के हो श्रीमद्भगवद् गीता ?

काठमाडौं । श्रीमद्भगवद् गीता अत्यन्त गहन अर्थ,भाव र गूढ रहस्य भएको महान् धार्मिक एवम् आध्यात्मिक ग्रन्थरत्न हो ।

यसका प्रत्येक श्लोक अत्यन्त मार्मिक,भावपूर्ण र पवित्र एवम् अमृतमय छन् । भगवद्गीताको अध्ययन,मनन् ,चिन्तन् आदीबाट असीम आनन्दको अनुभूति हुन्छ र चित्तमा शान्ति पैदा हुन्छ ।

मनमा दुर्वल एवम् कलुषित दुर्भावनाहरु मेटिन्छन् । कर्ममार्गमा संलग्न रहने प्रेरणा मिल्दछ र ईश्वरप्रति श्रद्धा,विश्वास र भक्तिभाव पैदा हुन्छ ।

भगवद्गीताको प्रमुख विशेषता मानिएको कर्मयोग,ध्यानयोग,भक्तियोग,ज्ञानयोग र आत्मा एवम् परव्रह्म तथा श्रीकृष्णस्वरुप सम्बन्धी तत्वहरुको बारेमा अलग अलग अध्यायमा प्रश्तुत गरिएको छ ।

यसमा वेद,उपनिषद् र व्रह्मसूत्र आदीमा पाईने सबै रहस्यहरु समाविष्ट छन् । गीता समग्र आर्यसंस्कृति,आर्यसभ्यता र हाम्रा धार्मिक एवम् आध्यात्मिक परम्पराकै सर्वस्व हो । त्यसैले भगवद्गीतालाई अद्वैत–ज्ञानको अमृत बर्साउने भगवत्स्वरुपा भनेर प्रशंसा गरिन्छ ।

भगवद्गीता ईश्वरीय वाणीको प्रस्फुटन हो, ईश्वरीय हृदयको स्पन्दन हो, ईश्वरीय ज्ञानको उद्वोधन हो र ईश्वरीय आत्माको ज्योतिर्मय प्रकाशन हो ।

यसले आत्मा र परमात्माका यथार्थस्वरुपको बोध गराई प्राणीमात्रलाई परमात्मासित साक्षात्कार गराउन महत्वपूर्ण कडीको काम गर्दछ ।

भगवद्गीताको यथार्थ स्वरुपलाई बुझ्न यसको अध्ययन,अनुगायन,मनन ,चिन्तन,र अनुशीलता राम्ररी गर्न अपरिहार्य छ र यसको राम्रो अध्ययन गर्न सकेमा अन्यशास्त्रको अध्ययनको त्यति आवश्यता पर्दैन भनेर भन्न सकिन्छ ।

भगवद्गीता आकृतिमा ७०० श्लोक मात्रको सानै ग्रन्थ भएपनि यो एउटा गरिमामय कल्पतक हो र ज्ञानरुपी अमृतसागर हो ।

यसले मानव मात्रमा एउटा उच्चतम् आदर्श र मर्यादा प्रतिष्ठापित गर्दछ । मानव समुदायको कल्याणको कामना र मानिसलाई परव्रह्म परमात्मासित साक्षात्कार गराउने साधन र उपाएहरुको बोध गराउँछ ।

मानिसको मन द्वन्द्व र विक्षोभरहित स्वच्छ एवम् पवित्र हुनुपर्दछ र सांसरिक भोगविलासको कामना र लालसाबाट मुक्त रहनुपर्दछ भन्ने कुरा अवगत गराउँछ ।

त्यसैले गीताग्रन्थ सबै जाती,सम्प्रदाय,वर्ण,आश्रम र धर्म मान्नेहरुका लागि उत्तिकै उपयोगी सिद्ध भएको छ र सबैको कण्ठहार बन्न पुगेको छ ।

भगवद्गीताको अध्ययनबाट मानिसलाई सांसरिक शोक र मोहादीबाट छ्ट्कारा मिल्दछ र उच्चतम् ज्ञान प्राप्त भई निष्काम कर्म र मानवसेवा एवम् अन्य कल्याणकारी कार्यमा लाग्ने प्रेरणा मिल्दछ । साथै शरणागतिरुप भगवद्–भक्तिभावमा समर्पित हुनसक्ने अदम्य शाहस पैदा हुन्छ ।
भगवद्गीताको उपदेशबाट महाभारत युद्धमा अर्जुनलाई स्वधर्मको परिपालनरुप अन्यायको विरुद्ध लड्न प्रेरणा मिलेको देखिन्छ । तर पनि पनि मूलतः शान्तिको प्रतिक हो र अध्यामभावको प्रश्फुटन हो ।

भगवद्गीताले उपनिषद्को व्रह्मविद्या,साङ्ख्यको ज्ञानयोग,योगशास्त्रको ध्यानयोग र श्रीमद्भागवद्मा पाईने भक्तियोग एवम् शरणागतिरुप मार्गसहितको अनेकौँ धार्मिक विचारधारा र सिद्धान्तहरु समेतलाई एक सुत्रमा आवद्ध गरेर विभिन्न मार्ग र पद्धतिहरुका समन्यव गर्ने काम गरेको छ ।

भगवद्गीताको पहिलो छ अध्यायसम्म कर्मयोग ,दोश्रो सातदेखि बाह्रौँ अध्यायसम्म भक्तियोग र तेस्रो तेह्रौँ अध्यायदेखी अठारौँ अध्यायसम्म ज्ञानयोगको प्रतिपादन र तिनको विशेषताहरुको विवेचना गरिएको छ ।

नोटः आगामी आलेखमा माथि लेखिएका योगका बारेमा व्याख्या तथा विवेचना गर्दै जानेछौँ ।
ज्यो. दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?