एचआइभी एड्स : ४० वर्षदेखि औषधि खोजिरहेछन् वैज्ञानिक तर मिलेन सफलता

काठमाडौं । भरतपुर अस्पतालमा रहेको एचआइभी उपचार केन्द्रका अनुसार सन् २०२० को १० महिनाभित्र चितवनमा ६७ जनामा एचआइभी एड्सको पुष्टि भएको छ । जसमध्ये १६ जनाको मृत्यु भइसकेको छ । यही १० महिनाको अन्तरालमा समुदायस्तरमा पुगेर ६ हजार ७०६ जनामा गरिएको एचआइभी एड्सको परीक्षणमा ६७ जनामा एचआइभी पोजेटिभ पाइयो भने तीमध्ये ११ जनामा क्षय रोगको संक्रमणसमेत देखिएको छ ।

एचआइभी एड्स एक प्राणघातक रोग हो तर, यसले आफै मानिसको ज्यान लिने भन्दा पनि संक्रमण भएपश्चात् संक्रमितहरुको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने र अन्य रोगहरुले सहजै मानवशरीरमा आक्रमण गर्न सक्ने भएकाले एचआइभी संक्रमितहरुलाई अन्य रोगको जोखिम पनि उत्तिकै हुन्छ ।

एचआइभीको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थ केयर फाउन्डेसन(एएचएफ)चितवनका अनुसार नेपालमा करिब ३० हजार जना एचआइभी संक्रमित भएको अनुमान छ जसमध्ये २३ हजार १ सय ३७ जनामा त रोगको पुष्टि नै भइसकेको छ । त्यसमा पनि प्रभाव न्यूनीकरण गर्नलाई औषधि सेवन गर्नेको सङ्ख्या १८ हजार ६ सय २८ जना मात्र रहेको छ ।

सन् १९८० मा वैज्ञानिकहरुले पहिलोपटक एचआइभी एड्स पत्ता लागाएका थिए । ४ दशक पूरा भइसक्दा पनि विश्वकै डरलाग्दो रोगमध्येको एक मानिने एचआइभीको खोप, औषधि वा उपचार विधि पत्ता लगाउन सकिएको छैन । एचआइभीको प्रभाव कम गर्ने वा असर न्यूनीकरण गर्ने औषधिहरु उपलब्ध भएतापनि पूर्ण रुपमा उन्मूलन गर्ने पद्धति अहिलेसम्म आविष्कार भएको छैन । यता संक्रमितको सङ्ख्यामा भने दिनानुदिन वृद्धि भइरहेको छ ।

त्यसो त पोलियो, दादुरा, कुष्ठरोग, हेपाटाइटिस आदिजस्ता रोगहरु पनि कुनै समयमा महामारीका रुपमा फैलिएका थिए तर, तिनका औषधि तथा खोपहरु चाँडै बनाइएकाले अहिले तिनको उपचार सम्भव छ ।

एचआइभीविरुद्धको खोप बनाउनलाई विश्वभरिकै वैज्ञानिक, अनुसन्धानकर्ता तथा स्वास्थ्य क्षेत्रका विद्वानहरु वर्षौंदेखि लागिपरेका छन् । तर, सो काममा अहिलेसम्म सफलता हात परिसकेको छैन । खोपहरु नबनेका पनि होइनन् तर, परीक्षण प्रक्रिया पूरा गर्न अहिलेसम्म कुनै पनि खोप सक्षम भएका छैनन् ।

खोप निर्माणमा निजी निकायले किन चासो देखाएको छैन ?

फार्मासिउटिकल्स तथा बायोटेक कम्पनीहरुले यस्ता अनुसन्धान र आविष्कारहरु गरिरहेका हुन्छन् । सरकारी निर्देशनअनुसार मात्र नभएर यस्ता कम्पनीहरुले लगानी र फाइदाको दृष्टिकोणबाट व्यक्तिगत रुपमा अनुसन्धान गर्ने गर्छन् । तर, एचआइभी खोपको हकमा भने यो निकायले खासै चासो दिएको पाइँदैन । मूख्य कारणहरु हुन् : फाइदा उठाउने दृष्टिकोणले हेर्ने हो भने एचआइभी खोप निर्माणमा भयंकर लगानी गर्नु अत्यन्तै जोखमपूर्ण छ । लगानी बमोजिम फाइदा नहुने सम्भावना बढी देखिन्छ किनकी खोपको माग कति हो भन्ने कुराको टुङ्गो छैन ।

फेरि, निजी कम्पनीले आविष्कार गरेको खोपलाई सरकारी तहबाटै व्यापक खोप कार्यक्रममार्फत् प्रचार नगरिने हो भने व्यक्तिविशेषले आवश्यकता र पहुँचअनुसार गर्ने प्रयोगबाट आउने रकमले लगानी नै नउठ्ने सम्भावना पनि बढी हुन्छ ।

‘उपचार भन्दा रोकथाम जाति’ भनाइमै सीमित ?

‘उपचार भन्दा रोकथाम जाति’ भन्ने भनाइ वर्षौंदेखि चलिआएको भएतापनि जब जब स्वास्थ्यप्रति सजग रहने वेला आउँछ तब मान्छे प्रतिरोधात्मक उपाय अपनाउन भन्दा पनि संक्रमण भइसकेपछि उपचार गर्नमा बढी सक्रिय भएको देखिन्छ । व्यापारिक दृष्टिकोणबाट हेर्दा सङ्ख्याको हिसाबले एचआइभी संक्रमित भन्दा संक्रमित नभएकाहरु धेरै छन् जसकारण उपचारात्मक औषधि भन्दा प्रतिरोधात्मक औषधिको माग÷खपत बढी हुनुपर्ने हो तर, वास्तविकता यस्तो छैन ।

एचआइभी संक्रमित व्यक्तिहरु रोग निको पार्न जुनसुकै हदसम्म पनि जान सक्छन् अर्थात् परीक्षणरत औषधि वा खोपको साइड इफेक्ट हुने थाहा हुँदाहुँदै पनि उनीहरु आफूमा त्यो औषधि परीक्षण गर्न तयार हुन्छन् । केही शारीरिक अस्वस्थतालाई सहन तयार हुन्छन् । यता, प्रतिरोधात्मक औषधि वा खोपको परीक्षण आफूमा गर्न र त्यसका साइड इफेक्ट सहन सामान्य व्यक्ति तयार हुँदैन । र, रोगरहित व्यक्तिको स्वास्थ्यमा कुनै औषधिको परीक्षणले गर्दा समस्या आइप¥यो भने उत्पादक÷वितरकलाई कानूनी सजाय पनि हुनसक्छ ।

खोपको साइड इफेक्टको जिम्मा कसले लिने ?

कुनै पनि औषधि वा खोप आविष्कार गरेपछि त्यसलाई परीक्षणका विभिन्न चरणहरु पार गराइ बल्ल आधिकारिक रुपमा बजारमा बिक्री वितरणका लागि उपलब्ध गराइन्छ । परीक्षणका क्रममा उक्त औषधिले मानव शरीरसँग छुट्टै तरिकाले प्रतिक्रिया गर्न सक्छ र त्यसको नतिजास्वरुप मानिसमा स्वास्थ्य समस्या देखापर्नुका साथै कतिपय अवस्थामा ज्यान जाने जोखिम पनि हुनसक्छ । परीक्षणका क्रममा आइपर्ने यस्ता चुनौतीहरुको व्यवस्थापन र जिम्मेवारीका लागि मजबुत नीति नहुनुले पनि एचआइभी खोप निर्माणमा ढिलाइ भएको अनुमान फार्मासिउटिकल्स कम्पनीहरुको गुनासो छ ।

अमेरिकामा ‘नेसनल भ्याक्सिन इन्जुरी कम्पेनसेसन प्रोग्राम’नामक बालबालिका खोपको जोखिमविरुद्ध बीमा प्रणाली भएतापनि एचआइभी खोपसँग सम्बन्धित जोखिम निकै जटिल हुने भएकाले जबसम्म यस्ता जोखिमविरुद्ध प्रभावकारी नीति बन्दैन तबसम्म अमेरिकी बजारमा एचआइभी एड्सको खोप निर्माण नगर्ने निर्णय एड्सका लागि राष्ट्रिय रणनीति बनाउनका लागि बसेको आइओएमको पहिलो बैठकले गरेको थियो ।

एचआइभी भ्याक्सिन ट्रायल्स नेटवर्कका अनुसार एड्ससँग जोडिएका केही भ्रम र यथार्थः

एचआइभी भ्याक्सिनबाट एचआइभी संक्रमण हुन्छ

एचआइभी खोपको मानव परीक्षण गर्दा भाइरसबाट संक्रमित हुने जोखिम हुन्छ भन्ने कुरा सरासर गलत भएको बताउँछन् वैज्ञानिक । टाइफाइड, पोलियो जस्ता रोगका खोपहरुमा भने सोही भाइरसका कमजोर प्रजातिको उपस्थिति हुन्छ तर, एचआइभीको हकमा यस्तो नहुने वैज्ञानिकहरुको भनाइ छ । अहिलेसम्म विश्वभरिका हजारौं व्यक्तिहरुले स्वइच्छाले एचआइभी खोप परीक्षणमा सहभागिता जनाइसकेका छन् जसमा कसैलाई पनि एचआइभी संक्रमण भएको रेकर्ड छैन ।

पश्चिमा मुलुकले अविकसित तथा विकासशील मुलुकलाई एचआइभी खोप परीक्षणको निशाना बनाउँछ

सम्पन्न देशका वैज्ञानिकहरुले आफूले बनाएको औषधि वा खोप परीक्षण गर्न साना, गरिब देशहरुमा पठाउँछन् भन्ने कुरा ठूलो भ्रम भएको धारणा राख्छन् वैज्ञानिकहरु । कुनै पनि खोप सबै किसिमका भूगोल, जाति तथा उमेर समूहका मानिसहरुका निमित्त प्रभावकारी छ भनेर पुष्टि गर्न सबै प्रकारका व्यक्तिमा परीक्षण गर्न आवश्यक हुन्छ त्यसैले, विकसित, अविकसित जुनै देशमा आवश्यकता अनुसार परीक्षण कार्य अघि बढाइन्छ ।

‘एचआइभी खोपको अध्ययनमा सामेल हुन व्यक्ति एचआइभी पोजेटिभ हुनुपर्छ’

दुई किसिमका एचआइभी खोपहरुको अध्ययन भइरहेको छ जसमा एउटा होः एचआइभी प्रतिरोधात्मक खोप र अर्को एचआइभी उपचारात्मक खोप ।

प्रतिरोधात्मक खोपका निमित्त एचआइभीबाट संक्रमित नभएका व्यक्तिहरुमा परीक्षण गर्नुपर्ने हुन्छ । त्यसैले, सामान्य व्यक्तिले समेत एचआइभीको खोप आविष्कार गर्नमा योगदान पु¥याउन चाहन्छ भने उसमाथि परीक्षण गर्न सकिन्छ ।

‘प्रि एक्सपोजर प्रोफाइलेक्सिस नामक औषधिले एचआइभीको जोखिममा भएकालाई संक्रमण हुनबाट बचाउने भएकाले अब खोपको आवश्यकता छैन’

यूएस फुड एण्ड ड्रग एड्मिनिसट्रेसनले मान्यता प्रदान गरेको ट्रुभाडा पिल्सले एकजना भन्दा बढीसँग यौन सम्पर्क राख्ने, व्यवसायिक यौनकर्मी, एचआइभी संक्रमित पती÷पत्नी आदि जस्ता व्यक्तिहरुका लागि उपयोगी हुनसक्छ । तर, यस्ता पिल्सका अनेकौं साइड इफेक्ट हुने, सामान्य व्यक्तिको पहुँच भन्दा बाहिरको हुने, महंगो हुने भएकाले यो एचआइभीको दीर्घकालीन उपचार भने होइन ।

‘एचआइभी खोप जोखिमपूर्ण अवस्थामा नभएकाहरुका लागि आवश्यक छैन’

कुनै व्यक्ति आज एचआइभीको जोखिममा नहुनुको अर्थ ऊ सधै जोखिममुक्त नै भइरहन्छ भन्ने होइन । समयसँगै रोगको प्रकृति, संक्रमण जोखिम पनि बदलिन सक्छ । त्यसैले, जसरी दादुरा, बिसिजी जस्ता खोपहरु बच्चैमा लगाइन्छ त्यसैगरी एड्सको पनि प्रतिरोधात्मक खोप निर्माणमा जोड दिएर रोगबाट शुरुमै सुरक्षित रहनु उपयुक्त हुन्छ ।

एचआइभी एड्ससँग यसरी बच्न सकिन्छः

  • सुरक्षित यौन सम्पर्क
  • सुई तथा छाला छेड्ने औजार नयाँ मात्र प्रयोग गर्ने वा निर्मलीकरण गरेर प्रयोग गर्ने
  • एचआइभी संक्रमित महिलाले बच्चा नजन्माउने
  • यौनरोगको लक्षण देखापरेमा तुरुन्त उपचार गर्ने
  • अङ्ग प्रत्यारोपण गर्नुपरेमा सम्बन्धित व्यक्तिलाई संक्रमण भए नभएको कुरामा विशेष ध्यान पुर्या्उने
  • रगत दिँदा सो रगत संक्रमण भए नभएको पक्का गर्ने
तस्वीरः गुगलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?