काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो महान् पर्वको रुपमा मनाइने तिहार पर्व शुरु भइसकेको छ । कोरोनाको कहरकाबीच आएको तिहारले गाँउ सहरलाई छपक्कै छोएको छ ।
बजारमा तिहारको रमझम र चहलपहल शुरु भइसकेको छ । तिहारमा देउसी भैलो खेल्ने, दिदीबहिनीको हातबाट दाजुभाइले टीका लगाउने प्रचलन छ । चेली र माईतीको सम्बन्ध प्रगाढ होओस् भनेर यो चाडमा दाजुभाईको विशेष पूजाआजा गर्ने चलन छ । कोरोनाको जोखिम झनै बढेका बेला आएको यो चाडलाई सांस्कृतिक पर्वका रुपमा निरन्तरता मात्रै दिन जनस्वास्थ्यविद्ले सुझाएका छन् । नेपाली खेलाडीहरु पनि वर्षमा एक पटक आउने तिहारलाई रमाइलोका साथ परिवारमा मनाउने योजनामा छन् ।
यस वर्षको तिहारलाई कसरी मनाउँदै हुनुहुन्छ भनेर हामीले जना खेलाडीहरुलाई सोधेका थियौँ
विकास थापा–भारोत्तोलन
यसपटकको तिहार मेरो लागि विशेष हुनेवाला छ । ४ वर्ष भयो तिहारमा दिदिको हातको टिका लगाउन नपाएको । यो पटक लकडाउनदेखी नै घरमै छु । तिहारमा पनि घरमै हुन्छु । सबै परिवार बसेर मनाउने योजना छ । पहिलेको तिहारको समय नेपाल बाहिर भएका कारण टिका लगाउन पाएको थिईन । फेसबुक लगायतका सामाजिक सञ्जालमा फोटो देख्दा अत्ति नै खल्लो लागेको थियो ।
सेलरोटि पनि पकाउनुहुन्छ भन्ने लोकपथको प्रश्नमा उनले हाँस्दै उत्तर दिए सेलरोटि पकाउन त आउँदैन तर यो पालि बनाउने प्रयास गर्छु ।
तिहार भन्नेबित्तिकै के सम्झनुहुन्छ ? प्रश्न सुन्नेबित्तिकै उनले बालापनमा फर्किए ।
सानोमा ग्याङ बनाएर देउसी भैलो खेल्न गईन्थ्यो । ५ रुपैँया दक्षिणा पाँउदा कति खुशि लाग्थ्यो । हामी यस्तो हौसीन्थ्यौ नि । जहिल्यै पनि हाम्रो ग्याँङमा देउसी भट्याउने म हुन्थे, अहिले पनि भट्याउन आउँछ । त्यतिबेला खुब रमाइलो गरिन्थ्यो । अहिले त देउसी नखेलेको पनि १४ १५ वर्ष भैसक्यो । कोरोनाका कारण यो पालि पनि जान पाइन्न नत्र यसपालि चैँ देउसी भैलो खेल्ने प्लान थियो ।
आयशा शाक्य – तेक्वान्दो
‘सर्वप्रथम सबै नेपालीहरुलाई तिहारको शुभकामना । यसपटक तिहारको खासै कुनै विशेष योजना छैन । घरमै रमाइलो गर्छु । सेलरोटि पकाउँछु । तिहारको बेला सबैतिर झिलीमिली हुन्छ, त्यति बेला चाँही काठमाडौं साँच्चिकै सिँगारिएको दुलही जस्तै लाग्छ त्यसैले मलाई तिहार अरु चाड भन्दाभिन्नै लाग्छ । प्रफुल्लित हुँदै उनले सुनाईन् ।
सबैतिर झिलीमिली, सेलरोटिको बास्ना, रङ्गोली, देउसी भैलो, टिका, फूलहरु, तिहारको हरेक कुरा मनपर्छ मलाई । तर दाइ नेपाल हुनुहुन्न भाईलाई टिका लगाएर मनाउने योजना छ ।
सावित्रा भण्डारी (साम्बा), फूटबलर
तिहार भन्ने बित्तीकै झिलीमिली, देउसी भैलो, सेलरोटिको याद आउँछ । कोरोनाका कारण त्यस्तो कुनै योजना छैन । काठमाडौंमै हुन्छु । तिहार खास लाग्नुको कारण भनेको टाढा भएका दिदीबहिनीहरु माइती आउछन् । दाजुभाईसँग भेटघाट, बच्चामा सँगै बिताएका पलहरु सम्झिँदै गरिने कुराकानी, देउसी भैलो सप्रङ्गी टिका यी कुराहरुले नै तिहार खास लाग्छ । तिहारको माहोल नै छुट्टै हुन्छ । निधारमा लगाउने सप्तरङ्गी टिका, गलामा लगाउने सयपत्री र मखमली फूलको मालो दाजुभाईलाई लगाउँदै दिर्घायुको कामना गर्न पाउँदा निक्कै खुशी लाग्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया