैन । जबसम्म मनुष्यले पद्मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन्, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ । हे राजेन्द्र ! यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुन्दर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ ।
एकादशीको व्रतको समानता गंगा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन् । हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ । हे युधिष्ठिर ! यस व्रतलाई विधिपूर्वक लिने व्यक्तिले दस पुस्ता मातृपक्ष, दस पुस्ता पितृपक्ष, दस पुस्ता स्त्रीपक्ष तथा दस पुस्ता मित्रपक्षको उद्धार गर्दछ ।
ऊ दिव्य देह धारण गरी चतुर्भुज रूप भई, पीताम्बर पहिरिएर र हातमा माला लिएर गरुडमाथि बसेर विष्णुलोक जान्छ । हे नृपोत्तम १ बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्गति प्राप्त गर्दछ । आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ । सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन ।
जो मनुष्यले कुनै प्रकारको पुण्य कर्म नगरी जीवनका दिन व्यतित गर्दछ,त्यो निर्जीव समान हुन पुग्छ । निर्धन मनुष्यले पनि आफ्नो शक्ति अनुसार दान गर्नु पर्दछ तथा धनयुक्तले त सरोवर, बगैँचा, घर आदि बनाएर दान गर्नु पर्दछ। यस्तो कर्म गर्ने मनुष्यले यमलोकको द्वार कहिल्यै पनि देख्नु पर्दैन तथा संसारमा दीर्घायु भएर धनाढ्य, कुलीन र रोगरहित हुन पुग्छ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया