काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानियहरूका लागि (आज) बुधबारदेखि साधारण सेयर आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । उक्त शेयर बाँडफाँड भए पश्चात दोश्रो चरणमा १५ लाख ३४ हजार ९१ कित्ता आइपिओ सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ ।
धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक २८ अनुमति दिएको थियो ।
उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्ताको लागि छिटोमा पौष १ गते सम्म आवेदन दिन सक्नेछन् । पूर्ण रुपमा आवेदन नपरेको अवस्थामा भने पौष १६ गतेसम्म आवेदन मिति लम्बाइने कम्पनीले जनाएको छ ।
काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. ३,४, ६ र ७ ९साविक थानकोट गा वि स का सम्पूर्ण वडा र साविक महादेवस्थान गा वि स को वडा नं ३,४,५,६,७ र ८ मात्र एवं मकावनपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० साविक चित्लाङ्ग गा वि स का सम्पूर्ण वडाहरू र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ मा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरूले मात्र यस आइपीओमा आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त साधारण शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया