काठमाडौं- काठमाडौंमा दिनप्रतिदिन कोरोना महामारीको जोखिम बढीरहेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४२८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ६३० जना महिला र ७९८ जना पुरुष संक्रमित थपिएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले १५ हजार ९८२ एक्टिभ केस रहेको जनाएको छ भने ५६ हजार ९४६ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा २७५ जनाको मृत्यु भएको छ भने ७३ हजार २०३ जनालाई संक्रमण भएको छ । काठमाडौंमा मात्रै ११ हजार ६५१ जना होम आइसोलेसनमा रहेका छन् ।
भक्तपुरमा १ हजार १४३ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५ हजार ३८३ जना निको भएका छन् । त्यस्तै हालसम्म ७२ जनाको मृत्यु भएको छ भने भक्तपुरमा १ हजार ८१४ जना होम आइसोलेसनमा रहेका छन् । हालसम्म भक्तपुरमा ६ हजार ५९८ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै ललितपुरमा अहिले १ हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् । ८ हजार २७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६८ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । हालसम्म ललितपुरमा १० हजार ३५४ जनालाई कोरोना संक्रमण भएको छ ।
सोमबार २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १२६ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।
चिसो बढेसँगै संक्रमण दर बढ्नेमा विज्ञको चिन्ता
कोरोना सङ्क्रमणको दर दिन प्रतिदिन बढिरहेको, यसविरुद्धको भ्याक्सिन तथा औषधि नआएको र झण्डै एक वर्षदेखि अस्तव्यस्त भएको जीवनयापन सुचारु गर्ने तरखरमा रहेका बेला मौसममा आएको स्वभाविक परिवर्तनले पनि यतिबेला धेरैलाई चिन्ता थपेको छ । यो मौसमले निमोनिया दम जस्ता रोगीहरुको लागि सताउने भएतापनि कोरोनाको जोखिम बढाउने भएकोले नेपालीको लागि अझै घातकसिद्ध हुनसक्ने विज्ञले बताएका हुन् । चिसोयाममा सङ्क्रमण थप बढ्न सक्ने देखिएको छ । चिसो मौसममा कोरोना सङ्क्रमणका जीवाणु लामो समयसम्म जिवित रहने भएकाले सङ्क्रमण थप बढ्न सक्ने भन्दै थप सर्तकता अपनाउन जनस्वास्थ्यविज्ञ सुझाउँछन् । दशैँलगत्तै दिनभरको मौसम न्यानो भएतापनि घाम लागे पनि साँझ बिहान चिसो बढीरहेको छ ।
केहि मुलुकहरुले कोरोनाको कहरकाबीच जाडोयाम खेपे । त्यसबेलाको अवस्था निकै भयावह भएको उनीहरुको तथ्याङ्कले देखाउँछ । विभिन्न (फरक भूगोल, बसोबास र परिस्थिती भएका मुलुकहरु) जहाँ जाडोयाममा कोरोनाको कहर बढेको थियो । शोध र अध्ययन र अनुसन्धानबाट गर्मियाममा भन्दा तुलनात्मक रुपमा जाडोयाममा कोरोनाको जोखिम अझै बढ्ने विज्ञहरुले बताएका छन् । उनीहरुले कोरोना कहरबाट बच्न जाडोयाममा अझै विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन् ।
जाडोबाट बच्न घर वा कार्यालयका झ्यालढोका बन्द गरिँदा हावा राम्ररी ओहोरदोहोर गर्न पाउँदैन । एकै ठाउँमा धेरै जना बस्दा यदी कसैलाई संक्रमण रहेछ भने त्यो फैलिने सम्भावना बढी रहने उनीहरुको भनाई छ । त्यसैमाथि स – साना बालबालिका जाडोयाममा आफ्ना वृद्ध हजुरबुवा हजुरआमासँग आगो ताप्न बस्न, लुटपुटीन मन पराउने, जाडोका कारण सामुहिक रुपमा आगो ताप्न बाहिर जम्मा हुने, मानिसले सरसफाईमा धेरै ध्यान नदिने जस्ता क्रियाकलाप गर्दा कोरोना भाइरस चिसोयाममा सतहमा धेरै बेरसम्म जीवित रहने संभावना रहन्छ । जाडोबाट बच्न मानिसहरु समुहमा जम्मा हुने, चिया पिउने, गफगाफ गर्ने, चोकमा उभिएर पारिलो घाम कुर्ने, सार्वजनिक स्थालमा बस्न मन पराउने गर्दछन् ।
नेपालको सन्दर्भमा कुराकानी गर्नुपर्दा जाडोयाममा सार्वजनिक सवारीमा समेत बढी नै मानिस कोचाकोच गरिएको हुन्छ ।
यस्तो अवस्थामा हावाको आवतजावत गर्ने राम्रोसँग हुन पाउँदैन । भौतिक दूरी कायम हुन पाउँदैन । यस्तो अवस्थामा कोरोना संक्रमण जोखिम अझै बढ्ने जनस्वास्थ्य विद्को ठम्याई छ ।
स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवम् भाइरोलोजिस्ट डा बासुदेव पाण्डेले जाडोयाममा कोभिडसँगै मौसमी रुघाखोकीसमेत देखिने हुनाले मानिसहरुमा कोरोनाको त्रास अझै बढी रहन सक्ने पनि बताए । ”भर्खरै मात्रै चिसो शुरु भएको छ । कोरोनाको कहर कायमै छ । यसबाट बच्न हरेक व्यक्ति सतर्क हुनुपर्दछ ।”
यदी घरमा बालबालिका, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, बृद्धबृद्धा, रोगी, भर्खरै शल्यक्रिया गरेका व्यक्ति छन् भने त्यस्तो परिवारका सदस्यले अझ बढी सर्तक रहनुपर्दछ ।
बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग, भौतिक दूरी कायम गर्ने, भिडभाडमा नजाने, रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने अनाज खाने, प्रशस्त तातो पानी पिउने, झोलिलो, पोषणयुक्त खानेकुरा राखे, धुमपान, मद्यपान नगर्ने, कोरोनाको लक्षण देखिएमा कोरोना परिक्षण गराउने गर्नुपर्दछ ।
जाडो महिना सुरु भएसँगै विभिन्न किसिमका दीर्घरोगहरु जस्तै दम, क्षयरोग, निमोनिया, ब्रोङ्काइटिस्लगायतका बिरामीलाई परिवारका सदस्यले अझै बढी सर्तक भएर हेरचाह गर्न चिकित्सकको सुझाव छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया