सुविधा बढाएर चिकित्सकलाई गाउँमा बस्ने वातावरण बनाइनेछ : मुख्यमन्त्री गुरुङ

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गाउँगाउँका अस्पतालहरुमा चिकित्सकहरु नबस्ने परिपाटी भएकाले उनीहरुलाई सुविधा बढाएर भए पनि गाउँमा बस्ने वातावरण बनाउने बताएका छन् । मुख्यमन्त्री गुरुङले क्व्होलासोथर गाउँपालिका–९ गिलुङमा १५ शैयाको आधारभूत अस्पतालको आज शिलान्यास गर्दै भने, ‘‘डाक्टरहरुले शहरमा धेरै अस्पतालमा काम गर्ने भएकाले बढी सुविधा हुने हुँदा गाउँमा नटिक्ने भएकाले प्रदेश सरकार र स्थानीय पालिकाले थप सुविधा दिएर भए पनि गाउँमै डाक्टर राख्ने वातावरण बनाउनुपर्छ ।”

गाउँगाउँका अस्पतालमा चिकित्सकहरु नबस्दा ग्रामीण भेगका स्थानीयवासीले शहरका महङ्गा अस्पतालसम्म पुगेर उपचार गर्न बाध्य हुँदै आएको र यसको अन्त्य गरिने उनको भनाइ छ । मुख्यमन्त्री गुरुङले भने, “नागरिकलाई आधारभूत सेवा पुर्याउन तीनवटै सरकार लागिपरेका छन् । यतिमात्र नभई शिक्षा, सडक, खानेपानीलगायतका विकास सरकारले गाउँगाउँमा समेत गरिरहेकाले यस्ता सेवा उपलब्ध हुँदा बसाइँ सराइसमेत रोकिनेछ ।” भवन निर्माणसँगै अस्पताललाई स्वास्थ्य उपकरणले भरिपूर्ण बनाउनुपर्ने भएकाले तीनै सरकारको यसमा ध्यान केन्द्रित छ । मुख्यमन्त्रीले भने, “भवनमात्र भएर हुँदैन आवश्यक उपकरण र डाक्टर अनिवार्य हुन्छ ।”

त्यस्तै मुख्यमन्त्री गुरुङले गिलुङमा सो अस्पताल सम्पन्न भएपछि प्रदेश सरकारका तर्फबाट एम्बुलेन्स सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । यस शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रधारा विष्ट, प्रमुख सचिव विष्णुप्रसाद नेपाल, न्यायाधिवक्ता डा राजेन्द्र घिमिरे, प्रदेश नीति योजना आयोगका सदस्य डा विष्णुराज बराल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, गाउँपालिका अध्यक्ष प्रेम घले, उपाध्यक्ष कुमारीमुनि गुरुङलगायतको उपस्थिति रहेको थियो ।

यस अस्पतालसहित जिल्लामा छ वटा अस्पतालको शिलान्यास गरिएको छ । यहाँ आठ स्थानीय तहमध्ये बेँसीशहर नगरपालिका र दोर्दी गाउँपालिका बाहेकका स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । मस्र्याङ्दी गाउँपालिका–७ भुलभुलेमा १० श्ययाको अस्पताल संविधानसभा सदस्य जमीन्द्रमान घलेले शिलान्यास गरेका छन् । त्यस्तै सुन्दरबजार नगरपालिका–३ च्यानपाटामा संविधानसभा सदस्य डा भीष्मनाथ अधिकारीले १५ श्यया क्षमता अस्पतालको शिलान्यास गर्नुभएको छ । दूधपोखरी गाउँपालिका–२ विचौरमा प्रदेशसभा सदस्य मधु अधिकारीले गरे । राइनास नगरपालिका–४ चक्रतीर्थमा १५ शैयाको आधारभूत अस्पतालको नगर प्रमुख सिंहबहादुर थापाले शिलान्यास गरे।

त्यस्तै मध्यनेपाल नगरपालिका–३ सूर्यपालमा १५ श्ययाको आधारभूत अस्पतालको शिलान्यास नगरप्रमुख रमेशकुमार पाण्डेले गरेका छन् । सङ्घीय सरकारले दोर्दी गाउँपालिकामा १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको थियो । जग्गा प्राप्तिको विषयमा प्रक्रिया नमिल्दा अस्पतालको शिलान्यास कार्यक्रम रोकिएको छ । एघार रोपनी जग्गा किन्ने तयारीमा रहेको र जग्गा किन्नका लागि मन्त्रालयसँग स्वीकृति लिनुपर्ने भए पनि हालसम्म नलिएकाले आज अस्पतालको शिलान्यास कार्यक्रम रोकिन पुगेको गाउँपालिकाले जनाएको छ । दोर्दीले एक महिनाभित्र अस्पताल निर्माण शुरुआत गर्ने गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए । जिल्लाका आठ स्थानीय तह रहेकामा बेँसीशहर नगरपालिका बाहेकका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय तथा छनोट सरकारले गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?