महासंघलाई सवल बनाउँदै व्यक्तिवादी प्रथा हाबी हुन नदिने अभियानमा छौँ : अञ्जन श्रेष्ठ

प्रस्तुत कोइराला /काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा किशोर प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षका उम्मेद्वार हुन् अञ्जन श्रेष्ठ । व्यवसायीक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठको नेपाली व्यवसायीक क्षेत्रमा लामो अनुभव छ । साथै नेपाल उद्योग वाणिज्य महासंघमा पनि करिब १६ वर्षदेखि उनी आबद्ध रहेका छन् भने १२ वर्षदेखि निरन्तर महासंघको केन्द्रिय कार्यकारी सदस्यको रुपमा आफ्नो जिम्मेवारी निभाउँदै आएका छन् । अब भने उनी महासंघका वर्तमान वस्तुगत उपाध्यक्ष र चन्द्र ढकाल प्यानलका पुन उम्मेद्वार उमेशलाल श्रेष्ठको प्रत्यासी भएर चुनावी मैदानमा उत्रीएका छन् ।

प्रस्तुत छ आसन्न महासंघको निर्वाचनमा किशोर प्रधान प्यानलका वस्तुगत उपाध्यक्षका उम्मेद्वार अञ्जन श्रेष्ठसँग गरिएको कुराकानी

अञ्जन जी चुनाव त लाग्यो नि ?

चुनाव त के भन्नु लागेको लाग्यै छ । झन्डै १ वर्ष भयो चुनाव लागेको । चैतमा सकिनु पर्ने चुनाव अझै पनि लागिरहेकै छ ।

यो लम्बाईले महासंघमा के कस्तो क्षती पुर्‍याएको छ ?

चैतमा चुनाव भईसक्नुपर्ने थियो तर कोभिडका कारणले यो धेरै लम्बिसकेको छ । महासंघको मात्र कुरा गर्ने हो भने महासंघमा धेरै समयको बर्बादी भएको छ । खासै भन्ने हो भने महासंघ एउटैलाई यसले खास प्रभाव पारेको छैन तर, समग्र रुपमा हेर्दा यो लम्बाई भन्दा पनि कोभिडले विश्वकै अर्थतन्त्रलाई खस्काएको छ । नेपालको अर्थतन्त्रलाई पनि धरासायी बनाउँदै लगेको छ । कोभिडले समग्र अर्थतन्त्र धरासायी बनाउँदै लग्दा निजी क्षेत्र समस्याग्रस्त देखिन्छ । यस्तोमा महासंघ प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा झन् प्रभावित भइरहेकै छ ।

वस्तुगत उपाध्यक्षका काउन्टरपार्ट उमेशलाल श्रेष्ठ महासंघको पुरानो र बलियो सदस्य हुनुहुन्छ, वर्तमान वस्तुगत उपाध्यक्ष पनि हुनुहुन्छ । प्रतिस्पर्धा त चुनौतीपूर्ण देखिन्छ नि ?

काउन्टपार्ट बलियो हुनुहुन्छ । तर महासंघमा उहाँ भन्दा म पुरानो हो । म महासंघमा लामो समयदेखि आवद्ध छु । १२ वर्षदेखि म निरन्तर कार्यकारी सदस्यको रुपमा आफ्नो जिम्मेवारी निभाउँदै आएको छु । महासंघमा मेरो राम्रो अनुभवसँगै मजबुत बेस पनि बनिसकेको छ । त्यसकारण यसपटकको वस्तुगत उपाध्यक्षमा मैले अवश्य जित्छु भन्नेमा म विश्वस्त छु ।

कोरोना कहरले अर्थतन्त्र ध्वस्त पार्दैछ, उद्योग बाणिज्य महासंघको एक नेता तथा आसन्न साधारण सभाको उम्मेद्वारको हैसियतले तपाईंको रणनिती के छ ? कसरी अर्थतन्त्रलाई साम्मन्य अवस्थामा फर्काउन सकिन्छ ?

कोभिड १९ ले धेरै समस्या निम्ताएको छ । यसको मुख्य समस्या भनेको देशको अर्थतन्त्रलाई गम्भीर चोट पु¥याएको छ । अनिश्चितकालीन लकडाउन त्यसपछिको निषेधाज्ञा लगायतका कारण व्यवसायहरु धेरै धरासायी बने, अझै भासिने अवस्थामा छन् । शुरुवातदेखि कोरोना कहर उस्तै छ बाँच्नकै लागि पनि अब कोरोनासँग सावधानी अपनाएर आफ्नो व्यापार व्यवसाय शुरु गर्नुको विकल्प छैन । व्यक्ति, व्यापारी, व्यवसायी, संघ संस्थाहरु अब सुरक्षाको मापदण्ड अबलम्बन गरेर सूचारु गर्नैपर्छ । हामीले सरकारसँग रिलिफ प्याकेज माग ग¥यौँ त्यसमा सरकारको तर्फबाट खासै चासो दिईएन । त्यसपछि हामीले रिभाइबलको कुरा ग¥यौँ त्यो भने चालु वर्षको बजेटमा केहि हदसम्म सम्बोधन गरियो ।
देशको अर्थव्यवस्था हेर्नुहुन्छ भने ७० प्रतिशत भन्दा धेरै हिस्सा निजी क्षेत्रको रहेको छ । सरकारले समृद्ध नेपाल सुखि नेपालीको नारा लगाईरहँदा देशको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७० प्रतिशत भन्दा माथि चाहन्छन् । राज्यको अर्थतन्त्रको धरोहर भनेकै निजी क्षेत्र हो र अब अर्थतन्त्र घान्ने काम पनि निजी क्षेत्रले नै गर्नेछ । चालू आर्थिक वर्षको अन्त्यमा राज्यको आर्थिक वृद्धि हेर्ने हो भने शुन्य अथवा ऋणात्मक हुने अवस्था देखिन्छ । यसलाई बढाउन देशको जिडिपीलाई पुरानै लयमा फर्काउन आवश्यक रहेको छ । जिडिपीको वृद्धिदर १० प्रतिशतको बनाउन पर्ने एउटा ठूलो जिम्मेवारी निजी क्षेत्रको रहेको छ ।

देशमा एउटा लगानीको वातावरण चाहिएको छ । जसमा पालना गर्नसक्ने नीति नियम बनाउन पहल गर्न आवश्यक रहेको छ नत्र नेपालमा नीतिनियम बनाउने अनी कार्यान्वयनको समयमा परिभाषा परिवर्तन गर्ने पुरानो रोग हो । यसको विरुद्धमा हामीले एउटै स्वर बनाउन आवश्यक रहेको छ । अर्को भनेको देशमा पूर्वाधार विकासमा समस्या रहेको छ । छन त छ, बन्दै पनि छ, राजमार्गहरु बन्दै छन् तर अत्यन्तै सुस्त र नाजुक विकास छ । सरकारले रेलको परिकल्पना गरेको छ । जुन अत्यन्तै सकारात्मक छ । मध्य पहाडी क्षेत्रमा रेलमार्ग सहित सहायक बाटोको विकास गर्न सके यसले कनेक्टिभिटिमा ठूलो भूमीका खेल्ने छ । पूर्व, पश्चिम, उत्तर,दक्षिणलाई जोडेर लिंकेज बढाउन सकिन्छ । जसले ढुवानी खर्चमा व्यापक सुधार ल्याउन सक्छ र व्यापारको लागत घट्न जान्छ परिणामस्वरुप कस्ट अफ डुइङ विजेनेशमा हामीले ठूलै फड्को मार्न सक्छौँ ।

अर्को भनेको नेपालमा ब्याजदरको समस्या रहेको छ । एक त ब्याज नै धेरै छ त्यही माथि धेरै उतारचढाव भइरहन्छ । जुन व्यक्ति, संस्था र अर्थतन्त्रलाई नै हानीकारक हो । यसलाई एकल डिजिटमा झारेर अर्थतन्त्रलाई गती दिन सक्नुपर्छ । अर्को भनेको कच्चा पदार्थको समस्या हो । हामीले बच्चैदेखि सुन्दै पढ्दै आएको हो नेपाल कृषि प्रधान देश हो भनेर तर नेपालको बिडम्बना त्यही कृषि उपज खाद्यान्न पनि ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था छ । कमसेकम कच्चा पदार्थहरुमा कृषि उपजमा त हामी आत्मनिर्भर हुन सक्छौँ । अब भनेको स्वाबलम्बन बन्ने उपाय अबलम्बन गर्नेबेला हो । तर, यस्तो कुरा विगतमा पनि भएको हो । भुकम्प आउँदा, देशमा नाकाबन्दी हुँदा देशलाई आत्मनिर्भर गराउन पर्छ भनेर धेरै जना लागि परेका थिए तर समय र परिस्थिती मिल्दै जाँदा यो कुरा पनि बिर्सिँदै गएका छन् । तर अब भने यस विषयमा पनि गम्भिर हुन आवश्यक छ ।

नेपालको कृषि उत्पादन, वन पैदावारबाट हुने उत्पादनहरु, काठहरुको उत्पादन बढाएर आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुछ । वन जङ्गललाई व्यवसायीकरण गरेर पर्यावरणलाई ध्यानमा राखेर पनि विकास गर्न सकिन्छ । पछिल्लो समय जमीनको तिव्र खण्डिकरण भइरहेको छ । व्यवसाय पनि भएको छ तर स सना ठाउँमा सानो स्केलमा मात्र भइरहेको छ जसले उत्पादनमा सहजता भन्दा पनि उत्पादनको लागत बढाइरहेको छ । कन्ट्रयाक फार्मीङ र चक्लाबन्दीलाई बढवा दिएर अगाडी बढ्नुछ । यहि नै हुन् मेरा एजेन्डा पनि ।

हामी हेर्न सक्छौ कि महासंघ व्यक्तिवादी संस्कारमा केन्द्रित छ, तर हुनु पर्ने त संस्थागत अभ्यास हो नि । यसलाई कसरी सुधार गर्न सकिन्छ ? के कस्तो योजनाहरु छन् ?

हो । नेपाल उद्योग वाणिज्य महासंघ केहि व्यक्तिवादी देखिएको छ । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई एउटा सबल संस्था बनाउन आवश्यक छ, व्यक्तिवादी प्रथा हाबी हुन नदिने अभियानमा हामी जुटेका छौँ । हाम्रो प्यानलमा २७ २८ वर्षको अनुभव बोकेका व्यक्तिहरु हुनुहुन्छ, युवा शक्ति छ परिवर्तन गर्नुपर्छ भन्ने अभियानमा नै हाम्रो प्यानल लागिपरेको छ । हामीले हाम्रो स्कुलिङदेखि नै संस्थागत उपायहरु अपनाउनु पर्छ । सार्वजनिक संस्थामा व्यक्तिवादी प्रथा हटाउँछु भन्ने हाम्रो प्रतिबद्धता हो ।

तपाईं लामो समयदेखि महासंघको विभिन्न पदमा बसेर काम गर्नु भयो आफ्नो कार्यकाललाई कसरी मुल्याङ्कन गर्नुहुन्छ र अब नेतृत्व तहमा जाँदै हुनुहुन्छ स्ट्रयाटेजी कस्तो बनाउनु भएको छ ?

मेलै सधै आफ्नो कर्तव्य जस्टिफाई गरेको छु । म महासंघ प्रवेश गर्दा ट्रेडमार्क सम्बन्धी ऐन नियममा धेरै समस्या थियो । उद्योग मन्त्रालय, उद्योग विभागसँगको सहकार्यमा त्यसलाई सहज बनायौँ । विदेशमा भएका चलनहरुलाई अबलम्बन गरेर धेरै नीतिगत सुधार गर्न सफल भयौँ । पहिले ठाउँका ठाउँ ट्रेडमार्क दर्ताहुने व्यवस्थालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सफल भयौँ । अन्तर्राष्ट्रिय ऐनहरुमा पनि कार्य ग¥यौँ । म ९ वर्ष रोजगारदाता परिषद्को सभापति हुँदा सामाजिक सुरक्षा ऐन, श्रम ऐनहरुको अभ्यास ग¥यौँ । उद्योग समितिको सभापति रहँदै गर्दा औद्योगिक व्यवसायी ऐन, वातावरण ऐनका लागि काम गरेको छु । साथै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा आयातित वस्तुमा गुणस्तरको जाँच र गुणस्तरको चिन्ह बनाउने कार्यमा मैले आफ्नो भूमीका निर्वाह गरेको छु । म सेजको पनि बोर्ड सदस्य हुँ । सेजलाई अगाडी बढाउनु पर्छ भन्नुका साथै नेपालको गारमेन्ट उद्योगको पदन्नोती गराउन पनि म सामेल रहेको छु । मलाई लाग्छ मैले आफ्नो कर्तव्य पूर्णरुपमा पालना गरेको छु र अहिलेसम्म गरेको सम्पूर्ण कामको जस्टिफिकेशन गर्न सक्षम पनि रहेको छु ।

वस्तुगत तर्फको सदस्य संगठनहरुसँग कुरा गर्दा महासंघले हामीलाई केवल मतदाताको रुपमा लिएको छ, न त संस्थागत बिकासमा सहयोग गर्छन् न त नीतिगत बहसमा पहुँच पुर्याउन सहयोग नै गर्छन् भन्ने गुनासो छ । तपाईं बस्तुगत तर्फको आगामीको कार्यकालको लागि उम्मेद्वार पनि, यसमा तपाईंको धारणा के छ ?

म कहाँ मेरो जानकारीमा आएका कूराहरु, समस्याहरु र सुझावहरुलाई मेलै सक्दो रुपमा सरकार समक्ष बुलन्द आवाजमा राखेको छु । महासंघ भनेको निजी क्षेत्र र सरकार बीचको पुल हो भन्ने कुरालाई उजागर गराएको छु । समस्या होलान् नहोला भन्न मिल्दैन । अहिलेको नेतृत्वको गल्ती होला तर मेरो वाचमा मैले सबैको समन्वय र सहभागीता गराएरै अगाडी बढेको छु । सबैलाई सेक्टरल हिसाबले विभाजन गरेर आगाडि बढेको छु । समस्या जहाँ देखिन्छ त्यहाँ भन्ने हो गल्ती मेरो होइन कसको कमजोरीले के गल्ती भएको छ भन्ने कुरा पनि पत्ता लगाउनु प¥यो । त्यसको लागि पनि महासंघको नेतृत्व आवश्यक छ । सेक्टरल इस्युहरुलाई सेक्टर मै विभाजन गरेर ५ वर्ष सम्मको चुनौती र अवसरहरुको पूर्ण रुपमा छलफल गरेको छु । वस्तुगत संघतर्फ भोलीको दिनको योजना समेत तयार पारेर राखेको छु । समन्वय र सहकार्य गरेरै सबैको व्यापार व्यवसाय फस्टाउनु पर्छ भन्ने मेरो मुल मान्यता हो ।

महासंघमा ब्यापारीले ब्यापारीसँग प्रतिस्पर्धा गर्छन् र जित्नको लागि राजनीतिक शक्ति केन्द्र धाउँछन्, आफ्नो एजेन्डा र कार्यनिती भन्दा पनि राजनीतिक सम्पर्क र पैसाको आधारमा जित्न खोज्छन् । यो त गलत थिती हैन र ?

नेपाल उद्योग वाणिज्य महासंघ विशुद्ध व्यवसायीक संगठन हो । महासंघको विधानमा नै लेखिएको छ, राजनीतिक संलग्नता भएको व्यक्ति महासंघको निर्वाचन लड्न पाउँदैन भनेर । महासंघ गैर राजनीतिक संस्था हो, जो राज्यको आर्थिक र सामाजिक रुपान्तरणका लागि लड्ने संस्था हो । राजनीतिक साथ लिएर कोही आउँछ भने त्यो काम छैन । मैले मेरो जेन्रेश्नका लागि मात्र काम गर्ने होइन नयाँ पुस्ताका लागि पनि वातावरण बनाएर अघि लग्नु पर्नेछ । विश्वमा ओपन इकोनोमीको अवधारणा छ । विश्वलाई नै एउटा मार्केट बनाएर अगाडी बढ्न सकिने अवस्था छ तर प्रतिस्पर्धा भने व्यापक बढेको छ । यस्तै अवस्थामा लागनीको वातावरण बनाएर भिजन भएको व्यक्तिले मात्र महासंघको नेतृत्व गर्न सक्छ न कि राजनीतिक दम्भमा ।

निर्वाचन नजिकिँदै जाँदा हार्टबिट कतिको बढिरहेको छ ?

अफकोर्स म पनि मान्छे हुँ र यो एउटा परिक्षा हो । मुटु धड्किनु स्वभावीक हो । उत्साह, उमङ्ग र चुनौतीले धड्कन बढाएको छ । तर यसपटकको चुनाव मैले जित्छु भन्नेमा पनि म विस्वस्त रहेको छु ।

अन्त्यमा आफ्ना सहकर्मी, महासंघ पदाधीकारी एवम् मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघ निजी क्षेत्रको धरोहर हो । नेपालमा अब लगानीको वातावरण बनाएर सबैको लगानी सुरक्षित गर्ने र महासंघलाई बलियो बनाएर निजी क्षेत्रलाई संरक्षण गर्ने हाम्रो प्रमुख जिम्मेवारी हो । तसर्थ म लगायत मेरो प्यानललाई अत्याधिक मत दिएर विजयी गराउनुहुन आग्रह गर्दछु ।।
धन्यवाद ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?