सयपत्री : फाईदा अनेक

काठमाडौं – पहाडी जंगलहरुमा उम्रने सयपत्री फूल नेपालका लागि आगन्तुक वनस्पति भएपनि नेपाली संस्कृतिमा यसको महत्त्व निकै व्यापक छ । एउटै थुङ्गामा सयौं पत्र मिलेर बनेको हुनाले यसलाई सयपत्री भनिन्छ ।

विशेष गरेर तिहारको समयमा प्रयोग गरिने यो फूल अन्य सांस्कृतिक र धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ ।

हजारौं वर्षदेखि औषधी बनाउने र सजावटको प्रयोजनमा प्रयोग गरिने यो फूललाई होन्डुरसमा पानीमा मिसाएर लाश धुने काममा पनि प्रयोग गरिन्छ ।

सयपत्री फूलमा सल्फरको मात्रा बढी हुने भएकाले यसले ब्याक्टेरियालाई मार्दछ । सयपत्री फूलको पात र फूलको चिया खाँदा क्यान्सर, ह्दयरोग, स्ट्रोक आदिको सम्भावना पनि कम हुन्छ ।

त्यस्तै, काटेको घाउमा, कीराले टोकेको भागमा सयपत्रीको फूल वा पात रगड्दा पीडा कम हुनुका साथै सुन्निएको पनि घट्छ । साथै, पाचनसम्बन्धि समस्या भएकाहरुले यसको चिया पिउनु उपयोगी मानिन्छ ।

मानव स्वास्थ्यमा मात्र नभएर कृषिमा पनि यसको महत्त्वपूर्ण उपयोगिता रहेको छ ।

यसको जराले गर्ने अत्याधिक माइक्रोबियल क्रियाले जमिनका नेमोटोड जातका शत्रु कीराहरुबाट अन्य बिरुवालाई बचाउने हुँदा अन्न या अन्य बालीसँगै मिसाएर यसको खेती गर्ने गरिन्छ । गोलभेंडामा लाग्ने सेतो पुतली यसको नजिक नआउने हुँदा गोलभेंडा छेउ यसको खेती लाभदायक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?