फलामखानीमा आगलागी शिवबहादुर अचेत

फलेवास, पर्वत, ५ चैत – महाशिला गाउँपालिका वडा नं ६ फलामखानीमा आइतबार राति भएको आगलागीबाट रु १९ लाखभन्दा बढीको क्षति हुँदा स्थानीयवासी शिवबहादुर क्षेत्री अचेत छन् ।घरमा लागेको आगलागीबाट घर र गोठ जलेर पूर्णरुपमा नष्ट भएको भएको र ब्याउने दुई भँैसी र दुई गोरुसमेत मरेका छन् । घरमा जोडिएको विद्युत प्रवाह हुँदा फैलिएको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा घर, धन्सार र चौपायासमेत क्षति भएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । उक्त घरमा ६२ वर्षीय क्षेत्रीका तीन जनाको परिवार बस्दै आएका थिए ।क्षत्रीको परिवार अहिले आफन्तकामा आश्रय लिएर बसेका छन् । घरमा रहेका लत्ताकपडा, अन्नपात र नगदसमेत पूर्णरुपमा नष्ट हुँदा ठूलो विपत्ति निम्तिएको उच्चैले जानकारी दिनुभयो । उद्धारका लागि गाउँपालिकाका पदाधिकारी र इलाका प्रहरी कार्यालय लंखुदेउरालीबाट प्रहरीको टोली पुगेको छ भने गाउँपालिका अन्नपात, त्रिपाल र नगद सहयोग गर्ने तयारीमा रहेको उच्चैले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?