त्रिविद्वारा दीक्षान्त समारोहमा सहभागी हुन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ ।

त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेष्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्र्तीण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ ।

आवेदन फाराम अनलाइनबाट आउँदो मङ्सिर १ गतेभित्र भरिसक्ने भनिएको छ ।

समारोहमा भाग लिनका लागि स्नातक तहले तीन हजार ७०० रुपैयाँ, स्नातकोत्तर तह र एमफिलले चार हजार २०० रुपैयाँ र विद्यावारिधिले चार हजार ७०० रुपैयाँ शुल्क बुझाउनुपर्ने छ ।

तीमध्ये एक हजार ५०० रुपैयाँ धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो । समारोहमा सहभागी हुन चाहने विद्यार्थीले दुई जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् । गत वर्ष भएको दीक्षान्त समारोहमा नौ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?