तात्यो चुनावी माहोल : गुणनिधि तिवारी भन्छन्, ‘केन्द्र र जिल्ला-नगरबीचको दूरी घटाउन मेरो उम्मेद्वारी’

प्रस्तुत कोइराला/काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्र ढकाल प्यानलबाट जिल्ला नगर तर्फको उपाध्यक्षका उम्मेद्वार हुन गुणनिधि तिवारी । विक्रम संवत् २०६२ सालमा महासंघ प्रवेश गरेका तिवारी पछिल्लो ७ वर्ष निरन्तर रुपमा जिल्ला नगरतर्फ आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेका छन् ।

जिल्ला नगरको समस्या नजिकसँग नियाल्न पाइरहेका तिवारीलाई जिल्ला नगरमा, जिल्ला नगरकै व्यक्तिहरु हुनुपर्छ भन्ने विश्वास र हौसला जिल्ला नगरकै व्यवसायहरुले दिइरहेको उनी बताउँछन् । साथै महासंघ कमजोर भयो यसलाई बलियो बनाउनु पर्‍यो भन्ने सर्वत्र कुरा चलिरहँदा तिवारी भने जिल्ला नगरलाई बलियो बनाएर मात्र महासंघ बलियो हुन्छ भन्ने धारणा राख्दछन् ।
प्रस्तुत छ, नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा चन्द्र ढकाल प्यालनका जिल्ला नगर तर्फका उपाध्यक्षका उम्मेद्वार गुणनिधि तिवारीसँग गरिएको यो कुराकानी :

महासंघको निर्वाचन मिति नजिकीँदै गर्दा लास्ट आवर स्ट्राटेजी के के छन् ?

चुनाव त पहिले चैत्रमा सम्पन्न भइसक्नु पर्ने थियो । कोभिड १९ को कारणबस समयमा निर्वाचन हुन सकेन । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितीको निर्णय अनुसार समिती गठन गरि विभिन्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मंसिर १३ गते महासंघको निर्वाचन गर्ने निर्णय गरिएको हो । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघलाई धेरै अन्योलमा नराखी समयमै स्वास्थ्य सुरक्षा अपनाएर निर्वाचन गर्न गृह मन्त्रालयले पनि लिखित सुझाव दिएको कारण निर्वाचन भने यहि मंसिर दोस्रो साता नै हुनेछ । यसमा कुनै विवाद छैन, तयारीको कुरा गर्दा तयारी पनि लामो समयदेखि चलिरहेकै छ । चुनाव लम्बिँदै गएपनि कोभिडको कारणले सबै ठाउँमा पुग्न भने सम्भव भएन । तर पनि धेरै साथिहरुसँग भेटवार्ता भने भएको छ । हामी प्रदेश २ बाहेक अन्य सबै प्रदेशमा गएर साथिहरु भेटिसकेका छौँ । साथिहरुकै राय, सल्लाह, सुझावले नै हामी अगाडी बढिरहेका छौँ । र अब भने हामी काठमाडौं मै केन्द्रित छौँ । चुनाव कसरी सहज, सरल र सुलभ ढङ्गले सम्पन्न गर्ने भन्नेमा लागिपरेका छौँ ।

आसन्न निर्वाचनमा जिल्ला नगर तर्फ २ जना उम्मेदवार छन्, दुवै पक्षले जिल्ला नगरमा आफ्नो पकड बलियो रहेको बताउँछन् । जिल्ला नगरमा तपाईंको पकड कत्तिको बलियो देख्नुहुन्छ ?

नेपाल उद्योग वाणिज्य महासंघका मतदाता भनेका आम सर्वसाधारण जस्तो होइन । २० औँ वर्ष आफ्नो व्यवसाय सञ्चालन गरेका छन् । एउटै संगठनमा आबद्ध व्यक्तिहरु छन् जसले व्यापार व्यवसाय र महासंघलाई राम्ररी बुझेका हुन्छन् । नेतृत्वले मतदाता फकाउने भन्दा नेतृत्व आफैँ चुन्ने क्षमता राखेका छन् । कसैले मतदाता फकाएर फकिन्छन् भन्ने यहाँ हुँदैन । तर पनि चुनाव हो र यहाँ पनि २ पक्ष बीच निर्वाचन हुँदैछ । २ पक्ष नै बलियो स्थानमा छन् तर हाम्रो टिममा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल जी पनि बागलुङको सानो जिल्लाबाट आएर राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरकै सफल व्यवसायी बन्न सफल हुनुभएको छ । हाम्रो टिमलाई हेर्ने नजर केहि हदसम्म फरक छ । वरिष्ठ उपाध्यक्ष मात्र होइन हाम्रो टिममा सबै जना अत्यन्तै अनुभवी हुनुहुन्छ । म २०६२ सालमा महासंघ प्रवेश गरेको थिएँ जसमा निरन्तर ७ वर्षदेखि जिल्लानगरप्रति आफ्नो जिम्मेवारी बहन गर्दै आएको छु । हाम्रो टिम सक्षम छ । एशोसिएट तर्फको उम्मेदवार हेर्ने हो भने पनि सफल व्यवसायी हुनुहुन्छ वस्तुगततर्फ हेर्ने हो भने पनि उत्तीकै अनुभवी उम्मेद्वार हाम्रो टिममा हुनुहुन्छ । साथै हाम्रो केन्द्रिय सदस्यहरुको उम्मेद्वार पनि २० औँ वर्षको अनुभवी व्यक्तिहरु हुनुहुन्छ जसले महासंघलाई राम्रोसँग बुझ्नु भएको छ।

महासंघमा सबै भन्दा धेरै मत जिल्ला नगरको हुने गरेको छ । महासंघ निर्वाचनको मुख्य पाटो भनेकै जिल्ला नगर हो । तर पछिल्लो समय महासंघ र जिल्ला नगरबीचको दुरी बढ्दै गएको छ । जिल्ला नगरको साथिहरु महासंघको केन्द्रिदेखि अत्यन्तै रुष्ठ देखिन्छन् । मुख्यत फोन नउठाउने केन्द्रको बानीले हैरानी भएको उनीहरु बताउँछन् । जसले महासंघमा एउटा विश्वासको वातावरण हराउँदै गएको प्रस्ट देखिन्छ । जिल्ला नगरलाई ५० प्रतिशतको क्षमता दिने हक जताउन भने वस्तुगत र एशोसिएटहरुले मात्र रु यसको अन्त्य हुनुपर्छ । महासंघको ५४ औँ वर्षको इतिहासमा हालसम्म जिल्लानगरबाट उपाध्यक्ष पनि बनेको छैन । अध्यक्ष त परैको कुरा हो । ५० प्रतिशत हक भएको जिल्ला नगरबाटै उपाध्यक्ष हुनुपर्छ र यदी उ सक्षम छ भने उ नै अध्यक्ष पनि हुन पाउनुपर्छ । यदि म यस पटक जिल्ला नगरको उपाध्यक्षमा निर्वाचित भएँ भने जिल्ला र महासंघबीचको यो दूरीको अन्त्य गरेर जिल्ला नगरबाटै महासंघको नेतृत्व गराउने मेरो मूख्य भुमीका हुनेछ । जिल्ला नगरका साथिहरुले हाम्रो टिमलाई राम्रो मूल्याङ्कन गर्नुभएको छ । हाम्रो टिमलाई सक्षम देख्नु भएको छ र यहि सक्षमता देखाउने हाम्रो मुख्य एजेन्डा रहेको छ ।

ठूला व्यवसायहरुलाई कोभिड १९ ले खासै केहि फरक पारेको जस्तो देखिँदैन, साना, मझौला तथा जिल्लाका व्यवसायीहरुलाई समस्या पारेको देखिन्छ । जिल्ला नगरको मुद्दा सुनुवाई नै नहुने जस्तो देखिन्छ जिल्ला नगरको आवाज कमजोर हो कि महासंघको ध्यान पुग्न नसकेको हो ?

जिल्ला नगरको भूमीका जति प्रशंसा गरे पनि कम छ । जिल्लानगरका व्यवसायीक साथीहरुले व्यवसायी मात्र संरक्षण गर्नु भएको छैन । आम सर्वसाधारण प्रति पनि सधैव आफ्नो जिम्मेवारी निभाउँदै आउनु भएको छ । कोभिड १९ को विषम परिस्थितीमा आफ्नो व्यापार व्यवसाय ठप्प भएको बेलामा पनि उहाँहरु आफ्नै बलबुतामा अहोरात्र खटिनुभएको थियो । आफ्नै स्रोत र साधनले भ्याएसम्म कोभिड लगायत बाढि पहिरोदेखिको समयमा जिल्लानगरका साथीहरु खटिनुभएको थियो । जिल्ला नगर संघ कहिले पनि आफ्नो जिम्मेवारीबाट पछि हटेको छैन। तर तपाईले भने जस्तै जिल्लानगरका मुद्दाको विषयमा सुनुवाई हुँदैन यो किन भएको भने अहिलेसम्म जिल्लाको साथी नै जिल्लाको उपाध्यक्ष बन्न पाएका छैनन् । अबको लडाईं त्यही हो । अब जिल्लाको मानसिकता पनि फेरिएको छ । जिल्लाको उपाध्यक्ष जिल्लाकै व्यक्ति हुनुपर्छ भन्ने धारणा राख्छन् । यदि यसपटक म नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा निर्वाचित भए भने यो नै मेरो मुख्य एजेन्डा हुनेछ । म त्यो ठाउँमा पुगे भने अब आउँने निर्वाचनमा जिल्ला नगर तर्फ जिल्ला नगरलाई नै बलियो बनाउने हो ।

महासंघ भित्रको जिल्ला नगर परिषद्लाई प्यारालाईसिस लागे जस्तो बनाएर राखिएको छ । यसलाई फूल क्षमतामा विकास गर्नुछ । जिल्ला नगरका व्यापारी अथवा साना व्यापारीहरुलाई महासंघले सम्मान दिएको छैन । महासंघ भनेको हिमाल, पहाड, तराईको हरेक ठूला साना व्यापारीहरुलाई उत्रिकै सम्मान दिने खालको हुनु पर्छ । भलै त्यो तराईको सानो पान पसले किन नहोस् उसलाई पनि उसको छाता संगठन भएको महशुस गराउन सक्नुपर्दछ । उ पनि आफ्नो महासंघमा आउँदा सम्मानित भएको महशुस हुनुपर्दछ । छाता संगठनको महत्व सबल र छुट्टै सचिवालय बनाएर जिल्ला नगरलाई बलियो बनाउने नै हो । अहिले ९० प्रतिशत जिल्लाको मुद्दा सुनुवाई हुने गरेको छैन । चुनावको समयमा भोट माग्यो समस्या जहाँको त्यही । कम से कम सुनिदिनु त पर्छ । विभिन्न बाधा अड्चनहरु हुनसक्छन् छलफल त गर्नु पर्छ नि । अफ्ठेरोमा परेको बेलामा जिल्ला नगरले सधै महासंघको इज्जत धान्ने जिल्ला नगरलाई परेको बेलामा फोन समेत नउठाउने रु महासंघ र जिल्ला नगरको समस्या निर्मूल गरेर गाढा सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

महासंघले किन जिल्ला नगरको क्षतमा नै बढाउन सकेन ?

हो, मुख्य समस्या मैले अघि नै भनिसकेँ जिल्लाको साथीहरुको पहुँच केन्द्रमा नभएर नै हो । जिल्लाको पनि धेरै कमी कमजोरीहरु पनि छन् । अहिले नेपाल उद्योग वाणिज्य महासंघमा १०६ वटा संघहरु आवद्ध छन् । यो संख्या बढ्दै छन् । १०६ संघमध्ये अधिकांश संघहरु आर्थिक रुपमा सार्है कमजोर छन् । कर्मचारी पाल्न नै धौ धौ देखिन्छन् । उनिहरुलाई आर्थिक रुपले कसरी सक्षम बनाउने पहिलो कुरो हो । कसरी र कहिले बनाउने नै मुख्य कुरा हो नत्र यहाँ जति बोलेर मात्र केहि हुनेवाला छैन । गाउँको मेला महोत्सव आयोजना मात्र गरेर केहि हुँदैन आर्थिक रुपमा कमजोर संघहरुको स्रोत पहिचन गरि बलियो सचिवालयको विकास गर्दै उनीहरुलाई सक्षम बनाउन तर्फ लाग्नुपर्छ । पहिले नहुने पनि होइनन् जिल्लानगरमा धेरै प्रोजेक्टहरु आउने गर्थे यहि २ ३ कार्यकालदेखि सिस्टम बिग्रिएको हो । हो त्यसैले हिजोको कमी कमजोरीहरु सुधारेर सचिवालयको क्षमता वृद्धि गर्दै लग्नुपर्नेछ । साथै, कोभिडले चुनौती सहित उत्तिकै अवसरहरु पनि थपेको छ । विदेशबाट फर्किएकाहरुको डाटा लिएर व्यवसायीक कृषीतर्फ आकर्षीत गर्न सकिन्छ । बैंक लोनको व्यवस्था, स्वदेशी तथा विदेशी लगानीको अवस्थाको बारेमा सचेत गराउँदै व्यवसायीकरण र बजारीकरणको माध्यमबाट आर्थिक स्थायित्व बनाउने हाम्रो योजना रहेको छ ।

तपाईंसँग भिजन र मिसन दुवै छ तर कार्यन्वयन गर्न जित्नुपर्छ । सम्भावना कतिको देख्नुहुन्छ  ?

हामी अत्यन्तै आशावादी छौँ । भेटघाटको क्रममा साथीभाईहरुले देखाउनु भएको विश्वासका कारण पक्कै पनि जित्छौँ भन्नेमा हामी रहेका छौँ । हामी ३ वर्षको भिजन सहित महासंघमा लडिरहेका छौँ जुन हामीले आउँदो साधारण सभामा सार्वजनिक गर्नेछौँ । भिजन र मिसन भएकै कारण यो निर्वाचन लड्न परेको हो ।

तपाईको प्रतिद्धन्दी किशोर प्रधान प्यानलका जिल्ला नगर उपाध्यक्षका उम्मेद्वार दिनेश श्रेष्ठ पनि बलियो देखिनुहुन्छ । समस्या त निम्तिने होइन ?

 प्रतिद्धन्दी भन्दा पनि साथी भन्न रुचाउँछु । त्यही पनि निर्वाचन हो प्रतिद्धन्दी नै भन्नु पर्छ । कोहि व्यक्ति पनि म कमजोर छु म हार्छु भन्ने सोचले चुनाव लड्दैन सबैभित्र आफूमाथी एउटा विश्वास हुन्छ । जुन विश्वासको आधारमा चुनाव लडिन्छ । सक्षमताको कुरा गर्दा यत्रो लामो अनुभव भएका व्यक्तिहरु हुनुहुन्छ । सबै जना सक्षम हुनुहुन्छ । अहिले निर्वाचनमा प्रतिद्धन्द्धी भनिएपनि भोलीका दिनमा हामी सबै एकजुट भएर लाग्नुपर्छ त्यसको विकल्प छैन । महासंघ भित्रका सबै सदस्यले सम्मान पाउनु पर्‍यो बाँकी रह्यो चुनावको नतिजा त्यो मतदाताहरुको रोजाई अनुसार पाइन्छ । एक पक्षले जित्छ भने अर्को पक्षले हार स्विकार्नु पर्दछ जुन मंसिर १३ पछिको निर्वाचनबाट थाहा हुनेछ ।

अन्त्यमा आफ्ना सहकर्मी, महासंघ पादधीकारी एवम् आव व्यवसायी साथीहरुलाई के भन्न चाहनुहुन्छ ?

हामी निर्वाचनको अन्तिम घडिमा आइपुगेका छौँ । तर निर्वाचन भनिरहँदा विश्व महामारी कोरोना भाइरसलाई भने नबिर्सिऔँ । हामीले लिखित रुपमा पनि सबै मतदाताहरुलाई बुझाएका छौँ । मतदान गर्न आउँदा सचेत भएर आउनुहोस् । धेरै संख्यामा भिडभाड गर्नुहुँदैन । सुरक्षित भएर आउन हार्दिक आग्रह गर्दछु । तपाईहरु जसरी सुरक्षित भएर आउनुहुन्छ त्यसरी नै सुरक्षित भएर जानुभयो भने महासंघको चुनाव सफल हुनुको साथै तपाईहरु पनि सुरक्षित रहनुहुन्छ ।

धन्यवाद् !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?