काठमाडौं । वार्षिक रुपमा नेपालीहरुले धेरै पर्वहरु मनाउने गर्दछन् । यसरी मनाइने पर्वका आ-आफ्नै विषेशताहरु रहेका छन् । नेपालीहरुले खास महत्त्व दिने पर्वहरु मध्ये तिहार पनि एक हो । तिहारलाई उज्यालाको पर्व, फूलहरुको पर्व पनि भन्ने गरिन्छ नेपाली समाजमा ।
तिहारमा बत्ती, रङ तथा फूलको विशेष महत्व हुन्छ । यस पर्वमा यस्ता सामग्रीले घर सजाउने गरिन्छ । त्यो मध्ये तिहारको मुख्य विषेशता साथै आकर्षणको पक्ष हो ‘रङ्गोली’ । रङ्गोली बनाएर पनि तिहारको उत्सव मनाइन्छ । भलै रङ्गोली हाम्रो छिमेकी राष्ट्र भारतबाट भित्रिएको संस्कृति हो तर, आजभोलि नेपालीहरुले पनि यसलाई खुब चाख देखाएर बनाउँछन् । नेपालको तराई क्षेत्रमा भने घर सजाउन तथा उत्सव मनाउन प्राचीन समयदेखि नै रङ्गोली बनाउने परम्परा छ । अहिले पहाड तथा हिमाली क्षेत्रमा पनि लोकप्रिय बन्दै गएको छ रङ्गोली। पहिले–पहिले घरको ढोकामा चामल, पीठोले रङ्गोली बनाउने गरिन्थ्यो ।
समयसँगै रङ्गोली बनाउने कला तथा सामग्रीमा परिवर्तन हुँदै गएको छ । साथै, अचेल तिहार तथा विशेष रूपले आयोजना गरिने कार्यक्रममा पनि रङ्गोली बनाउने गरिन्छ । रङ्गोलीलाई एकदमै शुभ मानिन्छ । देवी महालक्ष्मीलाई घरमा आमन्त्रण गर्न रङ्गोली बनाउने गरिएको सामाजिक मान्यता छ । साधारणतय रङ्गोली रङको पाउडरबाट बनाइन्छ । यसैगरी फूल, जरी पाउडर, काँक्रोलगायतको बियाँ तथा चामलबाट पनि रङ्गोली तयार पारिन्छ । कतै–कतै साबुदानालाई अलगअलग रङले रङ्ग्याएर पनि रङ्गोली बनाइएको देखिन्छ ।
रङ्गोली बनाउने तरिकाहरु फरक फरक किसिमका हुने गर्छन् । तर हामीलाई सजिलो तरिकाबाट कसरी रङ्गोली बनाउने भन्ने कुरा थाहा नहुन सक्छ ।
तर, हामीले घरमै सहज तरिकाले रङ्गोली बनाउन सक्छौँ । त्यसको लागि सेतो पीठो सहित विभिन्न रंगहरुको प्रयोग गर्न सकिन्छ ।
कसरी बनाइन्छ त रङ्गोली ?
रङ्गोली बनाउनको लागि सर्वप्रथम सेतो रङलाइ आवश्यक्ताअनुसार भुइमा गोलाकार तरिकाले पोत्नुपर्दछ । त्यसपछि त्यो सेताकार रङ्गको साइडमा रातो, पहेँलो , प्याजी, हरियो तथा आवश्यक्ता अनुसारका रङ्गहरुलाइ भित्र मिलाएर एकले अर्कोलाइ नछोइने गरी साना साना गोलाकार बनाएर राख्ने । यसरी राखिएको विभिन्न रङ्गको थुप्रोहरुलाइ हरियो रंगले मसिनो धर्को बनाएर जोडिदिने । यसरी राखिएको थुप्रोहरुको बीचबीचमा फूलको आकार दिने । र शुरुमा बनाएको सेतो रंगको थुप्रोको बिचमा गोलाकार भाग बनाउने र त्यो गोलाकार भागभित्र कुनै एक रंगलाइ राख्ने । त्यसलाइ सुर्यमुखी फूलको आकार दिने ।
सबैभन्दा छेउ छेउको भागमा भने करिब तिन चार वटा रङलाई मिलाएर एउटा रङ्गको दुइतिनका दरले मकैका दाना जस्ता थुप्रा बनाएर शुरुमा बनाइएको सेतो रङ्गको गोलाकार भागलाइ ढाकिदिने ।
करिब दुइपटक त्यसरी ढाकिदिएपछि त्यो भन्दा बाहिर फरक-फरक दुई-दुई वटा रङ्गबाट सवैभन्दा बाहिरी भागमा सूर्यमुखी फूलको पातको आकार बनाउने ।
र, त्यति गरिसकेपछि त्यसलाइ हातले नै विभिन्न किसिमका बुट्टाहरु बनाउने ।
आफूलाइ मन लागेको बुट्टाहरु भरेर हामी रङ्गोलीको निर्माण गर्न सक्दछौ ।
यसरी रङ्गोली बनाउँदा रङहरुलाई एकदम सावधानीका साथ मात्रा मिलाएर राख्नुपर्दछ । यद्यपी मात्रा नमिलाएको खण्डमा हामीले बनाउन खोजेजस्तो रङ्गोली निर्माण हुन सक्दैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया