यमपञ्चकको दोस्रो दिन : आज कुकुर तिहार, नरक चतुर्दशी

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन अर्थात आजकै दिन कुकुरको पूजा गरिन्छ । पौराणिक प्रशङग अनुसार यमलोकमा यमराजको द्धारपालको रुपमा रहने कुकुरलाई तिहारको दिन सम्मान गर्नाले मृत्युपस्चात यमद्धारबाट मार्गप्रशस्त गरि स्वर्ग जानेबाटो देखाईदिने विश्वास गरिन्छ । द्धापर यूगको अन्त्यमा पाण्डपहरु स्वर्ग जाने क्रममा चार भाई र द्रौपदीको बाटैमा देहावसान भएको र धर्मराज यूधिस्ठिरलाई कुकुरले स्वर्गको ढोकासम्म पुर्याएको सन्द्रर्भ ईतिहास र पुराणमा पाईन्छ ।

ऋगवेदमा स्पष्ट रूपमा ’समरा’को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक,सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।

कुकुर घरमा पालिने, आज्ञाकारी, घर रक्षक एवम् गुनिलो जनावर पनि हो । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र कुकुरलाई भैरवको बहान पनि भनिन्छ । त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्व सूचना समेत दिने गर्दछ ।

कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ । कुकुरका गुणको कदर गरेर मानिसले वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान,तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको गौतमले बताउनुभयो । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

कुकुर तिहार –नकर चतुर्दशी

कार्तिक कृष्णपक्षको चतुर्दशीलाई नरक चतुर्दशी भनिन्छ । यस दिन नरकबाट मुक्ति प्राप्त गर्न प्रातःकालमा तैलाभ्याङ्ग स्नान गर्ने बिधि रहेकोछ । बिहान उज्यालो हुन लागेपछि शरिरमा तिलको तेल,सुगन्धीत द्रव्यहरु,चन्दन आदि लगाई स्नान गर्नुपर्दछ । यस दिन तिलमा लक्ष्मी र जलमा गंगाको बास हुने हुनाले तिलको तेल दलेर स्थान गर्दा सम्पूर्ण पापहरु नस्ट भई नरकको दर्शन गर्नुपर्दै भन्ने शास्त्रिय मान्यता रहेकोछ । स्नान गर्नुअघि अपमार्गका पातलाई जलमा डुबाएर शिरमा घुमाउनु पर्दछ । अपमार्ग वनस्पतीलाई सम्बोधन गरि म जतिपटक घुमाउँछु,त्यती नै पटक मेरा पापहरु हरण गर भन्दै तलका मन्त्र पढेर पटक पटक आफ्नो शिरमा घुमाउँनु पर्दछ ।

सीतालोष्टसमायुक्तःसकण्टकदलान्वित
हरपापमपामार्ग भ्राम्यमाणःपुनःपुन ।।

यसरी स्नान गरिसकेपछि यमराजलाई तल उल्लेख गरिएका १४ नाममा तर्पण दिनुपर्दछ । दक्षिण दिशातर्फ फर्किएर सव्य भई देवतीर्थद्धारा प्रत्येक नाममा तीन तीन अञ्जुली तिलयुक्त जलले तर्पण गर्नाले वर्षौदेखीका पापबाट मुक्त मिल्ने शास्त्रमा बताईएको छ ।

१ यमाय नमः २ धर्मराजाय नमः ३ मृत्यवे नमः ४ अन्तकाय नमः ५ वैवस्वताय नमः ६ कालाय नमः ७ सर्वभूताक्षाय नमः ८ औदुम्बराय नमः ९ दन्धाय नमः १० नीलाय नमः ११ परेमेष्ठिने नमः १२ वृकोदराय नमः १३ चित्राय नमः १४ चित्रगुप्ताय नमः

आजका दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ । आजका दिन पाप नास गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन छ । यसो गर्दा स्वर्ग गइन्छ भन्ने विश्वास छ ।

ज्यो दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?