प्रतिभा मालीको ‘बेड रेस्ट’को ९ महिना: कोर्टमा दौडिरहने उनी जब बैशाखीको सहारामा हिँड्नुपर्‍यो

काठमाडौं । गएको वर्ष २०७६, माघ १० गते, शुक्रवार । काठमाडौंको त्रिपुरेश्वरस्थित कबर्ड हल । भलिबल खेलाडी प्रतिभा माली पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्दै थिइन् ।

न्यू डायमण्ड स्पोर्ट्स क्लब र एपीएफ क्लब बीचको प्रतिष्पर्धा चल्दै थियो ।

तेस्रो सेटको दौरान । माहोल निकै गर्माएको थियो । दर्शकदिर्घामा उत्साह थियो । उनीहरु आफ्नो टिमलाई जिताउन हौसलास्वरुप निरन्तर सिट्टी तालि र हुटिङ गरिरहेका थिए ।

यसैबखत एपीएफविरुद्ध स्पाइक गर्ने क्रममा प्रतिभा कोर्टमा बेस्सरी पछारिईन् । रेफ्रिले सिट्टी फूके । तत्काल मेडिकल टोलीले उनलाई स्ट्रेचरमा राखेर कोर्ट बाहिर लग्यो । माहोल स्तब्ध बनयो । उनलाई घुँडामा निकै दुखाई अनुभुति भयो । लगत्रै उनलाई थप उपचारको लागि नजिकै रहेको ब्लू क्रस हस्पिटल पर्‍याईयो । ७ वर्षे खेल करिअरमा कहिल्यै त्यतिधेरै दुखाई महश्स नगरेकी प्रतिभा पीडाले छट्पटाईरहिन् ।

यो पनि पढ्नुहोस् : एपीएफविरुद्धको फाइनल खेलमा प्रतिभा घाइते

प्रतिभालाई घुँडाको चोटले भन्दा अझ पीडा त्यो खबरले दियो जब उपचारमा संलग्न डाक्टरले सुनाए चोट ठिक हुन कम्तिमा एक वर्ष लाग्छ । “त्यसबखत म निकै आत्तिएँ । अस्पतालको बेडमा सुतिरहेकी मलाई निकै नरमाईलो लाग्यो ।” उनी विगतका ति दिन स्मरण गर्छिन् ।

भावुक हुँदै उनी विगतमा फर्किईन्, “घुँडाको चोटसँगै एक वर्ष कोर्ट बाहिर बस्नुपर्ने पीडाले मलाई शब्दमा भन्नै नसकिने छटपटी भयो ।”

अस्पतालबाट घर फर्केपछिका ति दिन :

१३ वर्षको उमेरमै आफ्नो प्रतिभा प्रस्तुत गरेर निकै चर्चामा रहिरहेकी प्रतिभालाई भलिबल खेल जीवनमा प्रवेश गरेदेखि कहिल्यैपनि फर्केर हेर्नुपरेन । तर घुँडाको घाउसँगै मनमा लागेको चोटले उनलाई टुर्नामेन्टहरु चलिरहेको ठाउँमा पर्‍याउँथ्यो । भलिबलसँगको प्रेमले उनी घरीघरी भावुक हुन्थिन् । अनि घुँडाको घाउ नियालेर सम्हालिन्थिन् ।

बिहान नित्यकर्मपछि कलेज जाने, कलेजबाट घर फर्कीएपछि घरको कामहरु सघाउने, भलिबल अभ्यासका लागि स्कुल जाने, कलेजका होमवर्कहरु गर्ने दैनिकीमा अभ्यस्त प्रतिभा एउटा बैशाखीको सहारामा यताउता टहल्न मात्रै सक्थिन् । शल्यक्रिया पछिको २-३ महिनासम्म त बैशाखीको साहारामा हिड्नुपर्‍यो, राम्रोसँग हिँड्न पनि नसक्ने अवस्थाको बिरामी त्यसमाथि खुट्टा सहज रुपमा खुम्च्याउन नसक्ने कारण उठबस गर्नै समस्या हुन्थयो । शौचालय जानुपर्दा, महिनावारीको समयमा अझ बढी अप्ठेरो भयो । निकै नै कष्टकर थियो त्यो समय ।

कोर्टमा यताउता दौडिरहेकी खेलाडी घुँडाको गहिरो चोटले थलिएकै बखत विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को महामारीबाट बच्न सावधानीस्वरुप सरकारले लामो लकडाउनको नीति लियो । त्यसपछि खेल गतिविधिहरु ठप्पै भए । लकडाउनको ३ महिना कहिँकतैपनि प्रशिक्षण भएको खबरसम्म पनि सुनिएन । एक वर्ष बेड रेस्टमा बस्नुपर्छ भनिएको एउटा प्रतिभावान् खेलाडीलाई अनिवार्य आराम गर्नुपर्ने बाध्यता आईलागेकै बखत यी सबै संयोग मिल्यो ।

टुर्नामेन्टहरु मिस्ड गर्नुनपरेको प्रसंग सुनाउँदै भनिन्, “कोरोना महामारी पनि आउनु, खेल गतिविधिहरु नै बन्द हुनु र म पनि बेड रेस्टमा बसेको बेला परेकाले मैले खासै धेरै टुर्नामेन्टहरु मिस गर्नु परेन । एक हिसाबले व्यक्तिगत रुपमा भनौँ न मलाई फाइदा नै भयो ।” उनी मुस्कुराईन् ।

लकडाउनले उनलाई अर्को पनि सहजता थपिदियो । मैले घरमा एक्लो महशुस गर्नुपरेन । लकडाउनका कारण सबैजना घरमा नै हुनुभयो । उनले खुसी साटिन् ।
बाँकी समय कसरी कटाउनुभयो ? भन्ने लोकपथको प्रश्नमा उनले भनिन्, “घरमा पनि समय राम्रोसँग नै बित्यो । भलिबलका म्याचहरु हेर्ने, अनलाइन क्लासहरु लिने, मुभिजहरु हेर्ने, भाइ बहिनिहरुसँग गफगाफ गर्ने, पढ्ने र फिजियो थेरापीहरु गरेर मैले मेरो समय बिताएँ ।”

Image may contain: 1 person, playing a sport

घुँडाको गम्भिर चोटले थलिएकी उनलाई विभिन्न व्यक्ति र संघसंस्थाबाट सहयोग प्राप्त भयो । “राष्ट्रिय खेलाडी कल्याणकारी कोष, राष्ट्रिय खेलकुद परिषद्, भलिबल संघका पदाधिकारी, रेफ्री, हेल्प नेपाल स्पोर्ट क्लब, खेलाडीहरु र सर्पाेटरहरुको आर्थिक सहयोगले उनलाई निकै ठूलो राहत महशुस भयो ।”

एकातिर कोरोना महामारीको जोखिम झनै बढ्दै जानु अर्कोतिर बेड रेस्टमा बसीरहेका कारण उनी औपचारीक रुपमा अभ्यासमा फर्कीसकेकी छैनन् । तर पछिल्लो केहि दिनयता बिस्तारै दिनको केही घण्टा वार्म अपका लागि दिईरहेकी छिन् ।

फ्ल्यास ब्याक टू स्कुल :

औसत केटीभन्दा बढ्ता उचाई अनि खाइलाग्दो ज्यान । यही कारण उनलाई स्कुलको भलिबल टिममा समावेश गरिएको थियो । आफ्नो किशोरावस्थाको प्रारम्भदेखि नै भलिबल खेल्न शुरु गरेकी प्रतिभाले खेलमा यो किसीमको सफलता पाउँछु भन्ने कल्पनासम्म गरेकी थिइनन् । स्कुले दिनहरु सम्झिँदै प्रतिभा भन्छिन् स्कुलमा हुने खेलकुद लगायतका कार्यक्रममा सहभागी भइरहन्थेँ । त्यतीबेला मलाई खेल्नुसँग मात्रै मतलब थियो । तर अहिले भलिबल मेरो रगतमा भलिबल छ । उनले १३ औँ सागमा नेपाललाई रजत पदक जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिईन् ।

अब कोर्टमा फर्कँदा पूरानो उर्जासहित फर्कनेछु । उनी निर्धक्क सुनिन्छिन् ।  अन्तिममा उनले थपिन्, मलाई माया साथ हौसला, सहयोग गर्नुहुने सबैमा धन्यवाद् । हजुरहरुको साथ सदैव मिलि राखोस् ।

यो पनि पढ्नुहोस् : प्रतिभा माली एक वर्ष कोर्ट बाहिर !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?