देशैभर फोरजी सेवा बिस्तार, टेलिकम भन्छ : सेवामा भन्दा मोबाइल सेटमा समस्या

काठमाडौं । नेपालमा पहिलोपटक २०७३ सालमा काठमाडौँ र पोखराबाट शुरु भएको फोरजी सेवा नेपाल टेलिकमले ७७ वटै जिल्लामा बिस्तार गरेको छ ।

सबै जिल्लामा फोरजी विस्तारसँगै गुणस्तरको विषयमा धेरै ग्राहकले गुनासो गर्ने गरेको भन्दै टेलिकमले फोरजी प्रयोग हुने मोबाइल सेटको प्रयोगमा समेत ध्यान दिन टेलिकमले आग्रह गरेको छ । टेलिकमले एक सूचना प्रकाशन गर्दै फोरजी सेवा प्रयोगकर्ता ग्राहकले नयाँ मोबाइल सेट खरिद गर्नुअघि एक हजार ८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डका बारेमा जानकारी राखी दुवै ब्यान्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न अनुरोध गरेको छ ।

टेलिकमले जारी गरेको विज्ञप्ति अनुसार, “टेलिकमको फोरजी सेवा एक हजार ८०० मेगाहर्ज ब्यान्ड ३० र ८०० मेगाहर्ज ब्यान्ड २०० मा उपलब्ध गराउँदै आएको छ । ‘तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८०० मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा एक हजार ८०० मेगाहर्ज ब्यान्डमार्फत फोरजी सेवा उपलब्ध हुन्छ । फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्यान्डको फैलावट क्षेत्रबाट अर्को ब्यान्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८०० मेगाहर्ज र एक हजार ८०० मेगाहर्ज दुवै ब्यान्ड उपयोग गर्न सक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ” ।

बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले एक हजार ८०० मेगाहर्ज ब्यान्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउन सक्ने भए पनि केही मोबाइल सेटले ८०० मेगाहर्ज ब्यान्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको टेलिकमले जनाएको छ । दुवै ब्यान्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसक्दा कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गमा पर्न गएको टेलिकमले स्पष्ट पारेको छ ।

फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिने भन्दै मोबाइल सेटको सेटिङमा गएर मोबाइल नेटवर्कको अप्सनभित्र टुजी देखि फोरजीसम्मको विकल्प छनोट गर्न आग्रह गरेको टेलिकमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?