महासंघका भावी अध्यक्ष शेखर गोल्छाका चुनौती

काठमाडौं । अर्थतन्त्रको धेरै हिस्सा ओगटेको निजी क्षेत्र अहिले तुलनात्मक रुपमा धेरै समस्यामा परेको अवस्था छ । नेपाल राष्ट्र बैंकको सर्वेक्षणले लकडाउनपछि कतिपय व्यवसायलाई सामान्य अवस्थामा फर्कन मात्र एक वर्षको समय लाग्ने देखाएको छ । कोरोनाका कारण चालु आर्थिक वर्षमा प्रचलित मूल्यको कुल गार्हस्थ उत्पादन करिब १६८ अर्बले क्षति पुगेको प्रारम्भिक अनुमान केन्द्रीय बैंकले गरेको छ ।

महामारीका कारण नेपालको सन्दर्भमा होटल तथा रेष्टुरेन्ट, यातायात, निर्माण र व्यापार क्षेत्रको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा धेरै क्षति पुगेको केन्द्रीय बैंकले जनाएको छ । कोरोनाका कारण भएको र हुनसक्ने अधिकांश नोक्सानी भनेको निजी क्षेत्रलाई नै हो । देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको निजी क्षेत्र बाँच्नै नसक्ने पो हो कि भन्ने अवस्थामा अहिले देखिँदै गएको छ ।

वर्तमान अवस्थामा सर्वाधिक ठूलो चुनौती भनेको कतै आगामी बर्ष नेपालको कुल गार्हस्थ उत्पादन जीडीपी वृद्धिदर कतै नकारात्मक नै त हुने होइन भन्ने हो र जीडीपी वृद्धि अत्याधिक न्यून हुन नदिन सरकार र निजी क्षेत्रले कसरी समन्वय गर्दै अर्थतन्त्रलाइ जोगाउने भन्ने नै हो ।

चुनौती नै चुनौती

कोरोना भाइरसका कारण आवतजावतमा गरिएको कडाई तथा देशका सीमानाका बन्द रहेको हुनाले आर्थिक गतिविधि अघि बढ्ने अवस्था छैन । यसले सामान ओसारपसार तथा ढुवानी व्यवस्था पनि साविकको तुलनामा केही जटिल बनेको छ । वस्तु तथा सेवा खरिद बिक्री गर्ने अवस्था छैन भने आयात निर्यातमा समेत उत्तिकै जटिल अवस्था छ । यसले सर्वसाधारणको बाहिर हिँडडुल गर्ने तथा आर्थिक क्रियाकलाप चलायमान हुने अवस्था नहुँदा उद्योग धन्दा, व्यापार व्यवसायहरु पनि प्रायः बन्द अवस्थामा छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ । कतिपयको उद्योग, व्यापार व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको छ । त्यसैगरी निर्माण क्षेत्रका कामहरु समेत ठप्प नै छन् ।

विकसित अर्थतन्त्रमा माग र आपूर्तिको संयन्त्र नै बिग्रिएपछि त्यसलाई लयमा फर्काउनु नै पहिलो र मुख्य चुनौती हो । त्यति मात्र नभई औपचारिक भन्दा अनौपचारिक अर्थतन्त्र ठूलो भएको देशका लागि अहिलेको अवस्था आउनु नै चुनौतीपूर्ण हो । अहिलेको विषम परिस्थितिमा अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतर्फ ल्याउन सकेको खण्डमा समस्या समाधानका लागि सहज हुने देखिन्छ ।

कोरोनाको प्रभाव सुरु हुनु पहिले दैनिक करिब १० अर्बको कारोबार गर्ने निजी क्षेत्र अहिलेको अवस्थामा निकै संकुचित भएको छ । त्यसका साथै रोजगारी सिर्जना गरेर मानिस काममा फर्कने तथा पुरानो दैनिकीमा फर्काउनु पर्नेछ । त्यसका लागि निजी क्षेत्रले वस्तु तथा सेवाको उत्पादन तथा वितरणलाई प्रभावकारी बनाई पुरानो लयमा आउनु निकै चुनौतीपूर्ण रहेको हुनाले सरकारले पनि पूँजीगत खर्च बढाई आर्थिक गतिविधि बढाउनमा मद्दत गर्नुपर्ने देखिन्छ ।

आयातमा आएको गिरावटका कारण हालसम्मकै उच्च देखिएको विदेशी विनिमय सञ्चितिले पूँजी निर्माणका लागि काम गर्न सक्ने भए पनि आगामी दिनमा आयात बढ्ने र रेमिट्यान्स आप्रवाहमा कमी आएको खण्डमा त्यसले पनि खासै टेवा पुर्याउने अवस्था छैन । वैदेशिक रोजगारीमा गएकाहरु स्वदेश फिर्ता भएको खण्डमा त्यो जनशक्तिलाई आन्तरिक उत्पादन बढाउनमा प्रयोग गर्नुपर्ने हुन्छ । अहिलेको विषम परिस्थितिमा पनि नेपाली अर्थतन्त्रका लागि आन्तरिक उत्पादन बढाउने अवसर समेत देखिएको छ । यसका लागि सरकारले पनि नीतिगत सहजता गरेर अर्थतन्त्रलाई पुरानो रुप दिने मात्र होइन विस्तार पनि गर्नुपर्छ ।

कोरोना महामारीका कारण नेपाली उद्योगहरु संकटमा परेका छन् भने अनौपचारिक रुपमा अर्थतन्त्र धानेको रेमिट्यान्स आप्रवाहमा समेत कमी आउने अवस्था छ । कोरोनाका कारणले अस्तव्यस्त भएको अर्थतन्त्रले बैंकिङ क्षेत्रलाई पनि तानेको खण्डमा झनै जटिल अवस्था आउन सक्छ । बैंकिङ क्षेत्रको खराब कर्जा बढ्ने जोखिम उत्तिकै देखिएको छ ।

महासंघ सुधारका लागि भावी अध्यक्ष शेखर गोल्छाको ४ योजना

१. महासंघ सचिवालयको सुदृढिकरण, जवाफदेहिता र पारदर्शिता
२. थिंक ट्यांकको स्थापना
३. साना तथा मझौला उद्यम विकास संयन्त्र
४. विधान संशोधन

महासंघ भित्रको फोहोरी राजनीतिको अन्त्य गर्नु पनि भाबि अध्यक्ष शेखर गोल्छाको अर्को ठूलो चुनौती रहेको छ । लगातार महासंघ र यसका पदाधिकारीहरु असफल हुदै जानुमा प्रमुख कारण महासंघ भित्रको फोहरी राजनिती नै हो । गोल्छाले यसको अन्त्य गर्न सक्नु पर्छ अन्यथा फोहरी राजनितीले शेखर गोल्छाको कार्यकाल पानी अर्थहिन बनाइदिने निश्चित छ ।

“मेरो दृढ मान्यता के हो भने, उद्योग वाणिज्य महासंघको नेतृत्व चुनाव जितेर मत पाएर आएकाहरुले मात्र गर्नुपर्छ । जब नेतृत्वमा चुनाव नजितेकाहरूले हस्तक्षेप गर्न खोज्छन्, संस्था कमजोर भएर जान्छ । मेरो दृढ भावना के छ भने आउने समयमा जो साधारण सभाबाट मत लिएर यो संस्थाको नेतृत्वमा आउँछन्, उनीहरूले मात्रै बाहिरको कुनै प्रभाव वा दबाब बिना आफ्नो काम अगाडि बढाउनुपर्छ । यसरी नै महासंघको छबि अगाडि बढाउनुपर्छ । निजी क्षेत्रको सेवा गर्नुपर्छ भन्नेमा म विश्वस्त छु । जब–जब मनोनित व्यक्तित्वहरू आएर अनावश्यक रूपमा महासंघको काममा हस्तक्षेप गर्नुहुन्छ भने यो संस्थाको गरिमाका लागि कहिल्यै पनि राम्रो हुन सक्दैन ।“

अर्थतन्त्रको विकासमा भावी अध्यक्ष शेखर गोल्छाको भूमिका

भावी अध्यक्ष शेखर गोल्छाको प्रमुख चुनौती भनेको नयाँ अर्थमन्त्री विष्णु पौडेलसँग समन्वय र विश्वासको वातावरण सृजना गर्दै महासंघ मात्र नभई अर्थतन्त्रका सम्पूर्ण सरोकारवालाहरुको समस्याको निकासको वातावरण निर्माण गर्नु हुनेछ ।

“अहिलेको मुख्य चुनौति भनेको निजी क्षेत्रको मनोबल बढाउनु हो । सबैतिरबाट भइरहेको प्रहारले मुलुकको राजश्व, रोजगारी र आर्थिक वृद्धिमा मुख्य भूमिका निर्वाह गरिरहेको निजी क्षेत्र खुम्चिनु परेको यथार्थ प्रति म अवगत छु । निजी क्षेत्र र निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने संस्थाहरुको साख बढाउने मेरो पहिलो प्रयास हुनेछ ।” शेखर गोल्छाले बताए ।

अहिलेसम्म आएको चुनौतीमा कोभिड–१९ सबैभन्दा ठूलो चुनौती हो । यो अवस्थामा निजी क्षेत्रले उद्योग व्यवसाय सुचारु गर्ने र रोजगारी सिर्जना गर्ने तथा आन्तरिक उत्पादन बढाउने भूमिका निजी क्षेत्रको रहन्छ ।

सरकारले अर्थतन्त्र सञ्चालनका लागि बनाइएका र ल्याइएका नीतिलाई कार्यान्वयन गर्न निजी क्षेत्रले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको अवस्था छ । अप्रत्यक्ष रुपमा निजी क्षेत्रले धानेको अर्थतन्त्रलाई सरकारको नीतिगत लचकताको सदुपयोग गर्दै पुरानै लयमा फर्काउने मुख्य भूमिका खेल्न सक्छ ।

निजी क्षेत्रको नेतृत्वमा अर्थतन्त्र चलायमान भैरहेको हुनाले निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढाउने, आवश्यक वित्तीय स्रोत जुटाइदिने, व्यापार व्यवसायको उपयुक्त वातावरण तयार गर्ने काम भनेको सरकारको हो । त्यसलाई सदुपयोग गरेर अर्थतन्त्रलाई अघि बढाउने जिम्मेवारी निजी क्षेत्रको रहन्छ ।

नीतिगत तहबाट उपयुक्त व्यवस्था गरेर निजी क्षेत्रलाई उत्साहित गरेको खण्डमा अर्थतन्त्र अघि बढ्न समस्या हुने देखिँदैन । योसँगै सरकारले सम्पत्ति शुद्धीकरणका शर्तहरुलाई पनि केही खुकुलो बनाई निजी क्षेत्रलाई अर्थतन्त्र उकास्ने अवसर प्रदान गर्नु पर्ने देखिन्छ ।

यसका लागि महासंघले पनि वर्तमान अवस्थाको आँकलन गरि अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्र र सरकारका बिचमा मिल्न नसकेको तालमेलको पहिचान गर्ने प्रयास गर्नु उपयुक्त हुनेछ । कार्यान्वयन पक्षको धेरै हिस्सा निजी क्षेत्रमा नै निर्भर रहेको अवस्थामा निजी क्षेत्रको सुदृढिकरणको विषयमा महासंघले विशेष खाका बनाएर सरकारसम्म पुग्नुपर्ने टड्कारो आवश्यकता छ ।

पछिल्ला दिनहरुमा महासंघ क्रमिक रुपमा कमजोर बन्दै गइरहेको र नीतिगत तहमा महासंघको भुमिका पनि घट्दै गईरहेको यथार्थलाई आत्मसाथ गर्दै महासंघको अबको नेतृत्वले संस्थाको गरिमा बढाउँदै गुम्दो अवस्थामा रहेको साख बचाउन ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । त्यसमा पनि अहिले अर्थतन्त्र कमजोर बनेको अवस्थामा उत्साहका साथ महासंघले आफ्नो साख बढाउने गरि काम गर्ने हो भने त्यसको फाइदा समग्र उद्योगी, व्यवसायी, नागरिक र सरकारले समेत महसुस गर्न सक्छन् । कतिपय अवस्थामा काम गर्ने योजना भए पनि समय अनुकुल नहुँदा नतिजा देखिँदैन । तर अहिले सरकार निजी क्षेत्रबीचको तालमेललाई केन्द्रमा राखेर महासंघ नेतृत्वले उत्साहका साथ काम गर्ने हो भने त्यसको नतिजा पनि छिट्टै ने देख्न सकिनेछ । यसका लागि महासंघको अबको नेतृत्व एक ढिक्का भएर अघि बढ्नु पर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?