तिहारको अन्तिम दिन आज भाईटिका लगाईँदै

काठमाडौं । तिहारका महत्वपूर्णको दिनको रुपमा आजलाई लिईन्छ । दिदीबहिनीहरुले दाजुभाईहरुलाई सप्तरङ्गी टिका लगाईदिने भएकाले यस दिनलाई भाईटिका भनिएको हो । विशेषगरी दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना गर्दै यो चाड मनाईन्छ । भाईटिकाले दाजुभाई र दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा,ताजा र प्रज्वल बनाईराख्ने विश्वास गरिन्छ ।

कार्तिकशुक्ल पक्षको द्वितीयातिथिमा कुनै दिन यमुनाले यमराजलाई आफ्नो घरमा बोलाएर पूजा गरि राम्ररी भोजन गराएकी थिईन् । त्यसकारण यो द्वितीया संसारमा यम द्वितीयाका नामबाट प्रसिद्ध भयो । यस दिन दाजुभाईहरुले आफ्नो घरमा भोजन गर्नुहुदैन । दिदि बहिनीका घरमा गई स्नेहपुर्वक पुष्टिवर्धक भोजन गर्नुपर्दछ । दिदि बहिनीका घर गएका दाजुभाईले उनीहरुलाई बिधिपुर्वक दान दिनुपर्दछ । उनिहरुले सुवर्ण,अलङकार,वस्त्र एवं अन्नद्धारा पूजा गरि सबै दिदि बहिनीहरुको सत्कार गर्नुपर्दछ । आफ्नै सहोदर दिदिबहिनी नभएमा जसलाई दिदि बहिनीझै व्यावहार गरिन्छ तिनको पूजा गर्नुपर्दछ ।

यमुनाको निम्तोलाई स्वीकार गरेर कार्तिक कृष्ण त्रयोदशीबाट कार्तिक शुक्द द्धितीयासम्म बसि रमाईलो गर्दै भाईटिका लगाएको हुनाले यस समयलाई यमपञ्चम भनिएकोछ । आफ्नी बहिनीको घरमा निकै प्रशन्न भएर सूर्यको छोरा यमराम यमुनाकोमा बसेको हुनाले यमराज प्रशन्न भएर के माग्छौ माग भन्दा यमुनाले प्रत्येक वर्ष यो समयमा आफुलाई भेट्न आउनु पर्ने, साथै दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाईको आयू कीर्ति सर्वदा बृद्धि होस् भनि मागिन् । यमराजले बहिनी यमुनालाई तथास्तु भनि वरदान दिए । यहि पौराणिक कथन अनुसार अविच्छिन्न रूपमा अहिलेसम्म तिहारलाई मनाईदै आईएको जनविश्वास छ ।

दाजुभाइलाई टिका लगाई दिनुअघि दिदीबहिनीले दियो, कलश र गणेश स्थापना गरी षोडसोपचारले पूजा गर्दछन् । दाजुभाइलाई तेलको धाराले नटुटाई छेक्छन् । त्यसपछि पानीले छेक्छन् । दिदीबहिनीले फूल, अक्षता, चन्दन र लाभाले दाजुभाईको पूजा गर्छन् । शिरमा तोरीको तेल लगाएर कपाल कोरिदिन्छन् । बिमिरो र यमराजको पूजा गरी ढोकाको संघारमा राखिएको ओखर फुटाई कालको बाटो छेक्छन् । पूजा विधि सकिएपछि दिदीबहिनीले दाजुभाईको आरोग्य, यश र दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टिका लगाईदिन्छन् । कहिल्यै नओईलाउने मखली, सँधै हरियो रहने दुबो र सयपत्री फुलको माला लगाईदिन्छन् । सगुन स्वरुपमा दही खुवाई दिन्छन् । आफ्ना दाजुभाईलाई सधैं त्यस्तै रुपमा देख्न पाउने विश्वासका साथ चेलिबेटीले त्यसरी माला लगाईदिन्छन् ।

त्यसपछि सेलरोटी, फलफूल, मिठाइ, मसला, कटुस, कपडा सहितको उपहारहरु समावेश भएको भाग दाजुभाईलाई दिन्छन् । यति गरेपछि दाजुभाईले पनि दिदीबहिनीलाई टिका र माला लगाईदिई दक्षिणा दिन्छन् । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । टोपीले आयु बढाउने विश्वास गरिन्छ भने यसले राष्ट्रियता पनि झल्काउँछ । त्यसपछि दाजुभाईले पनि आफ्नो गच्छेअनुसार उपहार र दक्षिणा दिने गर्दछन् । दाजुभाई वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी मन्दिरमा गई पूजाआजा गर्छन् ।

ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?