काठमाडौं । नेपालका सफल व्यवसायी चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघको चुनाव लड्दै छन् । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्र ढकालले कात्तिक ५ गते आफ्नो उम्मेद्वारी दर्ता गराएका थिए । महासंघको चुनाव आउँदो मंसिर दोस्रो साताका लागि तोकिएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा लोकपथ डटकमले उनको उम्मेद्वारीको विषयमा केहि जिज्ञासा राखेको थियो । प्रस्तुत छ, महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालसँग गरिएको कुराकानी :
महासंघको वरिष्ठ उपाध्यक्षमा तपाइँले चुनाव उठ्ने घोषणा गरिसक्नु भएको छ । तर, किशोर प्रधान र तपाइँबीच सहमति हुँदैछ र यो सहमतिको लागि तपाइँको तर्फबाट दवाब सिर्जना गरिँदै छ भन्ने आरोप छ । महासंघमा सधैँ किन यस्तो राजनीति ?
महासंघ निजी क्षेत्रको छाता संगठन हो । यहाँ देशैभरका लाखौं व्यवसायीको प्रतिनिधित्व गरेर साधारणसभामा सहभागी सयौं व्यवसायीले प्रत्यक्ष मत दिई केही दर्जन व्यवसायीलाई नेतृत्वमा पुर्याउनु हुन्छ । यो विगतदेखिकै अभ्यास हो । निर्वाचन भनेको आफैंमा उच्च लोकतान्त्रिक अभ्यास भएकाले हामीले हरेक संघ संस्थामा त्यसलाई स्वभाविक रुपमा लिएका छौं । निर्वाचनले कुनै पनि संस्था गतिशील समेत हुन्छ र नेतृत्वमा पुग्नेलाई बढी जवाफदेही र जिम्मेवार पनि बनाउँदछ । यसैले महासंघको आसन्न साधारणसभा र निर्वाचनलाई पनि हामीले स्वस्थ प्रजातान्त्रिक अभ्यासकै रुपमा हेर्न सक्नुपर्छ ।
रह्यो सहमतिका कुरा, म आफैं उम्मेदवार भएपछि सर्वसम्मतिको चाहना स्वभाविक रुपमा हुन्छ नै । सर्वसम्मत नभए पनि निर्वाचनबाटै परिणाम हासिल गर्न पनि म हरेक दृष्टिकोणले तयार छु र निर्वाचनमा मेरो स्थिति कस्तो छ भन्ने पनि जगजाहेर नै छ । यसैले निर्वाचन पूर्व नै परिणाम सहजै आकलन गर्न सकिने अवस्था रहेकाले निर्वाचन गरेर जीतहारको अवस्था सिर्जना गर्नुभन्दा सहमतिको वातावरण बनाऔं भनेर मेरा अग्रज, सहकर्मीलगायत केहीले पहल गरिरहनुभएको मैले पाएको छु । यसका लागि म सकारात्मक नै छु । हुन त निर्वाचनपछि पनि मैले सबैलाई समेटेर नै लैजाने भएकाले मभित्र जितहारको भावना नै हुने छैन । तर, मैले सहमतिका लागि दवाब दिएको भन्ने तपाइँको प्रश्नमा भने कुनै सत्यता छैन । मेरो किशोरजीसँग हार्दिक सम्बन्ध छ । अहिलेको अवस्थामा निजी क्षेत्रको अस्तित्व नै संकटमा परिरहेको महशुस गरेर सम्पूर्ण निजी क्षेत्र एकजुट हुनुपर्ने र त्यसका लागि वर्तमान चुनौतीसँग जुध्नसक्ने नेतृत्वको खोजीको शर्तमा सहमति हुनसक्छ र त्यसका लागि मेरो दावी किन स्वाभाविक छ भन्ने त मैले आफ्नो अवधारणापत्रमा पनि भनिसकेको छु ।
तपाइँसँग महासंघको अनुभव कम रहेको र यस्तो अवस्थामा तपाइँ हाल महासंघको नेतृत्व गर्न अफ्ठ्यारो पर्ने अनुमान गर्ने धेरै छन्, तैपनि चुनाव लड्दै हुनुहुन्छ किन ?
म महासंघमा पहिलोपटक द्विराष्ट्रिय उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै कार्यकारिणी समिति सदस्यमा निर्विरोध निर्वाचित भएको थिएँ भने त्यसपछि अर्को कार्यकालमा एशोसिएट सदस्यमा सर्वाधिक मत ल्याएर सदस्यमा निर्वाचित भएँ । गत निर्वाचनमा पनि म निर्विरोध रुपमै एशोसिएट उपाध्यक्षमा निर्वाचित भएँ । महासंघको पछिल्लो १२ वर्षको इतिहासमा निर्विरोध उपाध्यक्ष हुने सौभाग्य मैलेमात्र पाएको स्मरण गराउन चाहान्छु । यसरी कुनै पनि संस्थामा एक दशकभन्दा लामो समय निरन्तर सक्रिय रहेको र पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्म दर्जनौंपटक निरन्तर पुगेर व्यवसायी मित्रहरुका सुखदुःख बुझेको मात्र नभई प्रधानमन्त्री, राष्ट्रपतिलगायतको भ्रमणदलमा सधैँ सहभागी भएर निजी क्षेत्रको वाह्य सम्बन्ध मजबुद बनाउन मैले दिएको योगदानका आधारमा हेर्ने हो भने मलाई महासंघमा नयाँ भन्नु आफैंमा न्याय हुन सक्दैन भन्ने लाग्दछ । यतिमात्र हैन कि म अहिल्यै महासंघको नेतृत्वमा पुग्न लागेको पनि होइन । आगामि तीन वर्ष म वरिष्ठ उपाध्यक्ष र त्यसपछि मात्र अध्यक्षको जिम्मेवारीमा रहने हो । यसैले महासंघलाई मैले आफ्नो व्यवसायको अनुभव तथा महासंघभित्रकै दशकभन्दा लामो अनुभवका आधारमा नेतृत्व गर्न सक्षम छु भन्ने लाग्दछ । महासंघभित्र एशोसिएट, द्विराष्ट्रिय, वस्तुगत सबै क्षेत्रमा प्रत्यक्ष सहभागी रहेको र जिल्लानगरमा सबैभन्दा बढी भ्रमण गरेको आधारमा महासंघका लागि मेरो नेतृत्व आवश्यक छ भन्न मलाई कुनै संकोच छैन ।
अर्को कुरा उमेर मात्र सबै थोक पनि होइन । कसैले १६ वर्षमै डिग्री पास गरेका छन्, कसैले २५÷३० वर्षसम्म पनि एसएलसी गर्न सक्दैनन् । त्यो व्यक्तिगत कुरा हो । विश्वको सुपरपावर अमेरिकामा ४५ वर्षको उमेरमै बाराक ओबामाले राष्ट्रपति भएका छन् । विल क्लिन्टन ४६ वर्षका थिए जब उनी राष्ट्रपति भए । त्यसैले उमेरले गर्ने केही होइन । व्यक्तिको क्षमता, योग्यता र खुबीमा भरपर्ने कुरा हो ।
कत्तिको आशावादी हुनुहुन्छ आफ्नो विजयको लागि ?
महासंघका जिल्लानगर, वस्तुगत, एशोसिएट तथा द्विराष्ट्रिय समूहका सबैजसो साथीहरुको मैले समर्थन पाएको छु । म मात्र नभई मेरो टिमप्रतिको विश्वास र वर्तमान चुनौतीलाई समाधान गर्नसक्ने भरोसाले म अनुगृहित छु । यसैले आफ्नो जितप्रति र मेरो समूहकै जितप्रति म विश्वस्त छु । निर्वाचनमा मेरो र हाम्रो टिमको जित भनेको महासंघको गौरवमय शाखको जीत र समग्रमा सिंगो निजी क्षेत्रको जितका रुपमा स्थापित गर्न म सदैव प्रयासरत छु । यसैले निर्वाचनलाई स्वस्थ प्रजातान्त्रिक अभ्यासका रुपमा स्वीकारेर मैले यसलाई जितहारको विषय नबनाई मंसिर १३ पछि यो महासंघकै जितका रुपमा अघि बढाउनेगरी काम पनि गर्नेछु भन्न चाहान्छु ।
भावी अध्यक्ष शेखर गोल्छा नै यसपटक तपाइँको एलाइन्सको विपक्षमा हुनुहुन्छ । यस्तो अवस्थामा चुनावमा तपाइँलाई गाह्रो पर्दैन ?
शेखरजी मंसिर १३ पछि महासंघको अध्यक्ष हो । म उहाँकै अध्यक्षतामा उहाँको कार्यसमितिमा वरिष्ठ उपाध्यक्षका लागि महासंघको निर्वाचनमा सहभागी भइरहेको छु । विगतदेखि नै म र उहाँ एउटै टिममा थियौं र भोलि पनि सँगै नै रहनेछौं । अहिले उहाँले जुन टिमको समर्थन गरिरहे पनि उहाँले भनेजस्तो महासंघमा कस्तो नेतृत्व आउनुपर्छ भनेर वस्तुनिष्ठ मूल्यांकन आम व्यवसायीले गर्नुहुनेछ र त्यसलाई उहाँले पनि स्वीकार्नैपर्छ । निर्वाचनमा को कुन स्वार्थले कसको पक्षमा किन लागिरहेको छ भन्ने भन्दा पनि कसले महासंघजस्तो गौरवमय संस्थाको नेतृत्वमा पुगेर निजी क्षेत्रको शाख स्थापित गर्न सहयोग पु¥याउँछ भनेर हेर्नुपर्छ । मलाई लाग्छ आजको दिनमा पनि शेखरजी भित्रि मनदेखि नै मेरो विपक्षमा हुुनहुन्न । मैले पनि लामो समय उहाँसँग संगत गरेको आधारमा भन्छु कि उहाँलाई पनि महासंघमा म नै आउनुपर्छ भन्ने छ । रह्यो मलाई गाह्रो पर्छ कि भन्ने कुरा, त्यसमा त देशैभरका व्यवसायी साथीहरुलाई सोध्नुस् कि महासंघमा को आउँदा उचित हुन्छ भनेर । उहाँहरुबाटै तपाइँले जवाफ पाउनु हुनेछ ।
पूर्वअध्यक्षको इक्वेसन हेर्दा पनि तपाइँको पक्षमा चण्डीराज ढकाल र सुरज वैद्यको समर्थन देखिन्छ र अन्यको समर्थन अर्को प्यानलतिर छ । यस्तो अवस्थामा कसरी चुनाब जितिएला त ?
तपाइँ के कुरामा स्पष्ट हुनुस् भने मलाई महासंघका सबैजसो पूर्वअध्यक्षको समर्थन छ । पूर्वअध्यक्षहरुमात्र नभई निजी क्षेत्रका अग्रज उद्यमीदेखि उत्साही युवासम्मको समर्थन र साथ सहयोगकै कारण मैले महासंघको नेतृत्वमा उम्मेदवारी दिएको हो । मैले अघि पनि भनिसकेँ कि मलाई जिताउने भनेको जिल्लानगर, वस्तुगत, एशोसिएट र द्विराष्ट्रिय उद्योग वाणिज्य संघका साथीहरुले हो । जब मतदाता साथीहरुको दुईतिहाईभन्दा बढी समर्थन मलाई छ भने कसले कुन प्यानललाई समर्थन गरिरहेको छ भन्ने प्रश्नको त्यति महत्व पनि नहोला । यद्यपि, सबै पूर्वअध्यक्षहरुप्रति मेरो उत्तिकै सम्मान छ ।
चन्द्र ढकालले मनी, पावर र पोलिटिकल पावरको चरम प्रयोग गरेर भए पनि यो चुनावमा क्लिन स्विप हासिल गरेर चुनाव जित्ने योजनासहित मैदानमा उत्रिएको भनिन्छ । के साँच्चै माहासंघको चुनाब मनी, पावर र पोलिटिकल पावर ले जित्न सकिन्छ ?
तपाइँलगायत सबैजसो पत्रकार साथीहरुले मलाई एक दशकभन्दा लामो समयदेखि चिन्नुहुन्छ । म पत्रकार साथीहरुसँग मात्र नभई निजी क्षेत्रका मेरा मित्रहरु र केही राजनीतिक प्रशासनिक व्यक्तिहरुसँग सहज रुपमा प्रस्तुत हुन्छु । म शून्यबाट उठेर यतिसम्म भएकाले मैले धरातल बिर्सेको छैन । तर, मेरो यो विनयशीलतालाई कहिले राजनीतिक रङ दिने त कहिले अनेक आरोप लगाएर कमजोर बनाउने अथवा मलाई चिढ्याउने खेल भइरहेको मैले बुझेको छु । तर, म डिफेन्सिभ हुन चाहान्न र त्यो मेरो स्वभाव पनि होइन । मैले बारम्बार भनेको छु कि आम व्यवसायी अथवा निर्वाचनका मतदाता मेरा शक्तिका स्रोत हुन् । त्यसैले यो धरातलीय यथार्थलाई बुझेर पनि बुझ पचाउनेहरुप्रति मेरो केही गुनासो छैन ।
अब लागौं महासंघको आन्तरिक कुरातर्फ । आजको महासंघ अब त्यो महासंघ रहेन जसले नीतिगत प्रभाव पर्न सक्थ्यो, विगतमा भएका चरम राजनीतिले महासंघ खोक्रो भैसकेको छ र यो नाम मात्रको हुन् पुगेको छ ? अख्तियार र निजी क्षेत्रको केहि महिनाअघिको प्रसंग लिउँ न, महासंघका भेट्रान भनिएका तपाइँहरु खाली प्रम र मन्त्रीसँग फोटो खिचाउँदै रहनु भयो तर सिएनआइले सिधै हालको लागि यसलाई सदनबाट बाहिर राख्ने व्यबस्था मिलायो हैन र ?
तपाइँले भनेका कुरामा कतिपय सत्यता पनि छन् र कतिपय यथार्थ कुरा बाहिर नआउँदा समस्या पनि छन् । नेपालीमा एउटा उखान छ– भाइ फुटे गवार लुटे । हो, महासंघमात्र नभई सिंगो निजी क्षेत्र अहिले यसबाट आक्रान्त छ । तर, निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था कुन हो भन्नेमा विवादचाहिँ व्यर्थ हो । महासंघले निजी क्षेत्रका पक्षमा जति गर्न सक्थ्यो त्यो गर्न नसके पनि केही सकेन भन्ने चाहिँ हैन । हालैको उदाहरण हेर्ने हो भने पनि लकडाउन अवधिको पारिश्रमिक भुक्तानीसम्बन्धी त्यत्रो विवाद महासंघकै नेतृत्वमा समाधान हुनसक्यो र संयोगवश त्यसको नेतृत्व पनि मैले नै लिने अवसर पाएँ । यस्ता दर्जनौं उदाहरण छन् तर हामीले महासंघमार्फत जे ग¥यौं त्यो बाहिर सही ढंगले आउन नसक्दा पनि समस्या छन् । साथसाथै संस्थागत समस्या त छन् नै र भोलिका दिनमा यीनै कमजोरी सच्याउनका लागि मेरो टिमको प्रयास रहनेछ ।
हेर्नुस् आजको दिनमा सरकार र उद्यमी ब्यवसायीबीच को ठुलो खाडल भनेको सम्पत्ति शुद्धीकरण को हो र यस्तो संबेदनशील मुद्दामा समेत महासंघले सरकार र प्रशासनलाई कन्भिन्स गर्न सकेको छैन । यो नै एउटा ठुलो कमजोरी हैन त ? ब्यबसायीहरु कुनैपनि बेला कुनैपनि बहानामा थुनिन सक्ने अवस्था छ ? खै त महासंघको प्रभावकारी उपस्थिति ?
निश्चय पनि यो विषय गम्भीर छ र हामीले यसमा बारम्बार सरकारलाई भनिरहेका छौं । हाम्रो लिखित दस्तावेजदेखि विभिन्न भेटघाटमा पनि यसलाई प्राथमिकतामा राखेका छौं । यसमा केही अन्तर्राष्ट्रिय सन्धि सम्झौता पनि जोडिएकाले त्यसलाई सरलीकृत गर्ने विषयमा सरकार सहमत छ । आशा गरौं यसले चाँडै परिणाम हात पार्नेछ ।
कोभिड–१९ ले अर्थतन्त्र ध्वस्त भएको छ, सरकारले र अर्थ मन्त्रालयले कुनै ठोस स्टिमुलस प्याकेज घोषणा नै गरेन महासंघ यहा पनि असफल देखियो, महासंघले न त ठोस रुपमा सरकारलाई कन्भिन्स नै गर्न सकेन ? किन यस्तो कमजोरी ?
कोभिड सुरु भएलगत्तै सबैभन्दा ठूलो संकट पर्यटन क्षेत्रमा पर्यो भने त्यसयता कोभिडको असर नपरेको कुनै क्षेत्र छैन । सरकारकै अध्ययनले पनि यो देखाइसकेको अवस्था छ । हामीले सुरुवातदेखि नै सरकारसँग यसका लागि स्टीमुलस प्याकेज माग गरे पनि सुरुमा करसम्बन्धी विषयमा केही समाधान भयो भने बजेटमा निजी क्षेत्रलाई राहतसम्बन्धी कार्यक्रम छरिएर आयो । मौद्रिक नीतिमा हाम्रो जोड रह्यो र त्यसले केही परिणाम पनि दिएको छ । यसबीचमा निजी क्षेत्रलाई मात्र नभइ सम्पूर्ण अर्थतन्त्रलाई माथि उठाउने ठोस कार्यक्रम जरुरी छ भन्ने सरकारले महशुस गरेको छ र नयाँ अर्थमन्त्री पनि आउनुभएकाले अब यसमा थप छलफल हुने नै छ । स्टीमुलस प्याकेजको पक्षमा हामी अझै छौं र त्यसलाई सरकारले सम्बोधन गर्नेछ भन्ने अपेक्षा पनि छ ।
महासंघभित्र आमूल संरचनागत परिवर्तनको आवश्यकता छ । यो चाहे सहि थिंक ट्यांक निर्माण गर्ने होस् अथवा सचिबालय को क्षमता अभिवृद्धि गर्ने होस् । थुप्रै चुनौतीहरु छन् । तपाई र तपाइको प्यानलको स्पस्ट योजना के छ ?
हामी यसमा स्पष्ट छौं कि महासंघको संस्थागत क्षमता अभिवृद्धिसँगै निजी क्षेत्रबीच एकता अहिलेको आधारभूत आवश्यकता हो । यसका लागि हामीले विज्ञहरुको सहभागितामा थिंक ट्यांक निर्माण गर्नेदेखि एकीकृत सूचना प्रणाली र गुनासो सुनुवाई इकाइ स्थापनासम्मका योजना बनाएका छौं र जसको विस्तृत अवधारणापत्र सार्वजनिक समेत गरिसकेका छौं । महासंघलाई सूचना प्रविधिका माध्यमले देशैभरका निजी क्षेत्रसँग जोड्ने र सरकारबाट बन्ने नीति नियममा निजी क्षेत्रको आवाज मुखरित हुने अवस्थाको सिर्जना गर्नेछौं ।
महासंघले संचालन गर्दै आएका विभिन्न कार्यक्रमहरुकै आलोचना हुँदै आएका छन् । एइसीको एक गाउँ एक उत्पादनजस्ता कार्यक्रमहरुको कमजोरीको मूल्यांकन गर्नु भएको छ ? जिल्ला नगर, बस्तुगत र एसोसिएत समुह का आफ्ना आफ्ना समस्या छन र महासंघले सहि ढंगले कार्य गर्न नसक्दा आज बिभिन्न समुहका आफ्ना आफ्ना अलग महासंघनै निर्माण हुदै छन यसमा सिरियस र ठोस पहल आवस्यक छ ? तपाई र तपाइको प्यानलको स्पस्ट योजना के छ ?
हाम्रो मुख्य समस्या भनेकै कुनै पनि नीति कार्यक्रमहरु संस्थागत नहुनु हो । संस्थागत निर्णयको प्रचलन कम छ र यसका लागि हाम्रो विधान र कार्यविधिमा पनि केही संशोधन आवश्यक छ । संस्था नेतृत्वमुखी नभई नीतिमुखी हुन सक्यो भने तपाइँले भनेका सबै समस्याहरुको समाधान हुन्छ । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाजीले नै केही समयअघि महासंघको फुल अडिट गर्छु भन्नुभएकाले पनि पारदर्शिताका लागि त्यसमा आशावादी हुन म सबैलाई आग्रह गर्दछु । वस्तुगत, एशोसिएट, जिल्लानगर सबै निजी क्षेत्रका समस्या हुन् र यीनको समाधानका लागि महासंघमा संस्थागत सुधार पहिले जरुरी छ ।
अन्त्यमा, महासंघका सम्पूर्ण सदस्यहरुलाई के संदेश दिन चाहनु हुन्छ ?
सर्वप्रथम त अहिले कोभिडको अवस्थामा हामीले आफ्नो स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर दैनिक आर्थिक सामाजिक गतिविधि अगाडि बढाउनुपर्ने अवस्था छ र त्यसमा कुनै सम्झौता नगर्न म साथीहरुलाई आग्रह गर्दछु । यससँगै महासंघको साधारणसभा मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । उहाँहरु सबैजनालाई निजी क्षेत्रलाई हाँक्नसक्ने खुवी भएको र तपाइँहरुको सुख दुःखमा साथ दिनसक्ने नेतृत्वलाई मत दिनुस् भन्न चाहान्छु । हामी सबैको चाहना महासंघको गरिमा बढोस् र यसमार्फत निजी क्षेत्रका समस्या सम्बोधन होस् र मुलुकको आर्थिक विकास हुन सकोस् भन्ने नै हो । यसका लागि म पूर्ण प्रतिवद्ध रहेको फेरि पनि निवेदन गर्न चाहान्छु ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया