त्रिविले घटायो परीक्षाको समय, विद्यार्थीले थाहा पाइराखौँ यी नियम

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब स्नातकोत्तर तहको अन्तिम परीक्षा दुई घण्टाको मात्र लिने भएको छ । यसअघि स्नातकोत्तर तहमा चार घण्टाको परीक्षा लिने अभ्यास भएतापनि कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै विश्वविद्यालयले समय घटाउने निर्णय गरेको हो ।

सङ्क्रमण कायम रहेसम्म परीक्षाको प्रावधान परिवर्तन गर्न सकिने भएकाले मङ्सिरमा हुने स्नातकोत्तरको परीक्षादेखि परीक्षावधिलाई २ घण्टामा सीमित गरिनेछ ।

त्यस्तै, स्नातक तहको परीक्षालाई पनि डेढ घण्टामा सीमित गरिने भएको छ । ३ घण्टा सञ्चालन गरिँदै आएको स्नातक तहको परीक्षालाई कोरोना सङ्क्रमण अवधिभरका लागि घटाइएको हो ।

(गोरखापत्र दैनिकमा यस विषयमा खबर छापिएको छ।)

यही मङ्सिर १६ गते सकिएको कक्षा १२ को वार्षिक परीक्षामा पनि समय घटाइएको थियो । उक्त, अभ्यास सफल भएकाले विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि पनि यो निर्णय गरेको जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यही मङ्सिर २८ गतेदेखि कोभिड–१९ को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ । कोभिड–१९ को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालेको हो । परीक्षा नियन्त्रण कार्यालय सहनियन्त्रक धनश्याम ठाकुरले पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको जानकारी दिए ।

उनका अनुसार यही मङ्सिर २८ गते विज्ञान तथा प्रविधि, शिक्षा र व्यवस्थापन सङ्कायको चौथो वर्षका परीक्षा हुँदैछन् । उनले पहिलो चरणको परीक्षा सकाएपछि स्नातकोत्तर तहको माघ र बाँकी स्नातक तहको अन्य वर्षको परीक्षा क्रमशः गरिने बताए । त्रिविले यसपटक विद्यार्थीलाई आफूलाई पायक पर्ने ठाउँबाट पनि परीक्षा दिनसक्ने व्यवस्था मिलाएको छ । उनका अनुसार कम विद्यार्थी भएका सेमेष्टर तहका परीक्षा भने भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?