काठमाडौं । तपाईको भान्सामा के पाक्दैछ ? आज हामी तपाईलाई बहुगुणी निगुरोका फाईदाबारे जानकारी दिँदैछौँ ।
वर्षा लागेपछि जंगलमा प्रशस्त पाईने उन्यु प्रजातिको घाँस हो- निगुरो। यसलाई तरकारीको रुपमा प्रयोग गरिन्छ । नेपालीको सायदै यस्तो भान्सा होला, जहाँ निगुरो पाकेको छैन ।
वर्षायाम लागेसँगै कतिले वनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । जानकारहरु भन्दछन्, तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।
निगुरोलाई कतिपय ठाउँमा न्यूरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । तराईमा चाहिँ हरियो ।
वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन । अर्थात यो पूर्णत जैविक हुन्छ । तर पछिल्लो समय निगुरो व्यवसायिक रुपमा पनि खेति गरिन्छ । यसमा केही प्राङ्गारिक मल प्रयोग गरिन्छ ।
अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ । व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासायनिक मल, किटनाशक औषधी प्रयोग गरिन्छ । यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसयान वा विषादी मिसाउने गरिन्छ ।
निगुरो स्वास्थ्यको लागि निकै फाइदाजनक छ । पोषणविद्हरुले दिएको जानकारी अनुसार निगुरो पौष्टिकताले भरिपूर्ण छ। निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेकोले कमसेकम हरेक हप्ता १० दिनमा भान्छामा समावेश गर्न उनीहरु सुझाव दिन्छन् ।
पोषणविद्हरु भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरु बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन ।”
पोषणविद्हरुले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाईने भएकाले कुनैपनि किसिमको हानी नहुने प्रष्ट्याएका छन् ।
तर सावधान निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन । कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ । निगुरोको तरकारी टिपेर खाँदा कतिपय विरामी परेको खबर पनि बारम्बार आउने गर्छ । त्यसैले आफुले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ । एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया