काठमाडौं । धर्मराज युधिष्ठिरले भगवान् श्री कृष्णसित जिज्ञासा गर्दै सोधे हे भगवन ! कार्तिक कृष्ण एकादशीको नाम के हो रु यसको विधि के छ ? यो व्रत लिनाले के फल पाइन्छ । हजुरले बिस्तारपूर्वक बताउनुहोस् । भगवान श्रीकृष्णले भन्नु भयो – कार्तिक कृष्ण पक्षको एकादशीको नाम रमा एकादशी हो । यसले ठूला ठूला पापलाई नाश गर्ने सामर्थ्य राख्दछ । यसको माहात्म्य म तिमीलाई भन्दछु, ध्यानपूर्वक सुन ।
हे राजन ! प्राचीनकालमा मुचुकुन्द नाम गरेको एउटा राजा थियो । उसको इंद्रसित मित्रता थियो र साथै यम, कुबेर, वरुण र विभीषण पनि उसका मित्र थिए । राजा मुचुकुन्द ठूलो धर्मात्मा, विष्णुभक्त र न्यायप्रिय शासक थियो । उसकी एउटी छोरी थिई, छोरीको नाम चन्द्रभागा थियो । उक्त कन्याको विवाह चंद्रसेनका पुत्र शोभनसित भएको थियो । एक पटक शोभन ससुराली आएको थियो । ऊ ससुराली आएकै समयमा पुण्यप्रदा एकादशी अर्थात् रमा एकादशी पर्नेभयो ।
जब व्रतको दिन नजिकिन थाल्यो, चन्द्रभागाका मनमा अत्यन्त चिन्ता उत्पन्न भयो कि मेरा पति अत्यन्त दुर्बल छन र मेरे पिताको आज्ञा अति कठोर छ । दशमीका दिन राजाले ढोलक बजाएर संपूर्ण राज्यमा के घोषणा गरे भने एकादशीका दिन कसैले पनि भोजन गर्नु हुँदैन । राजाको घोषणा सुन्नासाथ शोभनलाई अत्यन्त चिन्ता भयो र आफ्नी पत्नीलाई भन्नथाल्ल्यो– हे प्रिये ! अब म के गरौ वा मैले के गर्नु उचित हुन्छ, म कुनै बेला पनि भोक सहन सक्दिन । प्रिये ! यस्तो उपाय बताऊ जसबाट मेरो प्राण बँचोस, अन्यथा अवश्य मेरो प्राण जानेछ ।
चन्द्रभागा आफ्ना पतिलाई सम्झाउँदै भन्नथाली–हे स्वामी ! मेरा पिताको राज्य मा एकादशीका दिन कसैले पनि भोजन गर्दैन । यहासम्म कि हाती, घोड़ा, ऊँट, बिरालो, गाई आदि पनि तृण, अन्न, जल आदि ग्रहण गर्दैनन्, फेरि मनुष्यको त के कुरा गर्नु । यदि हजुर भोजन गर्न इच्छा राख्नु हुन्छ भने कुनै अर्कै स्थानमा जानुहोस, किनभने यदि हजुर यही रहन मन पराउनु हुन्छ भने हजुरले अवश्यमेव व्रत लिनै पर्छ । यस्ता कुरा सुनेर शोभन भन्नथाल्यो–हे प्रिये ! म अवश्य व्रत गर्छु, जे भाग्यमा हुन्छ । यस्तो विचार गरेर शोभनले व्रत बस्ने निर्णय गर्यो र व्रतका दिन ऊ भोक र प्यासबाट अत्यन्त पीडित हुन लाग्यो । जब सूर्य नारायण अस्त हुनुभयो र रात्रिमा जागरणको समय आयो जुन वैष्णवलाई अत्यन्त हर्ष प्रदान गर्न सक्थ्यो, परन्तु शोभनका लागि त्यो समय अत्यन्त दुःखदायी हुन पुग्यो । प्रातःकाल हुन नपाउदै शोभनका प्राणपखेरु उडे । अनि राजाले सुगन्धित काष्ठद्वारा त्यसको दाह संस्कार सम्पन्न गरे । परन्तु आफ्ना पिताको आज्ञा लिएर चन्द्रभागा आफू सती गइन र शोभनको अन्त्येष्टि क्रियापछि पनि माइतमा नै बस्नथाली ।
रमा एकादशीको प्रभावले शोभनलाई मन्दराचल पर्वतमा धन–धान्यले युक्त तथा शत्रुरहित एउटा सुन्दर देवपुर प्राप्त भयो । ऊ अत्यन्त सुन्दर रत्न र वैदुर्यमणि जटित स्वर्णका खंभामा निर्मित अनेक किसिमको स्फटिक मणिद्वारा सुशोभित भवनमा बहुमूल्य वस्त्राभूषण तथा छत्र र चम्मर बाट विभूषित, गन्धर्व र अप्सराबाट युक्त सिंहासनमा आरूढ यसरी शोभायमान हुन्थ्यो मानौ अर्का इन्द्र विराजमान छन ।
केही समय पछि मुचुकुन्दकै नगरमा बस्ने एकजना सोम शर्मा नामक ब्राह्मण तीर्थयात्रा गर्दै घुम्दाघुम्दै मन्दराचल पर्वतमा पुगे र उनले शोभनलाई चिनेर यो त राजाको ज्वाई शोभन हो,भन्दै उसकै छेवैमा गए । शोभनले पनि ससुराली गाउका ब्राह्मणलाई चिनेर आफ्नो आसनबाट उठेर ब्राह्मणका छेउमा आई प्रणामादि गरी कुशल प्रश्न गरे । ब्राह्मणले भने राजा मुचुकुंद र हजुरकी पत्नी कुशल पूर्वक छन । नगरमा पनि सबैतिर आनन्दैआनन्द छ, परंतु हे राजन ! हामीलाई आश्चर्य भइरहेको छ । हजुर आफ्नो वृत्तांतको वर्णन गर्नुहोस कि यस्तो सुंदर नगर जुन कहिल्यै देखेको थिइएन, न त सुन्नमा नै आएको थियो, हजुरले कसरी प्राप्त गर्नुभयो ? मुनिका जिज्ञासा शान्त पार्न शोभन सुमधुर अवाजमा भन्नथाल्यो – कार्तिक कृष्णपक्षको रमा एकादशीको व्रत बसेकाले मैले यो नगर प्राप्त गरेको हो, परन्तु यो अस्थिर छ । हजुरले यो नगर स्थिर हुने उपाय गर्नुहोस । ब्राह्मणले पुनः जिज्ञासा राखे – हे राजन ! यो किन स्थिर छैन र कसरी यो स्थिर हुन पुग्छ रुबताउनुहोस, त्यस पछि म अवश्यमेव यसलाई स्थिर बनाउने उपाय गर्नेछु ।
मेरो यस कुरालाई हजुरले मिथ्या नठान्नु होला । शोभनले भने मैंले यस व्रतलाई श्रद्धारहित भएर लिएको थिए, अतः यो वैभव सबै अस्थिर छ । यदि हजुरले मुचुकुंदकी कन्या चंद्रभागालाई यी सबै वृत्तांत सुनाउनु भए यो स्थिर हुनसक्छ । उनले उक्त नगर स्थिर नरहेको कुरा पनि गरे । जसरी उक्त सुन्दर नगर स्थिर हुन सक्छ त्यस्तो उपाय गर्नु पर्छ । यस्ता वचन सुनेर ती श्रेष्ठ व्राह्मणले आफ्नो नगर फर्किएर चंद्रभागासित सबै वृत्तांत भनी सुनाए । ब्राह्मणका वचन सुनेर चंद्रभागा ठूलो प्रसन्नताका साथ ब्राह्मणसित भन्न थाली–हे व्राह्मण ! यी सबै कुरा हजुरले प्रत्यक्ष देख्नुभएको वा सपनाका कुरा गर्दै हुनुहुन्छ । व्राह्मणले भने–हे पुत्री ! मैले महावनमा तिम्रा पतिलाई प्रत्यक्ष देखेको हो । साथै कसैद्वारा विजय हुन नसक्ने देवताहरूको स्वर्गसमान उनको सहर पनि देखेको हो ।
बाहुनका त्यस्ता अनौठा कुरा सुनेर चंद्रभागा फेरि भन्न थाली–हे विप्र ! हजुरले मलाई त्यहा लिई जानोस जहा मैले मेरा पतिदेवको दर्शन प्राप्त गर्छु । मैले आफूले गरेका पुण्यद्वारा त्यस नगरलाई स्थिर बनाई दिन्छु । हजुरले यस्तो कर्म गर्नोस जसबाट हामी दुईको मिलन होस, वियोगीलाई भेट गराउनु पनि ठूलो र महान पुण्य हो । सोम शर्मा यस्ता कुरा सुनेर चन्द्रभागालाई लिएर मंदराचल पर्वतका समीपमा वामदेव ऋषिको आश्रममा गए । ऋषि वामदेवले संपूर्ण विवरण सुनेर वेदमन्त्रको उच्चारणद्वारा चन्द्रभागाको अभिषेक गरे । अनि ऋषिको मंत्रको प्रभाव र एकादशीको व्रतले गर्दा चंद्रभागाको शरीर दिव्य भयो र उनिले दिव्य गति प्राप्त गर्दी भइन ।
त्यसपछि असाध्यै प्रसन्नताका साथ चंद्रभागा आफ्ना पतिसमक्ष पुगिन । उता आफ्नी प्रिय पत्नी आउदै गरेको देखेर शोभन अति प्रसन्न भयो । उनलाई बोलाएर आफ्नो बायाँतर्फ बसाल्यो । चन्द्रभागाले पतिलाई भनिन – हे प्राणनाथ ! हजुरले मेरा पुण्यलाई ग्रहण गर्नुहोस । माइतमा जब म आठ वर्षकी थिए तबदेखि विधिपूर्वक एकादशीको व्रतलाई श्रद्धापूर्वक लिदै आएकी छु । यस पुण्यको प्रतापबाट हजुरको यो नगर स्थिर हुनेछ तथा समस्त कर्मबाट युक्त भई प्रलयको अन्त्यसम्म रहनेछ । यसरी चंद्रभागा दिव्य आभूषण र वस्त्रबाट सुसज्जित भएर आफ्ना पतिका साथमा आनंदपूर्वक बस्न थाली । हे राजन ! यो मैले रमा एकादशीको माहात्म्य बताए, जो मनुष्यले यस व्रतलाई श्रद्धापूर्वक लिन्छन, तिनको ब्रह्महत्यादि समस्त पाप नष्ट हुनपुग्छ । जो मनुष्यले यस माहात्म्यलाई पढ्ने र सुन्ने मात्र गर्दछन, ऊ समस्त पापबाट छूटकारा पाई विष्णुलोकमा पुग्दछ ।
ज्यो.दुर्गा भण्डारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया